शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ ।
पर्सा — शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका व्रतालुहरूले शनिबार ‘खरना’ विधि गरेका छन् । ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा व्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खाएका छन् ।
व्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका सदस्य तथा इष्टमित्रलाई पनि खुवाएका छन् । कतिपयले छरछिमेकीलाई समेत रस्याउ रोटी खान निम्तो दिएका थिए । यो प्रसाद ग्रहण गर्ने व्रतालु तथा परिवारका अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गरेका थिए ।
शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि व्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर उनीहरूले व्रत समापन गर्नेछन् ।
आइतबार साँझ व्रतालु तथा परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठ घाट पुग्नेछन् । नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्याउने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् ।
छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौँसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् । यसमा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत सहभागी हुन्छन् । घाटमै बस्ने व्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन् ।
इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ पर्वमा व्रतालुलाई पूजाअर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन । ‘छठ मात्र यस्तो पर्व हो, जसमा व्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ उनले भने, ‘व्रतालु आफैँले पूजा गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यस व्रतबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।’
छठ पर्वका लागि व्रतालुका घरघरमा विशेष प्रसाद ठेकुवा पनि पकाइँदै छ । यसमा परिवारका महिला सदस्यले व्रतालुलाई सघाउने गर्छन् । प्रसाद पकाउँदा चोखोनितो र शुद्धताको विशेष ख्याल गरिन्छ ।
छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट सिँगारिएका छन् । जिल्लाका ग्रामीण भेगमा पनि छठ घाट तयार पारिएका छन् । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले हरेक वर्ष राष्ट्रियस्तरमा चर्चा पाउने गरेको छ ।
वीरगन्जको घडिअर्वा पोखरी परिसरमा यस वर्ष छठ घाट व्यवस्थापनमा २६ लाख रुपैयाँभन्दा बढी खर्च हुने भएको छ । वीरगन्ज–१० स्थित घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी यस वर्षको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष राकेश साह कानुका अनुसार यस वर्ष घाट व्यवस्थापनमा २६ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । टेन्ट, पण्डाल, सजावट, बत्ती, साउन्ड, फूलमाला तथा कार्पेट व्यवस्थापनमा सबैभन्दा बढी १२ लाख ५१ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी पुरस्कार वितरण, अतिथि सत्कार, सरसफाइ, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, भिडियोग्राफी तथा अन्य व्यवस्थापनका शीर्षकमा पनि बजेट छुट्याइएको समितिले जनाएको छ । अनुमानित आय र खर्चको हिसाब गर्दा ८४ हजार ९ सय ६० रुपैयाँ बचत हुने समितिको प्रक्षेपण छ । समितिका अध्यक्ष कानुका अनुसार व्यवस्थापन खर्च टिकट बिक्री, विज्ञापन, व्यक्तिगत सहयोग तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट जुटाइनेछ ।
घडिअर्वा स्पोर्ट्स क्लब वीरगन्जको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छठ पूजालाई यस वर्ष पनि भव्य र व्यवस्थित बनाउने तयारी गरिएको उनले बताए । उनका अनुसार आइतबार साँझको सझिया घाट र सोमबार बिहानको बिहनिया घाटमा गरी करिब १० लाख व्रतालु तथा भक्तजन सहभागी हुने अनुमान छ ।
घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजा वीरगन्जको प्रमुख धार्मिक तथा सांस्कृतिक आकर्षणका रूपमा स्थापित छ । यहाँको पूजामा सहभागी हुन पर्सा, बारा र आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालु आउने गर्छन् ।
वीरगन्ज कारागारमा यस वर्ष २० कैदीबन्दीले छठ पर्व मनाउँदै छन् । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । कारागारका निमित्त जेलर देवनाथ साहका अनुसार कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाइएको हो । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिएको उनले बताए ।
कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ मनाउन कुनै रोकटोक नगरिएको साहले जानकारी दिए । उनीहरूलाई छठ पर्व मनाउन सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराउँदैन ।
यसैबीच, रुङ्टा वेलफेयर सोसाइटीले छठ मनाउन लागेका कैदीबन्दीलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थाले उनीहरूलाई पिठो र सारी उपलब्ध गराएको हो । कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन् ।
छठ पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले पटका तथा विस्फोटकजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले शनिबार सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका अवसरमा आगलागी तथा मानवीय र भौतिक क्षति हुन सक्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रशासनले छठ पर्वका लागि चारबुँदे सार्वजनिक अपिल जारी गरेको हो । अपिलमा पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न भनिएको छ । त्यस्ता गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा अन्य सर्वसाधारण डुब्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित दुर्घटना तथा विपद्को तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने पनि अपिलमा उल्लेख छ ।
त्यसैगरी छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न शनिबार र आइतबार छठ पूजा स्थल तथा घाट वरिपरि माछा, मासुलगायत खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ ।
पर्व अवधिभर शान्ति सुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिहरूबीच आवश्यक समन्वय गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।