धेरै कारणले नेपालका सडक दिनप्रतिदिन असुरक्षित र जोखिमपूर्ण बन्दै गएका छन् । पछिल्लो समय सडक दुर्घटनाको बढ्दो सङ्ख्या र यसबाट हुने मानवीय तथा भौतिक क्षति चिन्ताजनक र गम्भीर चुनौती बनेको छ । मुलुकको भौगोलिक अवस्था, सडक इन्जिनियरिङको कमजोरी, सवारीसाधनको दुरवस्था र चालकको लापर्बाही त सडक दुर्घटनाका स्थापित कारण हुन् नै तर सडकलाई हेर्ने आमनागरिकको सामाजिक दृष्टिकोण र व्यवहार पनि यसमा कम जिम्मेवार छैन । समग्र विकास र अनुशासनको मेरुदण्ड मानिने सडकलाई साझा र संवेदनशील सार्वजनिक सम्पत्तिका रूपमा बुझ्न नसक्दा सडक नै प्रमुख दुर्घटनाको कारण बन्दै छ । यो अत्यन्तै सोचनीय विषय हो । नेपालमा अरू बेलाभन्दा चाडपर्वको समयमा बढी सवारी दुर्घटना हुने गरेको छ । यात्रुको चाप बढेसँगै चाडपर्वको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च रूपमा बढेको छ । यस पटकको बडादसैँको १५ दिनको अवधिमा देशभर एक हजार ३४१ सवारी दुर्घटना भए । यसमा १४० जनाले अमूल्य जीवन नै गुमाए भने तीन हजार ५० जनाभन्दा बढी घाइते भए । यो हाम्रा लागि अत्यन्तै मार्मिक, पीडादायी र सोचनीय विषय हो ।
हामीकहाँ सडक दुर्घटनाको एउटा मात्र कारण छैन । विविध कारणले सडक दुर्घटना बढेको छ । सडकलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने प्रवृत्ति पनि अन्त्य भएको छैन । गाउँघर, टोलका सडकदेखि राजमार्गका छेउसम्म पनि सडकमा बिस्कुन सुकाउने, मनपरी ढङ्गले सवारीसाधान राख्ने, पराल थुपार्ने, निर्माण सामग्री जथाभाबी राख्ने, ट्राफिक नियमलाई बेवास्ता गरी जथाभाबी बाटो काट्ने र चौपाया छाडा छोड्ने काम निरन्तर भइरहेका छन् । सवारीसाधन तीव्र गतिमा गुड्ने सडकको आधा भाग नै ढाक्ने गरी विविध अवरोधक वस्तुका कारण चालकले अचानक सवारी मोड्नुपर्ने वा ओभरटेक गर्नुपर्ने बाध्यता आइपर्छ । यस्ता गतिविधिले गुडिरहेको सवारीसाधनको सन्तुलन बिग्रिएर गम्भीर दुर्घटना निम्त्याएका अनेकौँ दृष्टान्त हाम्रासामु छन् । सडक हिँड्न र गाडी गुडाउनका लागि हो, घरायसी काम सञ्चालन गर्नका लागि होइन भन्ने सामान्य चेतसमेत नागरिकस्तरमा हराउँदै जानु दुःखद पक्ष हो । ग्रामीण भेगमा त झन् सडक निर्माण भएपछि त्यसलाई आँगनकै विस्तारित रूप मान्ने सोच हाबी छ । सडकको क्षेत्राधिकार मिचेर संरचना बनाउने र सडकमै व्यापारिक सामान फैलाउने कामसमेत रोकिएको छैन । यस्तो लापर्बाहीले एकातिर सडकको आयु घटाउँछ भने अर्कातिर पैदलयात्री र चालक दुवैलाई उच्च जोखिममा पार्छ । राज्यले अर्बौं लगानी गरेर बनाएका सडक पूर्वाधारको यसरी दुरुपयोग गर्नु राम्रो काम होइन । यो त नागरिक स्वयम्को जीवनमाथि खेलबाड पनि हो । सडकलाई सुरक्षित बनाउन अब केवल कानुनी प्रावधान र प्रहरीको निगरानी मात्र पर्याप्त हुँदैन । स्थानीय तहले आफ्ना क्षेत्रभित्रका सडकको नियमित अनुगमन गरी सडक मिचेर गरिने यस्ता क्रियाकलापलाई पूर्णतः रोक्नु पर्छ । यसका लागि नागरिकमा पनि सडक सुरक्षासम्बन्धी व्यापक सचेतना जगाउनु आवश्यक छ । सवारी नियमको पालनासँगै सडकको सही र मर्यादित प्रयोग गर्न सिक्नु प्रत्येक नागरिकको कर्तव्य मात्र होइन, जिम्मेवारी पनि हो । जबसम्म हामी सडकलाई अन्न सुकाउने आँगन वा सामान थुपार्ने गोदाम बनाउन छाड्दैनौँ, तबसम्म यात्रा सुरक्षित हुन सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )