उनीहरूको साथबाट प्रहरीले ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरेको छ ।
काठमाडौँ — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तिरतिरेधारानजिक शनिबार बिहान शंकास्पद अटो रिक्सा जाँच गर्ने क्रममा एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
अवैध सामान ल्याउँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले अटो रिक्सा रोक्न खोजेको थियो । सो क्रममा अटोमा सवार व्यक्तिले प्रहरी टोलीमाथि फायर गर्न खोजेपछि हवाई फायर गरेर नियन्त्रणमा लिइएको जनाइएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको मनराशिस्वा नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङ र अटोचालक विश्वराज मोक्तान छन् ।
उनीहरूको साथबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरिएको छ । प्रहरीले अटो रिक्सा पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बलको नम्बर १४ गण हेटौंडामार्फत नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ ।