Trending
Prev Story
Next Story

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

Arthasansar •
November 08, 2026 • 04:04 AM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत गरेको छ। इरानका कट्टरपन्थी नेताहरूले निर्वाचन परिणामलाई ट्रम्पको इरान युद्ध नीतिप्रतिको अमेरिकी जनताको असन्तुष्टिका रूपमा व्याख्या गर्दै अब कुनै पनि सम्झौतामा इरानले थप सर्त राख्नुपर्ने धारणा अघि सारेका छन्।

अमेरिकामा निर्वाचनको मतगणना जारी रहँदा पश्चिम एसियाली मुलुकहरूले पनि त्यसलाई नजिकबाट नियालिरहेका थिए। विशेषगरी अमेरिकाको प्रतिद्वन्द्वी इरानले निर्वाचन परिणामलाई आफ्नो पक्षमा अनुकूल राजनीतिक घटनाक्रमका रूपमा लिएको छ। ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले समेत इरानसँग जारी युद्धका कारण आफ्नो पार्टीले निर्वाचनमा क्षति बेहोरेको स्वीकार गरेका छन्।

इरानको सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी प्रशासनको नेतृत्वमाथि व्यंग्य गर्दै ट्रम्प प्रशासनको राजनीतिक अवस्थामाथि प्रश्न उठाएका छन्। उनले उपराष्ट्रपति भान्सले हार स्वीकार गरेको, विदेशमन्त्री मार्को रुबियो पदबाट बाहिरिने अवस्थामा रहेको र रक्षामन्त्री पीट हेगसेथ हटाइने तयारीमा रहेको दाबी गरेका छन्।

‘तपाईंहरूले युद्ध र निर्वाचन दुवै हार्नुभयो। अब हामीले वासिङ्टनमा आफ्नो सन्देश कसलाई पुर्‍याउने?’ भन्दै उनले युद्ध सुरु गर्नेले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

इरानका कट्टरपन्थी नेताहरूले अमेरिकी निर्वाचन परिणामलाई युद्धमा इरानको रणनीति सफल भएको प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन्। उनीहरूको तर्कमा ट्रम्पले युद्धबाट अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको भन्दा घरेलु राजनीतिमा बढी क्षति बेहोरेका छन्। त्यसैले अमेरिकासँगको वार्तामा इरानले आफ्नो अडान कमजोर पार्नुको सट्टा थप दबाब सिर्जना गर्नुपर्ने उनीहरूको धारणा छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पनि कुनै प्रकारको आत्मसमर्पण वा सम्झौतामा झुकाव देखिने कदम नचाल्न चेतावनी दिएका छन्। बुधबार दिएको उनको अभिव्यक्तिलाई कट्टरपन्थी समूहहरूले वार्तामा संलग्न इरानी अधिकारीहरूका लागि स्पष्ट सन्देशका रूपमा लिएका छन्। उनले जारी युद्धले नयाँ विश्व व्यवस्थाको आधार तयार गरिरहेको दाबीसमेत गरेका छन्।

अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति ट्रम्पले युद्धले आफ्नो पार्टीको नतिजामा असर पारेको बताएका थिए। उपराष्ट्रपति जेडी भान्सले पनि सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै रिपब्लिकन पार्टीको पराजयको प्रमुख कारण युद्ध भएको उल्लेख गरेका छन्।

भान्सका अनुसार ट्रम्पलाई सन् २०२४ मा समर्थन गरेका कतिपय मतदाताले यसपटक डेमोक्रेटिक पार्टीलाई मतदान गरेका छन्। मतदाताको असन्तुष्टिका प्रमुख कारणमा युद्ध अन्त्य गर्नुपर्ने माग, महँगी नियन्त्रण, अमेरिकालाई प्राथमिकता दिने नीति र इजरायलसँगको सम्बन्धमा परिवर्तन गर्नुपर्ने विषय रहेका थिए।

इन्टरनेसनल क्राइसिस ग्रुपका हमिद्रेजा अजिजीका अनुसार तेहरानले अमेरिकी निर्वाचन परिणामलाई आफ्नो रणनीतिक दृष्टिकोणप्रतिको समर्थनका रूपमा बुझेको छ। यसले इरानलाई वार्तामा थप कडा सर्त राख्न प्रोत्साहित गर्न सक्ने उनको विश्लेषण छ।

उनका अनुसार ट्रम्पले घरेलु राजनीतिमा युद्धको क्षतिलाई कम देखाउन इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा केही उपलब्धि हासिल गर्नुपर्ने दबाब छ। अर्को विकल्प ठूलो सैन्य कारबाही गरेर बलियो अवस्थामा युद्ध अन्त्य गर्नु हुन सक्छ। तर अहिलेको अवस्थामा इरानसँग आफ्नो आणविक कार्यक्रमबारे कुनै छुट दिनुपर्ने पर्याप्त कारण नरहेको उनको भनाइ छ।

इरानले युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा सातवटा सर्त अघि सारेको छ। ती सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, अमेरिकी सेना फिर्ता, आर्थिक प्रतिबन्ध हटाउनेलगायतका विषय समावेश छन्। तर अमेरिकाले यी सर्त स्वीकार गर्ने वा नगर्ने विषयमा स्पष्टता छैन।

सेन्टर फर इन्टरनेसनल पोलिसीका सिना तुसीका अनुसार इरानले क्षेत्रीय सुरक्षामा अमेरिकी सैन्य शक्तिमाथिको निर्भरता कम गर्न छिमेकी मुलुकहरूलाई सहमत गराउन चाहेको छ। युद्धले इरानलाई ठूलो आर्थिक तथा सैन्य क्षति पुर्‍याए पनि आफ्नो हातमा रहेको रणनीतिक प्रभाव र दबाब दिने क्षमता गुमाउन इरान तयार नभएको उनको विश्लेषण छ।

यस युद्धमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित धेरै सैन्य कमान्डर र वैज्ञानिक मारिएका छन्। अमेरिकी समुद्री नाकाबन्दी र पुनः लगाइएका प्रतिबन्धले इरानी अर्थतन्त्रमा समेत दबाब बढाएको छ। यस्तो अवस्थामा इरानले दीर्घकालीन लाभ सुनिश्चित नगरी आफ्नो रणनीतिक प्रभाव छाड्न नचाहेको विश्लेषकहरूको भनाइ छ।

आठ महिनादेखि जारी युद्ध पछिल्लो समय केही सुस्त बने पनि यसको अन्त्यका लागि ठोस सहमति जुट्न सकेको छैन। इरान र अमेरिकाबीच कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता भइरहेको छ। इरानी वार्ताकारहरू तेहरान र दोहाबीच आवतजावत गरिरहेका छन्।

यसैबीच अमेरिकी सेनाले पछिल्लो एक सातामा इरानको केश्म टापुमा पटक–पटक आक्रमण गरेको छ। बिहीबार रातिसमेत आक्रमण भएको जनाइएको छ। तर दुवै पक्षले ती आक्रमणलाई ठूलो रूपमा प्रस्तुत गरेका छैनन्। यसलाई जारी वार्ता प्रभावित हुन नदिने प्रयासका रूपमा हेरिएको छ।

ट्रम्पले इरानमाथि थप आक्रमण गर्न नचाहेको तर आवश्यक परे बाँकी संरचनासमेत ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन्। अर्कोतर्फ कतारले शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्प र आफ्ना अमिरबीच युद्धको तनाव कम गर्ने विषयमा टेलिफोन वार्ता भएको जनाएको छ।

यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमान, पाकिस्तान, कुवेत, जोर्डन, टर्की, साइप्रस र कतारका समकक्षीसँग पनि छलफल गरेका थिए। मध्यावधि निर्वाचनपछि युद्ध पुनः चर्किने सम्भावना केही कम भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। यद्यपि, नयाँ सैन्य मुठभेडको सम्भावना पूर्ण रूपमा टरिनसकेको उनीहरूको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अम...

#इरान #ट्रम्प #अमेरिका
Compare →
Nagarik News
13h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
21h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#इरान #ट्रम्प
Compare →
Ekantipur
19m ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका #अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612