नाका खुल्ने निश्चित मिति तय नभए पनि चिनियाँ पक्षले स्थानीय प्रशासनसँग समन्वय र सहजीकरण अघि बढाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।
सिन्धुपाल्चोक — चीनले बन्द गरेको तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। नाका खुल्ने निश्चित मिति तय नभए पनि चिनियाँ पक्षले स्थानीय प्रशासनसँग समन्वय र सहजीकरण अघि बढाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।
‘ठ्याक्कै भोलि नै नाका खुल्ने सूचना आएको छैन। भोलि पनि खुल्न सक्छ। मिति तोकिएको छैन, तर नाका खुल्ने देखिन्छ,’ घिमिरेले भने।
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको हो। नाका बन्द गर्नुको कारण भने चिनियाँ पक्षले औपचारिक रूपमा स्पष्ट पारेको छैन। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार अध्यागमन, भन्सारलगायत सबै सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा रहन शुक्रबार खबर आएको छ।
‘नाका खुल्ने ठ्याक्कै समय निश्चित भएको छैन। भोलि वा कहिले भन्ने टुंगो छैन, तर नाका खुल्ने तयारी गर्न भनिएको छ,’ उनले भने। बाह्रबिसे नगरपालिका वडा ८ का अध्यक्ष तथा पूराना व्यवसायी विमलप्रसाद पौड्यालले नाका खुल्ने तर लामो समय नखुल्ने सन्देश चिनियाँ प्रशासनमार्फत पाएको बताए । यसअघि पनि अरनिको राजमार्गमा लगातारको पहिरोले अवरोध पुर्याउँदा गत साउनको सुरुदेखि तातोपानी नाका करिब तीन साता पूर्ण रूपमा बन्द भएको थियो। साउन तेस्रो सातादेखि १० दिन सीमित रूपमा यातायात सञ्चालनमा आए पनि रसुवा बाढीपछि चिनियाँ पक्षले पुनः नाका बन्द गरेको थियो। त्यसअघि नेपाली व्यवसायीले तातोपानी, टिमुरे (रसुवागढी) र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नाका पुनः सञ्चालनका लागि नेपाल र चीनका अधिकारीबीच पहल भइरहेका बेला व्यवसायीले पनि खुल्ने आशा गरेका छन्। गत साता नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले तातोपानी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।
त्यसयता नाका खुल्ने–नखुल्ने अन्योल कायमै रहे पनि नेपालतर्फ लिपिङ र कोदारी क्षेत्रमा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनरको लस्कर लागेको छ। चीनतर्फ न्यालम क्षेत्रमा पनि दसैंलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य तथा फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार नाका खुल्ने प्रतीक्षामा दुवैतर्फका व्यवसायी छन्। ‘नेपालतर्फ कन्टेनरको लस्कर लागेको छ। चीनतर्फ पनि दसैंका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। तर अहिलेसम्म नाका खुलेको छैन,’ उनले भने। खासा बजारको पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि सीमावर्ती क्षेत्रको भौगोलिक जोखिमलाई लिएर चिनियाँ पक्षले तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्ने विषयमा अझै निर्णय गरिसकेको छैन।
नाका सञ्चालनमा आए दसैंका लागि चीनबाट आयात हुने सामान भित्र्याउन सहज हुने अपेक्षा व्यवसायीको छ। तर नाका खुल्ने निश्चित मिति र नियमित सञ्चालनबारे चिनियाँ पक्षको निर्णय प्रतीक्षामै छ।
अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।