Trending
Prev Story
Next Story

बदलिए विजय, बदलिन पाएन विके

Ekantipur •
October 21, 2026 • 07:57 PM
2
2 reads 0 reactions

१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो ।

बदलिए विजय, बदलिन पाएन विके

१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो ।

काठमाडौँ — आजभन्दा १३ वर्षअगाडि अभिनेता विजय बरालका लागि सबैभन्दा ठूलो अवसरको रुपमा आएको थियो, फिल्म ‘कबड्डी’को विके चरित्र । अहिले थापागाउँमा उभिएको मण्डला थिएटरको खाँबो त्यतिबेला अनामनगरमा गाडिँदै थियो ।

३-४ हजार रुपैयाँ पारिश्रमिकमा फिल्महरूमा स-साना चरित्र निर्वाह गरिरहेका विजयलाई अचानक निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’को एउटा पात्र सुम्पिदिए । उनले ५० प्रतिशत आफैंलाई मिसाएर बनाएको त्यही पात्र हो- विके ।

विके आफू मात्र लोकप्रिय भएन, विजयको अभिनय करिअरमा नयाँ गोरेको नै कोरिदियो । विजय मात्र हैन, फिल्मका हरेक पात्रले दर्शकहरूको स्मृतिमा नमेटिने छाप छाडे । विकेले डोर्‍याएको बाटो हुँदै विजयले थुप्रै चरित्रमा आफूलाई रुपान्तरण गर्दै गए । ०८१ मा प्रदर्शन भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ विजयको अभिनय करिअरमा नयाँ उचाइ साबित भयो । पूर्णबहादुरको उचाइबाट आफूलाई फर्केर हेरेका विजयले सधैं भनिरहन्थे, ‘यो यात्रामा मेरो लागि विके सबैभन्दा विशेष थियो ।‘

त्यही विकेसँग १३ वर्षपछि ‘कबड्डी’को पाँचौं शृंखलामा उनी फेरि साक्षात्कार हुने भए । कुनै बेला सबैभन्दा ठूलो अवसर बनेको विके चरित्र अहिले पनि विजयको लागि उत्तिकै विशेष थियो त ? फिल्ममा वीरकाजी शेरचनको पछि लागिरहने विके मुख्य चरित्रको सहायक न थियो । तर विजयलाई त यतिबेला पूर्णबहादुरपछि मुख्य चरित्र बनेर फिल्म काँधमा बोकाउन निर्देशकहरू लालयित थिए । ‘विजयलाई विजय बनाउने विके मेरा लागि पूर्णबहादुर जत्तिकै महत्त्वपूर्ण छ,’ उनले वीरकाजी विश्वकर्माले दर्शकहरूको मनमा दर्ता गरिदिएको नामको क्रेडिट सम्झिँदै भने ।

यद्यपि, एउटा कलाकारमा बाँचिरहने सुषुप्त लोभ उनमा पलाएकोचाहिँ रहेछ । ‘हिजो ठूलो लागेको स्पेस अहिले सानो भयो कि, विकेको कथा अझै हुनुपर्थ्यो कि भन्ने हुँदो रहेछ,’ विजय भन्छन् ।

यसपटक मुस्ताङको गाउँ जाँदा स्थानीयले विजयलाई भने, ‘तिम्रो धेरै प्रगति भएको छ । ‘त्यहाँ पुगेपछि ‘कबड्डी ४’को छायांकनमा बिसाएर आएको विकेलाई ओल्टाइपल्टाइ हेरे । आफूभित्र समाहित गरे । उनलाई लाग्यो, ‘विजयको जीवनमा धेरै परिवतर्न आए तर विके अझै आशमै बाँचिहेको रहेछ ।‘

उतिबेला विके विजयको पोल्टामा पर्नुको कारणमधय्को एक थियो- चञ्चलपना । ‘म २३ वर्षको चञ्चले केटा थिएँ । दाइहरूलाई सम्मान गर्थेँ । मण्डला बनाउन लागि परेको थिएँ,’ विजय सम्झन्छन्, ‘म त्यहीबेला दयाहाङ दाइ र रामबाबु दाइको आँखामा पर्न थालेँ ।‘

‘कबड्डी’को सुटिङमा जाने भएपछि विजयका मन मुस्ताङतिर उड्न थाल्यो । रमाउँदै सोचे, ‘अब ३० दिन खानाको पैसा जोगिने भयो । ‘फिल्मका प्रोड्युसरले पारिश्रमिक सोधे । विजय भने, ‘त्यो नभए पनि हुन्छ ।‘ दयाहाङसँग स्क्रिन सेयर गर्न पाउने कुराले दंग विजयलाई पैसाको मोह थिएन । बरु मनमनै भनिरहे, ‘अब आगो ओकल्नुपर्छ । ‘पारिश्रमिक नलिने भनिएको फिल्मबाट नै विजयले एक लाख कमाए । ‘कबड्ड’पछि उनी एक वर्षका लागि अभिनय पढ्न भारत गए । फर्किएर नयाँ फिल्ममा काम गर्न थाले ।

विके असाध्यै इमान्दार र हाँसिरहने पात्र थियो । उसको लवजलाई त मान्छेहरूले थेगोकै रुपमा प्रयोग गर्थे । विजयले सोचेका थिएनन्, ‘विके’ बनेर फेरि अर्को पटक पनि सेटमा बाँच्नुपर्छ भनेर । तर लेखक निर्देशक रामबाबु गुरुङले फेरि वीरकाजी शेरचनसँगै विके र छन्त्यालको भाग्य कोरिदिए । बाहिरबाट अभिनय पढेर आएपछि विजयमा आएको परिपक्वता उनी चरित्रमा प्रयोग गर्न चाहन्थे । ‘कबड्डी २ मा ‍विजयको ग्रो हुँदै थियो । अब त अभिनयमा गहिरो खोज हुनुपर्छ । त्यही भएर विकेको चञ्चलपन हरायो,’ विजय चरित्रको गहिराइमा पुग्दाको प्रक्रियाबारे भन्छन् ।

उनले विकेलाई पहिलोमा भन्दा दोस्रोमा धेरै बुझेका थिए । ‘कबड्डी’ शृंखला तीन र चारसम्म पुग्दा त दर्शकहरूलाई फिल्मका पात्रहरू वास्तविकझैं लाग्न थालिसकेका थिए । विकेको आँखा समाज चिहाउँदा यो शृंखलासँगै समाजमा आएको परिवर्तन पनि भेट्न सकिन्थ्यो । ‘पहिलो यात्राको कबड्डीमा समुदायले गर्ने विभेद  छताछुल्ल थियो । त्यो मापदण्ड तोड्दै तोड्दै पाँचसम्म आइपुग्दा विकेले समाजमा विभेद हराउँदै गएको महसुस गरेको छ,’ विजय भन्छन् ।

यसपटक विजयलाई विकेको औधी माया लाग्यो । ‘किनकि समाज परिवर्तन भए पनि विके कुवाभित्रको भ्यागुतो नै रहेछ । कसैको नराम्रो नसोच्ने तर अपेक्षामा बाँचिरहने,’ विजय थप्छन् ।

नेपाली फिल्ममा दयाहाङ राईले फड्को मारिरहँदा विजयले पनि ‘पूर्णबहादुरको सारङ्गी’बाट नयाँ इतिहास रचे । कबड्डीको शृंखलामा विके र वीरकाजीको सम्बन्धझैं वास्तविक जीवनमा पनि दयाहाङ र विजयको सम्बन्ध उस्तै प्रगाढ छ । १८ वर्षदेखि उनीहरू सँगसँगै छन् ।

विजय भन्छन्, ‘कबड्डीको सम्बन्धले पनि हाम्रो सम्बन्ध बलियो भएको हो ।‘ ‘कबड्डी’मा विके, वीरकाजीसँगै छन्त्याल पनि छन् । यी तीनै पात्र फिल्मभित्र पनि सँगै र बाहिर पनि सँगै छन् । ‘मैले खेलेको ५० प्रतिशतभन्दा बढी फिल्म दया दाइसँग छ । बुद्धि तामाङ दाइ पनि त्यसैमा सम्मिलित हुनुहुन्छ,’ विजय भन्छन् ।

फिल्म ‘कबड्डी ५’ यही कात्तिक ६ गतेबाट रिलिज हुँदैछ । वीरकाजीको बिहे गराउने अघोषित जिम्मा लिएका विके र छन्त्याल यसपटक कति सफल हुन्छन् ? उनीहरूको जीवन कति सफल छ ? वीरकाजीकै बिहेबारे सोच्ने विकेको आफ्नै बिहे चाहिँ के होला ?  ‘यी सबैको जवाफका लागि अब हलमै जानुपर्छ,’ विजय ठट्यौली सुनिन्छन् ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612