Trending
Prev Story
Next Story

केराका बोट, आम्दानीको स्रोत

Nagarik News •
November 09, 2026 • 02:19 AM
3
3 reads 0 reactions

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ। लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो। पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन्।

स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्‍याएका थिए। धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुगेका थालेका थिए।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले केराको बोट जनकपुरधाम बजारमा बिक्री गरेको बताए। उनका अनुसार प्रतिथाम रु २५० देखि रु ३०० सम्म बिक्री भएको छ। यसबाट किसानलाई राम्रो आम्दानी हुने गरेको उनले बताए।

लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थामको बिक्री भएको किसान बताउँछन्। जनकपुरधाममा शनिबार  र आइतबारमात्रै करिब आठदेखि नौ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए।

केराको झ्याङमा बोट धेरै गाँजिएपछि उत्पादन राम्रो लिन केही बोट हटाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुने गरेको छ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व पर्खने गरेको बताए।

उनका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्ने भए पनि दीपावलीमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ। उनले यस वर्ष एकै दिनमा रु १५ हजारभन्दा बढी मूल्यका केराका थाम बिक्री गरेको बताए।

मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ।

स्वागतद्वारका मूल खाँबाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो। सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थामका लागि एक साताअघिदेखि नै किसानले बैना लिन थालेका थिए। पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन्।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष रु ३५ हजार बराबरका केराका थाम बिक्री गरेको बताए। करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका उनका अनुसार राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन। त्यसैले अतिरिक्त बोट छाँट्नुपर्ने हुन्छ। दीपावलीका बेला त्यस्ता बोट बिक्री हुने भएकाले किसानले यस पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन्।

धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वर लगायतका बजारमा केराका थामको कारोबार भएको थियो। व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा अन्य उपभोक्ता थाम खरिद गर्न गाउँबस्ती पुग्न थालेपछि किसानलाई घरमै बिक्री गर्ने सुविधा मिलेको छ।

महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थामको बिक्रीले सहयोग पुगेको बताए। बजारसम्म थाम पुर्‍याउनुपर्ने झन्झट नभई व्यापारी घरमै आएर खरिद गर्दा पर्व मनाउन सहज भएको उनको भनाइ छ।

किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम रु ६०० सम्ममा बिक्री हुने गरेको छ। बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट ‘नयाँ कोथा’ बिक्री गरी रु १५ हजार आम्दानी गरेको बताए।

दीपावलीसँगै छठपर्वमा केराको घरी र कोथाको माग बढ्ने गरेको छ। छठ पर्वमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यसको बिक्री बढ्ने किसान बताउँछन्।

नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेको छ।

यसरी धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा योगदान हुँदै आएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०८:०४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2h ago
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

#किसान #पर्व
Compare →
Bizshala
1d ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2612