Trending
Prev Story
Next Story

बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा

Ekantipur •
November 14, 2026 • 01:02 PM
3
3 reads 0 reactions

फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्‌मा अलग प्रयास गरेका छन् । यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् ।

बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा

फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्‌मा अलग प्रयास गरेका छन् । यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् ।

काठमाडौँ — जून ढाकिएको रात आकाशको सौन्दर्य बेग्लै हुन्छ। अँध्यारो चिर्दै ओर्लिएको जूनको उज्यालो यति रहरलाग्दो हुन्छ कि जो आँखाबाट ओझेल नपरोस्‌झैं लाग्छ।

सामीप्यराज तिमल्सेनाद्वारा लिखित र भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’का दृश्यहरू पनि जूनजस्तै रहरलाग्दा बनेका छन्। फिल्मका कुनै दृश्यले आँखालाई बिझाउँदैनन्, बरु न्यानो अनुभूति गराउँछन्। गाउँमा बिजुली मात्र होइन, शिक्षाको ज्योति पनि नबलिसकेको समयको कथा निर्देशक भनिरहेका छन्। गाउँलेहरू अँध्यारोमा लालटिनको उज्यालो बालेर पढ्न गइरहेका दृश्य फिल्म हेरेर फर्किँदासम्म पनि आँखामा बसिरहन्छन्। अभिनेता अनमोल केसीले डुंगामार्फत नदी तरिरहेको दृश्य स्मृतिमा निकै बेरसम्म तैरिरहन्छ।

‘बाटुलो जून’ सुन्दर आवरणको फिल्म हो। यो ४० को दशकको पिरियड रोमान्स हो। फिल्ममा कलर संयोजन र प्राकृतिक लाइटिङले दृश्यहरूलाई जीवन्त बनाएका छन्। त्यतिबेलाका माटोका घर, रोटेपिङ, ढिकीजस्ता आजका समयका लागि दुर्लभ दृश्यहरू हामी यो फिल्ममा देख्छौँ।

फिल्ममा सम्बन्धको कथा रङहरूमार्फत उनिएझैँ लाग्छ। मुख्य पात्र जून (प्रिन्सी खतिवडा) को पहिरनले उनलाई बिछट्टै सुहाएको मात्र छैन, पात्रलाई स्वाभाविक पनि बनाएको छ। गाउँले पहिरनमा देखिएकी प्रिन्सीको हाउभाउ (जेस्चर) पनि सुहाउँदिलो छ। काजी (अनमोल केसी) लाई सर्ट, पाइन्ट र इस्टकोटले सहरको परिवेशबाट गाउँ झरेको शिक्षकजस्तो देखाउँछ। प्रेमी देखिनका लागि सधैँ उही परम्परागत ‘लभर ब्वाइ’ छवि नै चाहिँदैन भन्ने उदाहरण अनमोलको चरित्रले प्रस्तुत गर्छ।

दृश्य मात्र होइन, संगीत पनि ‘बाटुलो जून’ लाई न्यानो बनाउने गरी प्रयोग भएको छ।

यो कथा फ्रेम स्टोरी शैलीमा बुनिएको छ। कथाका मुख्य पात्रले वर्तमानमा बसेर विगत फर्केर हेर्छन्। फिल्ममा विगतको कथाले ठूलो हिस्सा ओगट्छ। मुख्य पात्रहरूको भेट र सम्बन्ध बिस्तारको सुरुवात रोचक लाग्छ। गाउँलेहरू निरक्षर रहेको समस्या देखेपछि काजीले आफ्नो जीवनको ठूलो अवसरलाई त्यागिदिन्छ र गाउँ शिक्षित बनाउनतर्फ लाग्छ। मध्यान्तरसम्म कथामा ठूलो द्वन्द्व देखिन्न। यद्यपि काजी र जूनको उपस्थितिले फिल्म नदीजस्तै बगिरहेझैँ लाग्छ। तर मध्यान्तरपछि फिल्ममा आउने ट्वीस्टले कथाको लय परिवर्तन गर्छ।

मध्यान्तरसम्म फिल्मको प्रवाहमा जुन आनन्द आउँछ, त्यसपछि कथाले आफ्नो मौलिकपन गुमाउँदै जान्छ। अस्वाभाविक ट्वीस्ट र द्वन्द्वले फिल्म कमजोर बन्दै जान्छ। विगतको कथामा काजी र जूनको प्रेम सम्बन्ध स्थापित गर्नका लागि पर्याप्त समय दिइएको छैन। गीतहरूबाटै उनीहरू प्रेममा परे भन्ने कुरा महसुस गर्नुपर्छ। प्रेम अंकुरणका लागि आवश्यक सिक्वेन्सहरूको अभाव खट्किन्छ। त्यसकारण वर्तमानमा पाको भइसकेपछि ती पात्रहरू भेट हुँदा पनि उनीहरूलाई विगतको कथासँग गाँसेर हेर्दा गहिरो संवेदना महसुस हुन्न। विगत र वर्तमानको पुललाई बलियो गरी जोड्न नसक्नु लेखकीय र निर्देशकीय कमजोरी जस्तो लाग्छ।

विश्व बजारमा यो स्वादका अनेकन् फिल्म बनिसकेका छन्। वर्गीय खाडलले विगतको सम्बन्धलाई जोड्न नदिनु तर पछिसम्म ती पात्रहरू एकअर्काको प्रतीक्षा गरिरहनु कथाका लागि नौलो विषय होइन। त्यसकारण पनि यो फिल्म मध्यान्तरपछि हामीलाई नयाँ लाग्दैन।

प्रायः नेपाली फिल्ममा दोहोरिरहने समस्याबाट यो फिल्म पनि पर छैन। फिल्ममा खलपात्र (एन्टागोनिस्ट) को चरित्र चित्रण कमजोर छ। फलस्वरूप, यी पात्रले कथाको मुख्य घटनाक्रममा खासै ठूलो असर पार्न सकेका छैनन्। फिल्ममा निरक्षर गाउँलेहरूको लडाइँ सम्भ्रान्तहरूको प्रवृत्तिसँग भन्दा पनि व्यक्तिसँग देखाइएको छ, जुन दृश्य हेरिरहँदा पनि नयाँ अनुभूति हुन्न।

‘बाटुलो जून’मा मुख्य पात्रहरूको खास-खास समयमा हुने भेटमा संयोग हाबी हुन्छ। रोमान्टिक कथामा मुख्य पात्रको पहिलो भेटको संयोग रमाइलो मान्न सकिन्छ। तर त्यसपछिका संयोगहरूले कथाको स्वाभाविकतालाई कमजोर बनाउँछन्। धेरै खोजिएको पात्र अचानक कतै टुप्लुक्क भेटिनु दर्शकका निम्ति विश्वसनीय नहुन सक्छ।

फिल्ममा ४० को दशक देखाउन प्रप्सहरू त प्रयोग गरिएका छन्, तर त्यो समय अनुभूत गराउनका निम्ति मिहिनेत नपुगेको भान हुन्छ। जस्तो कि, त्यो समय बोल्ने राजनीतिक घटनाक्रम र सामाजिक परिवेशको फिल्ममा अभाव महसुस हुन्छ।

कथामा पात्रहरूको संवाद बेलाबेलामा स्वाभाविक लाग्दैनन्। त्यहाँ पात्र र परिस्थितिभन्दा लेखक हाबी भएझैँ लाग्छन्। मुख्य पात्र काजीको भूमिकामा देखिएका अनमोललाई आवरणमा जति सुहाएको छ, अभिनयमा अझै निखारिनुपर्ने देखिन्छ। अनमोलको संवाद प्रस्तुति र शारीरिक हाउभाउबीच अपेक्षित तारतम्य मिलेको देखिँदैन।

‘जून’ को भूमिकामा देखिएकी प्रिन्सी खतिवडाको जेस्चर र लवज गाउँको परिवेशसँग नजिक छ। उनको अभिनय स्वाभाविक लाग्छ। बेलाबेलामा बोल्ने प्रेमिल संवादहरू भने उनको पात्रलाई सुहाउँदिलो लाग्दैन। यद्यपि प्रिन्सीले सुरुवाती फिल्ममै आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेकी छैनन्, जुन प्रशंसनीय कुरा हो। काजीको साथीको भूमिकामा रहेका कलाकार रेयर राईको अभिनय पनि प्रशंसनीय छ। अनमोलकै पात्र काजीको पाको उमेरको भूमिका भुवन केसीले नै निर्वाह गरेका छन्। उनको अनुहार विगतको काजीसँग मिल्दोजुल्दो छ, तर आवाजमा आएको परिवर्तन भने स्वाभाविक नलाग्न सक्छ।

गरिमा पन्तको ‘बाटुलो जून’ कमब्याक फिल्म हो। आवरणमा जून चरित्रको निरन्तरता सुहाउँछ, तर बडी ल्यांग्वेज र संवाद बोल्ने शैलीमा भने विगत र वर्तमानका जून एकै पात्र हुन् भन्ने विश्वास गर्न अलि कठिन हुन्छ ।

फिल्ममा अन्य पात्रहरूको अभिनय पनि स्वभाविक लाग्छ । फिल्ममा सम्पादन हतारिएको छैन। कथावाचनको गति शान्त र धैर्यशील छ, जहाँ हरेक फ्रेम र सटलाई मनमा गहिरिएर बस्न दिइएको छ।

अन्त्यमा, फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्‌‌मा अलग प्रयास गरेका छन्। यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन्।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ। निर्माण पक्षको दाबी अनुसार फिल्मले पहिलो दिन १ करोड ३० लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको हो। योसँगै 'बाटुलो जून' ...

#फिल्म #जून #बाटुलो
Compare →
Nagarik News
1d ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#जून #बाटुलो
Compare →
Onlinekhabar
4d ago
रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता …

#फिल्म #दृश्य
Compare →

Related Stories

World News
Build #2612