आर्थिक शिथिलता भन्नाले उत्पादन, रोजगारी, उपभोग, लगानी आयआर्जनका विभिन्न गतिविधि विस्तार हुन नसकी सुस्त गति भएको अवस्थालाई लिन सकिन्छ । आर्थिक शिथिलता बढ्दै गएमा मन्दी आउन सक्छ । त्यसकारण समयमै अर्थतन्त्र सुधार गर्नु पर्छ । आर्थिक शिथिलताले अर्थतन्त्रमा सुस्तता ल्याउँछ भने आर्थिक मन्दीले आर्थिक गतिविधिमा व्यापक गिरावट ल्याउँछ । मन्दीको पूर्वरूपलाई नै आर्थिक शिथिलता भन्न सकिन्छ । आर्थिक शिथिलतामा आर्थिक क्रियाकलापका गति सुस्त र घट्दै गएका हुन्छन् भने आर्थिक मन्दीमा कुल गार्हस्थ उत्पादनको वृद्धिसमेत ऋणात्मक भएको हुन्छ । आर्थिक शिथिलतामा भन्दा मन्दीको अवस्थामा अर्थतन्त्र बढी खतरामा हुन्छ ।
नेपालको कुल आर्थिक संरचना ६६ खर्ब रुपियाँ मात्र छ । यो भनेको न्यून संरचना हो । अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको हुनाले गार्हस्थ उत्पादन कम भएको हो । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि रोजगारीको अवसर राम्रो हुनु पर्छ । रोजगारीको अभाव भएकोले ठुलो जनशक्ति विदेश पलायन भएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशमै रोजगारी सिर्जना हुनु पर्छ । देशभित्रको जनशक्ति विदेश पलायन भएपछि देशमा जनशक्तिको अभाव हुनु स्वाभाविक हो । अहिले देशभित्र आवश्यक जनशक्ति भारतलगायत अन्य देशबाट भित्रिने क्रम बढ्दै गएको छ । यस्तो अवस्थामा अर्थतन्त्रमा शिथिलता आउने नै हुन्छ ।
Read full story at source ( gorkhapatraonline.com )