Trending
Prev Story
Next Story

नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

Onlinekhabar •
November 08, 2026 • 07:00 AM
3
3 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको जलवायु वित्तमा अनुदानभन्दा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । पेरिस सम्झौतापछि सन् २०१६ देखि २०२३ सम्म नेपालले करिब ३ अर्ब १९ करोड अमेरिकी …

नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

२२ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको जलवायु वित्तमा अनुदानभन्दा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ ।

पेरिस सम्झौतापछि सन् २०१६ देखि २०२३ सम्म नेपालले करिब ३ अर्ब १९ करोड अमेरिकी डलर जलवायु वित्त प्राप्त गरेकोमा ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान रहेको पाइएको हो ।

प्रकृति रिसोर्से सेन्टर (पीआरसी) ले सार्वजनिक गरेको ‘नेपालको जलवायु वित्त परिदृश्य : पेरिस सम्झौतापछिको अन्तर्राष्ट्रिय जलवायु वित्त प्रवाहको नक्सांकन (२०१६–२०२३)’ शीर्षकको अध्ययनअनुसार नेपालले उक्त अवधिमा २ अर्ब २ करोड डलर सहुलियतपूर्ण ऋण र ९६ करोड ९६ लाख डलर अनुदान प्राप्त गरेको छ । गैरसहुलियतपूर्ण ऋण र इक्विटीको हिस्सा भने न्यून छ ।

अध्ययनले नेपालको जलवायु वित्तमा बहुपक्षीय विकास बैंकको प्रभुत्व देखाएको छ । कुल वित्तको ६६.८३ प्रतिशत बहुपक्षीय विकास बैंकबाट प्राप्त भएको छ । द्विपक्षीय विकास साझेदारबाट २५.९६ प्रतिशत र हरित जलवायु कोष तथा विश्वव्यापी वातावरण सुविधालगायत समर्पित जलवायु कोषबाट ५.०४ प्रतिशत प्राप्त भएको छ ।

बहुपक्षीय विकास बैंकले मुख्यतः सहुलियतपूर्ण ऋण उपलब्ध गराएका छन् भने द्विपक्षीय विकास साझेदार र बहुपक्षीय जलवायु कोषले तुलनात्मक रूपमा बढी अनुदान दिएका छन् । अध्ययनले जलवायु वित्तको मूल्यांकन गर्दा प्राप्त रकमको आकारलाई मात्र आधार बनाउन नहुने निष्कर्ष निकालेको छ । ब्याजदर, भुक्तानी अवधि, ऋणको सहुलियत र अनुदानको अनुपातलाई पनि मूल्यांकन गर्नुपर्ने उसको सुझाव छ ।

अनुकूलनका काममा ऋणभन्दा अनुदान आवश्यक

जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि प्राप्त वित्तमध्ये अनुकूलनका क्षेत्रमा ५६.७९ प्रतिशत र न्यूनीकरणका क्षेत्रमा ४२.३६ प्रतिशत परिचालन भएको अध्ययनले देखाएको छ । तर अनुकूलनका लागि प्राप्त वित्तमा पनि सहुलियतपूर्ण ऋणको हिस्सा ठूलो छ ।

अध्ययनले बाढी नियन्त्रण, पारिस्थितिक प्रणाली पुनःस्थापना र पूर्वसूचना प्रणालीजस्ता अनुकूलनका काममा ऋणको उपयुक्ततामाथि प्रश्न उठाएको छ । यस्ता कार्यक्रमले समुदायको जलवायु उत्थानशीलता बढाए पनि ऋण तिर्न आवश्यक प्रत्यक्ष आर्थिक प्रतिफल दिँदैनन्। त्यसैले यस्ता क्षेत्रमा अनुदानमा आधारित वित्त आवश्यक हुने अध्ययनको निष्कर्ष छ ।

अनुकूलनका लागि प्राप्त वित्तमा पनि ठूलो उतारचढाव देखिएको छ । सन् २०२० मा ६१ करोड ५ लाख डलर प्राप्त भएकोमा सन् २०२१ मा घटेर ६ करोड ४४ लाख डलरमा सीमित भयो । सन् २०२३ मा १० करोड ५० लाख डलर प्राप्त भएको थियो। हानि तथा नोक्सानी सम्बोधनका लागि भने छुट्टै वित्तीय विनियोजन नभएको अध्ययनले जनाएको छ ।

पर्यटन र सम्पदा क्षेत्रमा जलवायु वित्त शून्य

क्षेत्रगत रूपमा सबैभन्दा बढी जलवायु वित्त ऊर्जा तथा जलस्रोत क्षेत्रमा परिचालन भएको छ । यस क्षेत्रमा ९८ करोड २९ लाख डलर प्राप्त भएको छ ।

त्यस्तै, उद्योग, यातायात तथा भौतिक पूर्वाधारमा ५७ करोड ४९ लाख डलर र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ५१ करोड ९६ लाख डलर परिचालन भएको छ ।

कृषि तथा खाद्य सुरक्षामा २६ करोड ५६ लाख डलर, स्वास्थ्य, खानेपानी तथा सरसफाइमा २१ करोड ७४ लाख डलर र वन, जैविक विविधता तथा जलाधार संरक्षणमा ३ करोड ६२ लाख डलर मात्रै प्राप्त भएको छ । जलवायुजन्य विपद्ले पर्यटन तथा प्राकृतिक र सांस्कृतिक सम्पदामा ठूलो क्षति पु¥याइरहेको भए पनि यी क्षेत्रमा जलवायु वित्त परिचालन भएको देखिँदैन ।

नेपालको जलवायु वित्तको आवश्यकता र उपलब्ध स्रोतबीच ठूलो अन्तर रहेको अध्ययनले देखाएको छ । सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनका लागि सन् २०३५ सम्म ७३ अर्ब ७४ करोड डलर आवश्यक पर्ने अनुमान गरेको छ । त्यसमध्ये ६२ अर्ब ९२ करोड डलरभन्दा बढी अन्तर्राष्ट्रिय सहयोगबाट जुटाउने अपेक्षा गरिएको छ । अनुकूलनका लागि मात्रै १८ देखि २० अर्ब डलर आवश्यक पर्ने अनुमान छ ।

अध्ययनले जलवायु कार्यका लागि अनुदानमा आधारित वित्तीय स्रोत परिचालन बढाउन, कम वित्त प्राप्त क्षेत्रलाई प्राथमिकता दिन र जलवायु वित्तको एकीकृत तथ्यांक प्रणाली विकास गर्न सुझाव दिएको छ ।

अध्ययनकर्ता यमकुमारी उचाईका अनुसार नेपालले प्राप्त गरेको जलवायु वित्तमध्ये ६७ प्रतिशत बहुपक्षीय विकास बैंक, २६ प्रतिशत द्विपक्षीय साझेदार, ५ प्रतिशत जलवायु कोष र बाँकी अन्य बहुपक्षीय संयन्त्रबाट आएको छ ।

उनका अनुसार अनुकूलनमा लगानी बढी देखिए पनि त्यसको ठूलो हिस्सा ऋणमा आधारित छ । ‘अनुकूलनका कामबाट प्रत्यक्ष आर्थिक प्रतिफल आउँदैन । त्यसैले यस्ता क्षेत्रमा ऋणभन्दा अनुदान आवश्यक छ,’ उचाईले भनिन् ।

उनले जलवायु वित्तको एकीकृत तथ्यांक प्रणाली नहुँदा कुन क्षेत्रमा कति रकम आवश्यक छ र कुन स्रोतबाट परिचालन भइरहेको छ भन्ने स्पष्ट हुन नसकेको बताइन् । उनका अनुसार न्यूनीकरण, अनुकूलन र हानि तथा नोक्सानीका लागि छुट्टाछुट्टै वित्तीय आवश्यकता पहिचान गर्न सक्ने प्रणाली आवश्यक छ ।

रिपोर्टले कृषि, जलस्रोत, स्वास्थ्य, वन, जैविक विविधता र पारिस्थितिक प्रणालीमा आधारित अनुकूलनका क्षेत्रमा अनुदान परिचालनलाई प्राथमिकता दिन सुझाव दिएको छ । सामान्य विकास सहायता र वास्तविक जलवायु वित्तबीच स्पष्ट भिन्नता छुट्याउन पनि जोड दिएको छ ।

सरकारले भने एनडीसी र राष्ट्रिय अनुकूलन योजना (न्याप) मा उल्लेख गरिएको रकम सबै अन्तर्राष्ट्रिय अनुदानबाट प्राप्त हुने अपेक्षा नगरेको स्पष्ट पारेको छ ।

कृषि तथा वन मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले यी दस्तावेजमा उल्लेखित रकम नेपालको आवश्यकता र विकासको दीर्घकालीन दृष्टिकोण भएको बताए ।

उनका अनुसार जलवायु वित्तको अभाव पूर्ति गर्न अन्तर्राष्ट्रिय सहयोगसँगै निजी क्षेत्रको लगानी र देशभित्रकै स्रोत परिचालन गर्नुपर्छ । ‘एनडीसी र न्यापमा रकम राख्नुको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आवश्यकता स्पष्ट पार्नु हो । उल्लेख गरिएको सबै रकम विदेशीले दिन्छन् भन्ने ग्यारेन्टी होइन,’ ढकालले भने ।

उनले जलवायु वित्तको परिभाषा स्पष्ट हुनुपर्ने पनि बताए । विकासका सबै लागतलाई जलवायु वित्त मान्ने प्रवृत्तिले वास्तविक वित्तीय अवस्था बुझ्न कठिन हुने उनको भनाइ छ ।

ढकालका अनुसार मानव जीवन, स्वास्थ्य, शिक्षा र समुदायको उत्थानशीलतासँग जोडिएका अनुकूलनका क्षेत्रमा अनुदान आवश्यक हुन्छ। तर जलविद्युत्, ठूला पूर्वाधार र उत्पादनशील क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा निजी लगानी परिचालन गर्न सकिन्छ ।

उनले वन संरक्षण, खाद्य सुरक्षा, प्रकृतिमा आधारित पर्यटन र संरक्षण क्षेत्रलाई पनि जलवायुमैत्री लगानीका सम्भावित क्षेत्रका रूपमा पहिचान गर्नुपर्ने बताए । ‘जलवायु न्यायलाई अनुदानको मागमा मात्रै सीमित गर्नु हुँदैन। विपद्बाट प्रभावित समुदाय र लगानी गर्ने निजी क्षेत्र दुवैको न्याय सुनिश्चित हुनुपर्छ,’ उनले भने ।

जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री अन्तर्राष्ट्रिय समुदायसमक्ष आवश्यक रकमको विवरण बुझाउँदैमा नेपालले वित्त प्राप्त नगर्ने बताउँछन् । उनका अनुसार कुन क्षेत्रमा कति रकम चाहिन्छ र कुन निकायबाट कसरी जुटाउने भन्ने स्पष्ट रणनीति आवश्यक छ ।

उनले पेरिस सम्झौतापछि नेपालले विकसित राष्ट्र, विशेषगरी आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) का सदस्य राष्ट्रबाट प्राप्त गरेको जलवायु वित्तको अवस्था पहिचान गर्न अध्ययन गरिएको बताए ।

नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा बुझाएको तेस्रो एनडीसी र न्याप कार्यान्वयनका लागि ठूलो रकम आवश्यक देखिए पनि त्यसको सबै हिस्सा अनुदानका रूपमा प्राप्त हुने निश्चित छैन । ‘दस्तावेज बुझाउँदैमा रकम आउँदैन । नेपालले कुन क्षेत्रमा, कुन कोषबाट र द्विपक्षीय वा बहुपक्षीय निकायबाट कति रकम ल्याउने भन्ने गृहकार्य गर्नुपर्छ,’ क्षेत्री भन्छन् ।

उनका अनुसार अध्ययनले कुन क्षेत्रमा बढी वा कम जलवायु वित्त आएको छ, ऋण र अनुदानमध्ये कुन वित्तीय औजार प्रयोग भएको छ र प्रमुख सहयोगी निकाय को हुन् भन्ने पहिचान गरेको छ । अब नेपालले आफ्नो प्राथमिकताअनुसार दातृ निकायसँग वित्त परिचालनको रणनीति बनाउनुपर्छ ।

उनले सरकारी निकाय र विकास साझेदारबीच समन्वय गरी कसले अनुकूलन, कसले न्यूनीकरण र कसले अनुदान वा सहुलियतपूर्ण ऋणमा लगानी गर्ने भन्ने स्पष्ट संयन्त्र बनाउनुपर्ने बताए ।

यसैबीच, भोटेकोशी बाढीको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि मात्रै करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । एउटा विपद्को पुनर्निर्माण लागत नै नेपालले आठ वर्षमा प्राप्त गरेको कुल अन्तर्राष्ट्रिय जलवायु वित्तभन्दा बढी देखिनुले जलवायु वित्तको आवश्यकता र उपलब्ध स्रोतबीचको ठूलो खाडल उजागर गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
जलवायु वित्त तीन गुणा बढाउन माग

जलवायु वित्त तीन गुणा बढाउन माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित राष्ट्रहरूका लागि जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्न तथा अनुदान र सहुलियतपूर्ण वित्तीय सहायता सुनिश्चित...

#जलवायु #वित्त
Compare →
Ekantipur
11h ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

#जलवायु #पेरिस #वित्त
Compare →
Bizshala
12h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु #रहे
Compare →
Nagarik News
1d ago
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह

जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।

#जलवायु #वित्त
Compare →
Arthasansar
17h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#रहे #वित्त
Compare →

Related Stories

Science & Climate
Build #2612