सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले चाडपर्वका बेला परिवारबाट टाढा रहेका तथा आश्रममा बस्दै आएका व्यक्तिहरूसँग खुसी साटासाट गर्दै दशैं मनाएको हो।
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले बुधबार मानव सेवा आश्रम, वीरगन्जमा आश्रित वृद्धवृद्धा तथा बालबालिकासँग विजया दशमी मनाएको छ।
सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले चाडपर्वका बेला परिवारबाट टाढा रहेका तथा आश्रममा बस्दै आएका व्यक्तिहरूसँग खुसी साटासाट गर्दै दशैं मनाएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, सीमा सुरक्षा गुल्म अलौका गुल्मपति, बीओपी ड्राइपोर्टका प्रमुखलगायत सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए। त्यस अवसरमा आश्रममा आश्रितहरूलाई खाद्यान्नलगायत आवश्यक सामग्रीसमेत वितरण गरिएको थियो।
दशैंमा अधिकांश मानिस परिवारसँग रमाइरहेका बेला आश्रममा रहेका वृद्धवृद्धा तथा बालबालिकाको एक्लोपन कम गर्ने र उनीहरूसँग पर्वको खुसी बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले बताए।
यसैबीच, सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई पनि गण प्रमुख क्षेत्रीले कार्यस्थलमै पुगेर टीका, जमरा र आशीर्वाद प्रदान गरेका थिए। सीमामा खटिएका नेपाल प्रहरीका कर्मचारी तथा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीलाई समेत टीका, जमरा र प्रसाद प्रदान गरी शुभकामना आदानप्रदान गरिएको थियो।
घरपरिवारबाट टाढा रहेर सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई दशैंको अनुभूति गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो। गणअन्तर्गतका विभिन्न युनिटमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई समेत टीका तथा जमरा लगाइदिएर पर्व मनाइएको थियो।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।