राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने बताएका छन्।
छठ पर्वका अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्याउने पार्टीको उद्देश्य रहेको बताए।
‘यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो,’ लामिछानेले भने।
उनले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने उनको भनाइ थियो।
जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेर जान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। ‘हामी जे बोल्छौं, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौं,’ उनले भने।
जनताको हितका सवालमा आफ्नो पार्टीको वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने लामिछानेले बताए। यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा हेर्ने बताए।
सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुगेका हुन्।
प्रकाशित: २८ कार्तिक २०८३ १७:११ शनिबार