Trending
Prev Story
Next Story

अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली

Ekantipur •
November 01, 2026 • 06:31 AM
3
3 reads 0 reactions

हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली

हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अमेरिका — अमेरिकाको राज्य विधानसभा (हाउस अफ डेलिगेट्स) र राज्य प्रतिनिधिसभा (स्टेट रिप्रेजेन्टेटिभ) सदस्य बन्न नेपाली मूलका चार जना चुनावी मैदानमा छन् ।

मध्यावधि निर्वाचनसँगै नोभेम्बर ३ मा हुने हाउस अफ डेलिगेट्स र स्टेट रिप्रेजेन्टेटिभ्सका लागि छुट्टाछुट्टै राज्यका निर्वाचन क्षेत्रबाट नेपाली मूलका चारजना प्रतिस्पर्धामा उत्रिएका हुन् । हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्क राज्यको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

भण्डारी र चापागाईं दुवै डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका हुन् । भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ‘८’ र चापागाईं ‘७ ए’ को हाउस अफ डेलिगेट्समा प्रतिस्पर्धा गर्न गत जुन २३ मा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनबाट चुनिएका थिए ।

अमेरिकाको चुनावी कार्यक्रमअनुसार अक्टोबर २२ देखि २९ सम्म अर्ली भोटिङ भएको थियो ।

तेस्रो पटक हाउस अफ डेलिगेट्स बन्ने दौडमा होमिएका भण्डारीले आफू सांसद हुँदा वा नहुँदा सदैव नेपाली समुदायका समस्यालाई प्राथमिकतामा राखेको बताएका छन् । उनी पहिलो पटक २०१८ र दोस्रो पटक २०२२ मा मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ‘८’ बाटै हाउस अफ डेलिगेट्समा निर्वाचित भएका थिए । उनी अमेरिकाको संसदीय जनप्रतिनिधि बन्ने पहिलो नेपाली हुन् ।

उनले आफू हाउस अफ डेलिगेट्समा रहँदा आर्थिक समस्यामा परेका, स्वास्थ्य उपचारका क्रममा तनाव भोगिरहेका र उच्च शिक्षाका लागि संघर्ष गरिरहेका जोकोहीलाई सहज हुने नीति ल्याउन अघि बढिरहेको दाबी गरे । ‘मैले नेपाली संस्कृतिलाई अमेरिकामा अघि बढाउन हरेक वर्ष अक्टोबरको तेस्रो साता ‘दसैं डे’ मनाउन संसदीय दस्ताबेजमै अघि बढाउन भूमिका निर्वाह गरेँ,’ उनले भने, ‘जुन भूमिकाले मूर्तरूप पायो । त्यो पनि मेरो कार्यकालको एक महत्त्वपूर्ण काम हो ।’

पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरु गरेका सतीश चापागाईं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् । उनी हाल पनि अमेरिकाका सञ्चारमाध्यममा आबद्ध छन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकारसमेत हुन् । उनी चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रूपमा आबद्ध छन् । उनी डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन् । डेमोक्रेटिकको प्राइमरी इलेक्सन जितेपछि सतीशले हाउस अफ डेलिगेट्सका लागि चुनावी मैदानमा होमिएको र आफू जितको नजिक रहेको दाबी गरेका छन् ।

कान्तिपुरसँग कुरा गर्दै चापागाईंले नेपाली मूलका अमेरिकी जनताको आवाज बनेर आफू राजनीतिमा होमिएकाले अमेरिकाभरका नेपालीको साथ, सहयोग र समर्थन आफूमाथि रहेको बताए । ‘म स्वच्छ र निष्पक्ष राजनीतिमा सक्रिय छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पटक मेरो एजेन्डालाई अनुमोदन गर्न मतदाताले मलाई हाउस अफ डेलिगेट्समा विजयी गराउनेछन् ।’ उनले सबैको साथका लागि नेपाली आबद्ध संस्थाहरूलाई आग्रहसमेत गरेका छन् । आफू स्टेट डेलिगेटमा निर्वाचित भए नेपालीका मुद्दालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन् ।

मेरिल्यान्ड राज्यमा दुई जना हाउस अफ डेलिगेट्सका लागि उम्मेदवार बनेसँगै न्यु ह्याम्पसायर राज्यको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ‘४१’ बाट विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका छन् ।

अमेरिकाको राज्य व्यवस्थापिका संसदमा विधानसभा र प्रतिनिधिसभा छुट्टाछुट्टै गठन गरिएका हुन्छन् । विधानसभामा निर्वाचित हुने सदस्यलाई हाउस अफ डेलिगेट्स र राज्य प्रतिनिधिसभामा निर्वाचित हुने सदस्यलाई स्टेट रिप्रेजेन्टेटिभ्स भनिन्छ ।

उनी पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका हुन् । शाहले आफ्नो चुनावी अभियानमा जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् । ‘म मेहनती परिवारले न्याय र समुन्नत हुने वास्तविक अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ चुनाव लड्दै छु,’ शाहले चुनावी अभियानका क्रममा सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै स्वास्थ्य सेवा र बाल हेरचाहलाई थप सुलभ बनाउने, सार्वजनिक विद्यालयका लागि पर्याप्त वित्तीय सहयोग सुनिश्चित गर्ने तथा कामकाजी परिवारलाई कर राहत उपलब्ध गराउने नीतिमा आफू प्रतिबद्ध रहेको बताएका छन् । ज्येष्ठ नागरिकले सम्मानजनक ढंगले अवकाश जीवन बिताउन आवश्यक सहयोग पाउनुपर्नेमा उनले जोड दिएका छन् । यसअघि न्यु ह्याम्पसायरबाट स्टेट रिप्रेजेन्टेटिभ्समा भुटानी समुदायका सुरज बुढाथोकी थिए । उनी यस पटक चुनावी मैदानमा छैनन् ।

सराहना श्रेष्ठ दोस्रो कार्यकालका डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

उनले यसअघि २०२२ मा न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाटै चुनाव जितेकी थिइन् । सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका आएकी उनी अमेरिकाको विधानसभा सदस्य बन्ने पहिलो नेपाली महिला हुन् । उनले सस्तो आवास, जलवायु नीति, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, कामदार सुरक्षा र बाल हेरचाहका मुद्दा उठाउँदै आएकी छन् ।

उनले महिलाका समस्या, नेपाली समुदायको विकास र सहजीकरणका लागि यसअघि पनि भूमिका निर्वाह गर्दै आएको दाबी गरेकी छन् । ‘मैले विशेषगरी जलवायु परिवर्तन, नेपालीका समस्या र विश्वमा वातावरणसँगै मौसममा देखिएको अनपेक्षित परिवर्तनलाई समेत विधानसभामा उठान गर्दै आएको छु,’ उनले चुनावी अभियानका क्रममा भनेकी छन्, ‘हाम्रो अभियानलाई एकातर्फ अघि बढाउँदै नेपाली समुदायका विषयलाई थप उचाइमा पुर्‍याउन म लागिपर्नेछु ।’

करिब ३३ करोड जनसंख्या भएको अमेरिकामा २१ करोड मतदाता छन् । सन् २०२४ सम्मको तथ्यांकअनुसार अमेरिकामा १ लाख नेपाली मतदान गर्न योग्य छन् ।

हाल आठ जना नेपाली मूलका जनप्रतिनिधि अमेरिकाको स्थानीय तहमा छन् । टीका पौडेल टेक्सस राज्यको युलेस सहरका उपमेयर छन् । किरण सिटौला मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडमा उपमेयर हुन् । स्थानीय तहको सदस्य (सिटी काउन्सिल मेम्बर) मा डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल र मधु पन्थी छन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

#राज्य #सांसद
Compare →
Bizshala
1h ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#अमेरिका
Compare →
Onlinekhabar
3h ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#अमेरिका
Compare →
Hamro Patro News
4h ago
अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो। अमेरिकी अधिकारीहरूका...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612