Trending
Prev Story
Next Story

घरबाटै कमाइ : यी हुन सक्छन् १० व्यवसाय

Ekantipur •
October 22, 2026 • 08:13 AM
3
3 reads 0 reactions

आर्थिक स्वतन्त्रता केवल आम्दानीको विषय होइन, आत्मविश्वास, निर्णय क्षमता र सम्मानसँग पनि जोडिएको हुन्छ । घरको जिम्मेवारीसँगै आफ्नै पहिचान बनाउन चाहनेका लागि घरबाटै सानोतिनो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

घरबाटै कमाइ : यी हुन सक्छन् १० व्यवसाय

आर्थिक स्वतन्त्रता केवल आम्दानीको विषय होइन, आत्मविश्वास, निर्णय क्षमता र सम्मानसँग पनि जोडिएको हुन्छ । घरको जिम्मेवारीसँगै आफ्नै पहिचान बनाउन चाहनेका लागि घरबाटै सानोतिनो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

काठमाडौँ — एक समय थियो, जब महिलाको आर्थिक भूमिका घरको चार पर्खालभित्र सीमित मानिन्थ्यो । तर समय बदलिएको छ । अहिले घर सम्हाली आफ्नै व्यवसाय सञ्चालन गर्ने महिलाको संख्या बढ्दै गएको छ । सामाजिक सञ्जाल, अनलाइन बजार र डिजिटल भुक्तानी प्रणालीको विस्तारले कम लगानीमै व्यवसाय सुरु गर्ने अवसर पनि बढाएको छ ।

आर्थिक स्वतन्त्रता केवल आम्दानीको विषय होइन, आत्मविश्वास, निर्णय क्षमता र सम्मानसँग पनि जोडिएको हुन्छ । घरको जिम्मेवारीसँगै आफ्नै पहिचान बनाउन चाहने महिलाका लागि घरबाटै सञ्चालन गर्न सकिने यी १० व्यवसाय राम्रो विकल्प बन्न सक्छन् ।

पछिल्ला केही वर्षयता नेपाली उपभोक्ताको रोजाइ फेरिँदै गएको छ । बजारमा पाइने प्रशोधित खाद्यवस्तुभन्दा घरमै तयार गरिएका ताजा, स्वस्थ र परम्परागत स्वाद भएका परिकारप्रति आकर्षण बढेको छ । घरमा नियमित रूपमा बनाइने परिकारलाई व्यवस्थित रूपमा उत्पादन, प्याकिङ र बिक्री गर्न सके सानो लगानीबाटै राम्रो आम्दानी गर्न सकिन्छ । गुणस्तरीय सामग्री र सामाजिक सञ्जालको प्रयोगले यो व्यवसायलाई अझ विस्तार गर्न सकिन्छ ।

नेपालमा अचारबिना खाना अधूरो मानिन्छ । अचार व्यवसाय सुरु गर्न धेरै लगानी आवश्यक पर्दैन । गुणस्तरीय कच्चापदार्थ, सरसफाइ र आकर्षक प्याकेजिङमा ध्यान दिन सके ग्राहकको विश्वास जित्न सकिन्छ । अहिले धेरै महिलाले फेसबुक र टिकटकमार्फत अर्डर लिएर देशभर डेलिभरी गरिरहेका छन् । परम्परागत नेपाली परिकार गुन्द्रुक र सिन्कीको माग नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीमाझ पनि बढ्दो छ । आधुनिक प्रविधिबाट सफा र गुणस्तरीय रूपमा उत्पादन गरी एयरटाइट प्याकिङमा बिक्री गर्न सके राम्रो बजार बनाउन सकिन्छ ।

चाडपर्व, विवाह, व्रतबन्धदेखि विभिन्न पारिवारिक कार्यक्रममा सेलरोटीको माग सधैं रहन्छ । अहिले धेरै ग्राहकले घरमै बनाइएको स्वादिलो सेलरोटी अर्डर गरेर किन्ने गरेका छन् । यदि सेलरोटीसँगै फिनी, अनरसा, खजुरी, थेकुवा वा अन्य परम्परागत परिकार पनि उपलब्ध गराउन सकियो भने व्यवसाय अझ विस्तार हुन सक्छ । धनियाँ, जिरा, बेसार, खुर्सानी, गरम मसला, ज्वानो, मेथी आदि घरमै पिसेर ब्रान्ड बनाएर बिक्री गर्न सकिन्छ ।

आजकल धेरै उपभोक्ता शुद्ध र मिसावटमुक्त मसला खोजिरहेका छन् । त्यसैले गुणस्तर कायम गर्न सके यो व्यवसाय दीर्घकालीन बन्न सक्छ । सानो प्याकेटदेखि ठूलो प्याकसम्म बिक्री गर्न सकिन्छ । जन्मदिन, वार्षिकोत्सव, बेबी सावर र विभिन्न कार्यक्रममा केकको माग वर्षभरि रहन्छ । साथै, घरमै बनाइएका कुकिज, कपकेक, ब्राउनी, ब्रेड र अन्य बेकरी उत्पादन पनि लोकप्रिय बन्दै गएका छन् ।

यदि बेकिङको सीप छ भने घरमै सानो ओभनबाट व्यवसाय सुरु गर्न सकिन्छ । ग्राहकको चाहनाअनुसार डिजाइन गरिएको केक वा स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएका होममेड उत्पादनले बजारमा छुट्टै पहिचान बनाउन सक्छन् ।

डिजिटल प्रविधिको विकाससँगै अनलाइन कपडा व्यवसाय महिलामाझ सबैभन्दा लोकप्रिय व्यवसायमध्ये एक बनेको छ । अहिले फेसबुक, टिकटक, इन्स्टाग्राम र ह्वाट्सएपमार्फत साडी, कुर्ता, नाइटवेयर, बच्चाका लुगा, जुत्ता, ब्याग तथा फेसन सामग्री बिक्री गर्ने महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ ।

यो व्यवसाय सुरु गर्न ठूलो पसल वा कार्यालय आवश्यक पर्दैन । सुरुवाती चरणमा थोरै लगानी गरेर होलसेल बजारबाट सामान ल्याउन सकिन्छ वा बिनास्टक (ड्रपसिपिङ वा प्रि-अर्डर) मोडलबाट पनि काम गर्न सकिन्छ । राम्रो फोटो, भिडियो र ग्राहकसँगको विश्वास नै यो व्यवसायको मुख्य आधार हो ।

ग्राहकको प्रतिक्रिया, समयमै डेलिभरी र गुणस्तरीय उत्पादनले सानो अनलाइन पेजलाई पनि सफल ब्रान्ड बनाउन सक्छ । विशेषगरी चाडपर्व, विवाहको मौसम र नयाँ फेसन सार्वजनिक हुँदा बिक्री अझ बढी हुन्छ ।

सिलाइ–बुनाइ महिलाका लागि परम्परागत सीप भए पनि आज यो राम्रो आम्दानीको स्रोत बनेको छ । ब्लाउज, कुर्ता, स्कुल ड्रेस, बच्चाका कपडा, स्वेटर, टोपी, मफलर तथा क्रोसेबाट बनेका ब्याग, डल, सजावटी सामग्री र बेबी सेटको बजार निरन्तर विस्तार भइरहेको छ । यदि सिलाइ वा क्रोसेको सीप छ भने घरमै एउटा सिलाइ मेसिन वा केही बुनाइका सामग्रीबाट व्यवसाय सुरु गर्न सकिन्छ । अर्डरअनुसार डिजाइन तयार गर्ने सुविधा दिँदा ग्राहकको विश्वास बढ्छ ।

विशेषगरी हस्तनिर्मित उत्पादनको मूल्य बढी हुने भएकाले गुणस्तरमा ध्यान दिन सके राम्रो आम्दानी गर्न सकिन्छ । सामाजिक सञ्जालमार्फत आफ्ना उत्पादनको प्रचार गर्दा देशभर तथा विदेशसम्म पनि ग्राहक बनाउन सकिन्छ ।

सौन्दर्य सेवा अहिले महिलाका लागि कम लगानीमा सुरु गर्न सकिने आकर्षक व्यवसाय हो । घरमै ब्युटिपार्लर, मेहन्दी, मेकअप, फेसियल, हेयर स्टाइलिङ, आइब्रो थ्रेडिङ वा नेल आर्ट सेवा सञ्चालन गर्न सकिन्छ ।

विशेषगरी तीज, तिहार, विवाह, व्रतबन्ध र अन्य चाडपर्वमा यस्ता सेवाको माग बढी हुन्छ । तालिम लिएर व्यावसायिक रूपमा सेवा दिन सके स्थायी ग्राहक बनाउन सकिन्छ ।

घरमै सेवा दिने सुविधा उपलब्ध गराउँदा ग्राहकको संख्या अझ बढ्न सक्छ । राम्रो व्यवहार, सरसफाइ र गुणस्तरीय सेवा यो व्यवसायका सफलताका आधार हुन् ।

सिर्जनशील महिलाका लागि हस्तकला उत्कृष्ट व्यवसाय हुन सक्छ । म्याक्रामे, हाते झोला, फोटो फ्रेम, गिफ्ट बक्स, गिफ्ट ह्याम्पर, वाल डेकोर, फूलदानी, हस्तनिर्मित कार्ड, मैनबत्ती स्ट्यान्डलगायतका सामग्रीको माग बढिरहेको छ ।

आजकल जन्मदिन, विवाह, बेबी सावर, वार्षिकोत्सव र विभिन्न विशेष अवसरमा व्यक्तिगत उपहार दिने चलन बढेकाले यो व्यवसायको सम्भावना पनि बढेको छ ।

कम लगानीमा सुरु गर्न सकिने यो व्यवसाय सामाजिक सञ्जालमार्फत सजिलै प्रचार गर्न सकिन्छ । नयाँ डिजाइन र सिर्जनशीलताले बजारमा छुट्टै पहिचान बनाउन मद्दत गर्छ ।

नेपालमा कृषि र पशुपालन अझै पनि आम्दानीको भरपर्दो माध्यम हो । घरको खाली जग्गा वा आँगनको सदुपयोग गर्दै च्याउ खेती, तरकारी खेती, मौरीपालन, बाख्रापालन र कुखुरापालन गर्न सकिन्छ । विशेषगरी अर्गानिक तरकारी, मह, अण्डा र दूधजन्य उत्पादनको बजार निरन्तर बढिरहेको छ । स्थानीय बजारसँगै सहकारी वा कृषि समूहमार्फत पनि उत्पादन बिक्री गर्न सकिन्छ ।

सरकार र विभिन्न संस्थाले कृषि तथा पशुपालन व्यवसायका लागि तालिम, अनुदान र सहुलियत ऋण पनि उपलब्ध गराउँदै आएका छन् । त्यसैले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा यो व्यवसाय सम्भावनायुक्त मानिन्छ ।

इन्टरनेटको पहुँच बढेसँगै डिजिटल कन्टेन्ट सिर्जना पनि आम्दानीको नयाँ माध्यम बनेको छ । युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्राममा खाना, स्वास्थ्य, सौन्दर्य, कृषि, यात्रा, हस्तकला, फेसन वा दैनिक जीवनसँग सम्बन्धित भिडियो बनाएर आम्दानी गर्न सकिन्छ ।

नियमित रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्न सके विज्ञापन, ब्रान्ड सहकार्य, एफिलिएट मार्केटिङ र प्रत्यक्ष प्रचारबाट आय आर्जन गर्न सकिन्छ ।

पछिल्लो समय धेरै नेपाली महिलाले आफ्नो रुचिलाई नै पूर्णकालीन पेसामा रूपान्तरण गरिसकेका छन् । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा निरन्तरता, सिर्जनशीलता र दर्शकसँगको विश्वास हो ।

यदि कुनै विषयमा राम्रो ज्ञान वा सीप छ भने त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सकिन्छ । घरमै विद्यालयका विद्यार्थीलाई ट्युसन पढाउने, अंग्रेजी वा अन्य भाषा सिकाउने, कम्प्युटर, संगीत, चित्रकला, नृत्य, सिलाइ–बुनाइ वा क्रोसेको तालिम सञ्चालन गर्न सकिन्छ ।

अनलाइन माध्यमबाट पनि कक्षा सञ्चालन गर्न सकिने भएकाले विद्यार्थीको पहुँच अझ फराकिलो भएको छ । यो व्यवसायमा लगानी न्यून हुन्छ तर राम्रो प्रतिष्ठा बनाउन सके दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ ।

सहरी क्षेत्रमा कामकाजी अभिभावकको संख्या बढ्दै जाँदा डे–केयर सेवाको आवश्यकता पनि बढेको छ । बालबालिकाका लागि सुरक्षित, सफा र मायालु वातावरण उपलब्ध गराउन सके यो व्यवसाय सफल बन्न सक्छ ।

डे–केयर सञ्चालन गर्दा बालबालिकाको सुरक्षा, पोषण, सरसफाइ र खेलकुद गतिविधिमा विशेष ध्यान दिनुपर्छ । अभिभावकको विश्वास नै यो व्यवसायको सबैभन्दा ठूलो पुँजी हो । यदि बालबालिकासँग काम गर्ने रुचि र धैर्य छ भने घरबाटै सुरु गर्न सकिने राम्रो व्यवसायमध्ये यो पनि एक हो ।

स्वास्थ्यप्रति सचेतना बढेसँगै अर्गानिक तथा प्राकृतिक उत्पादनको माग पनि बढिरहेको छ । शुद्ध मह, गाईको घिउ, घरेलु मसला, हर्बल साबुन, प्राकृतिक स्किनकेयर उत्पादन, मैनबत्ती, हर्बल चिया तथा प्राकृतिक तेल उत्पादन गरेर बिक्री गर्न सकिन्छ ।

पछिल्लो समय धेरै उपभोक्ता रसायनरहित र घरेलु उत्पादन रोज्न थालेका छन् । त्यसैले गुणस्तर कायम गर्न सके आफ्नै ब्रान्ड स्थापना गर्न सकिन्छ । उत्पादनको आकर्षक प्याकेजिङ, स्पष्ट लेबल र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्दा ग्राहकको विश्वास बढाउन सकिन्छ ।

व्यवसाय सुरु गर्नु जति उत्साहजनक हुन्छ, त्यसलाई निरन्तर सफल बनाइराख्नु त्यति नै चुनौतीपूर्ण पनि हुन्छ । धेरै महिलाले पुँजीको अभाव, बजार व्यवस्थापन, ग्राहकको विश्वास, समय व्यवस्थापन, डिजिटल सीपको कमी र पारिवारिक जिम्मेवारीबीच सन्तुलन मिलाउन कठिनाइ अनुभव गर्छन् ।

यद्यपि यी चुनौती उचित योजना, तालिम र निरन्तर प्रयासबाट पार गर्न सकिन्छ । व्यवसाय सुरु गर्नुअघि बजारको माग अध्ययन गर्ने, सानो लगानीबाट सुरु गर्ने, आम्दानी–खर्चको नियमित अभिलेख राख्ने, ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्ने र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने महिलाको सफलता दर तुलनात्मक रूपमा बढी हुने गरेको विभिन्न उद्यम विकास संस्थाहरूको अनुभव छ ।

व्यवसायको सफलताको आधार ठूलो लगानी होइन, गुणस्तरीय उत्पादन, इमानदारी, निरन्तरता र ग्राहकको विश्वास हो । घरको एउटा सानो कोठाबाट सुरु भएका धेरै महिला उद्यमीले आफ्नै सफल ब्रान्ड निर्माण गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
23h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#व्यवसाय
Compare →
Hamro Patro News
4d ago
अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै

अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकार...

#घरबाटै
Compare →
Arthasansar
1w ago
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा...

#व्यवसाय
Compare →
Nagarik News
1w ago
जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति

जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति

राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्।

#व्यवसाय
Compare →
Bizshala
1w ago
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ।...

#व्यवसाय
Compare →

Related Stories

Business & Economy
Build #2612