हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो ।
देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ । यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन् । नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )