आस्था, श्रद्धा, पवित्रता र प्रकृतिप्रतिको सम्मानको अनुपम प्रतीकका रूपमा मनाइने लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि नदी, तलाउ, पोखरी तथा जलाशयका घाटहरूमा व्रतालु र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति थियो। व्रतालुहरूले दूध, जल, फलफूल तथा परम्परागत प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गरेका छन्।
गत शनिबार पञ्चमी तिथिका दिन खरना विधि सम्पन्न गरेपछि सुरु भएको ३६ घण्टे कठोर निर्जला उपवास आज बिहान सूर्यलाई अर्घ्य दिएसँगै पूरा भएको हो। यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिएको थियो।
तराई मधेसमा सूर्योदय हुनासाथ व्रतालुहरूले सूर्यदेवलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरेका हुन्। सूर्य उपासनाको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको आराधनासँगै प्रकृति, जल, प्रकाश र जीवनप्रतिको कृतज्ञता प्रकट गरिन्छ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको सुरुवात चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गर्ने ‘नहाय-खाय’ विधिबाट हुन्छ। त्यसपछि पञ्चमीका दिन राति एक छाक मात्र अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिन्छ। षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। त्यसैगरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
छठका अवसरमा घाटहरूमा गुञ्जिने पारम्परिक छठ गीत, बाँसका सुप, नाङ्लो, माटाका भाँडाकुँडा तथा मौसमी फलफूलले मिथिलाको लोकजीवन र सांस्कृतिक वैभवलाई जीवन्त बनाएका थिए। विशेषगरी तराई मधेसको मौलिक लोकसंस्कृति, परम्परा र सामाजिक सद्भावसँग गहिरो सम्बन्ध राख्ने छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यसले प्रकृति संरक्षण, पारिवारिक एकता, सामूहिक सहभागिता, सामाजिक समानता र सांस्कृतिक पहिचानको सन्देशसमेत प्रवाह गर्दै आएको छ।
पर्व सम्पन्न गरेर घर फर्केपछि व्रतालुहरूले दीनदुःखी र आशामुखीहरूलाई अन्न तथा वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन्। त्यसपछि प्रसाद खाने र खुवाउने क्रम सुरु हुन्छ। यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार, केरा तथा अन्य फलफूल र माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइन्छ। मिथिलामा छठको प्रसाद खाने र खुवाउने क्रम महिनौँसम्म चलिरहन्छ। खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल परम्परा छ।
छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याधि नलाग्ने जनविश्वास छ। अन्धकारपछि उज्यालो र अस्तपछि उदयको सन्देश दिने यस पर्वले जीवनमा धैर्य, अनुशासन, समर्पण र आशाको महत्त्वसमेत स्मरण गराउँछ।
श्रद्धा, निष्ठा र लोकपरम्पराको अद्भुत संगम बनेको छठ पर्वले मिथिलाको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।
प्रकाशित: ३० कार्तिक २०८३ ०८:२१ सोमबार