वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे।
पर्सा — तराइ-मधेशको ठूलो पर्व छठको मुख्य दिन ‘सझिया घाट’ का अवसरमा वीरगन्जका विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन्।
वीरगन्जका घडिअर्वा पोखरी, मुर्ली, नगवा, रानीघाट, छपकैया, राधेमाई, स्विमिङ पुललगायतका छठ घाटहरूमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। घडिअर्वा पोखरीघाटमा मानव सागर उर्लिए जस्तो देखिन्थ्यो ।
शनिबार खरना विधि सम्पन्न गरी आइतबार दिनभर निर्जल तथा निराहार व्रत बसेका व्रतालुले साँझ बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूललगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्।
वीरगन्जस्थित मुर्ली छठघाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर: शंकर आचार्य/कान्तिपुर
छठघाटहरूलाई आकर्षक बत्ती तथा रङ्गीचङ्गी सजावटले झकिझकाउ बनाइएको थियो। व्रतालुहरू छठी माताका परम्परागत गीत गाउँदै सूर्यदेव र छठी माताको आराधनामा तल्लीन देखिन्थे। विशेष मनोकामना पूरा भएका तथा भाकल गरेका केही व्रतालुहरूले दण्ड प्रणाम विधिबाट समेत घाटसम्म पुगेर पूजा गरेका थिए।सूर्यास्तपछि व्रतालुहरू घर फर्केर परम्पराअनुसार कोशी पूजा गर्ने तयारीमा जुटेका छन्।
छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिने गरिएको तेजारथ टोलकी ब्रतालु मन्जु देवी बताउँछिन् । यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ।
भाकल पूरा भएपछि वीरगन्जमा दण्ड प्रणाम गरेर घरदेखि छठघाटसम्म जाँदै व्रतालु । तस्बिर: शंकर आचार्य/कान्तिपुर
छठ पर्वको अन्तिम दिन सोमबार बिहान ‘बिहनिया घाट’मा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गरी आफ्नो कठोर व्रत समापन गर्छन्। इतिहासकार बिजयकिशोर पाण्डे तराइमा कात्तिकी र चैती गरी वर्षमा २ पटक छठ पर्व मनाइन्छ । कात्तिकी छठलाई मुख्य मान्ने गरिएको उनले बताए ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।