चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।
काठमाडौं — नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहे पनि त्यसले नेपालमा असर नगर्ने उनको भनाइ छ ।
विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उनले बताए । उनकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।
उनले भने, ‘बङ्गालको खाडीमा जुन न्युन चापीय क्षेत्र छ, त्यो गहिरो न्युनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ । यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ । तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन । यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन ।’
उनले आइतबार मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको बताए । उनका अनुसार दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना छैन । गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । आइतबार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उनले जानकारी दिए । आगामी २ दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका ५ दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उनले बताए ।