Trending
Prev Story
Next Story

विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता

Ekantipur •
October 28, 2026 • 06:19 PM
2
2 reads 0 reactions

युरोपको दुर्दशाको मुख्य पाठ हो– उधारोको राष्ट्रिय भाष्य, परनिर्भर अर्थतन्त्र र नागरिकलाई भ्रममा राखेर शासनलाई स्वहितमा प्रयोग गर्ने नीतिले ढिलो–चाँडो विस्फोट निम्त्याउँछ।

विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता

युरोपको दुर्दशाको मुख्य पाठ हो– उधारोको राष्ट्रिय भाष्य, परनिर्भर अर्थतन्त्र र नागरिकलाई भ्रममा राखेर शासनलाई स्वहितमा प्रयोग गर्ने नीतिले ढिलो–चाँडो विस्फोट निम्त्याउँछ।

अस्ट्रियाली कूटनीतिज्ञ क्लेमेन्स फन मेटर्निखले सन् १८१४–१५ मा भियनामा आयोजित युरोपेली राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनपछि भनेका थिए, ‘फ्रान्सले हाच्छिउँ गर्दा सम्पूर्ण युरोपलाई रुघा लाग्छ ।’ यो कथन २०२६ मा युरोपका लागि मात्र नरही वैश्विक भइसकेको छ । विद्यालयमा कर्मचारीको अभाव, शिक्षाको बजेट कटौती, बढ्दो महँगीको विरोधमा फ्रान्समा गत मध्य सेप्टेम्बरमा सुरु भएको आन्दोलन देशव्यापी चर्कियो । यस क्रममा त्यहाँको लिमोज सहरमा रहेको १९औं शताब्दीमा निर्मित ऐतिहासिक टाउन हल आगजनीबाट ध्वस्त पारियो ।

फ्रान्सबाट सुरु भएको आन्दोलनको लहर अन्य युरोपेली देशमा फैलिएको छ । नागरिक असन्तोष विनाशकारी प्रदर्शनमा विस्फोट हुँदा मिलान, तिराना, बार्सिलोना, म्याड्रिड, सान्टियागोमा आगजनी, तोडफोड र लुटपाट मच्चिएको छ । सामाजिक सञ्जाल र सडकमा तैरिरहेका युवाहरूको आक्रोश सामान्य राजनीतिक असन्तुष्टि मात्र नभई सभ्यता, पुनर्जागरण, राज्यक्रान्ति र ‘फ्रेन्च कम्युन’ ले स्थापित गरेका आधारभूत मूल्यहरू– स्वतन्त्रता, समानता र भ्रातृत्वको जग नै हल्लाएको छ । आन्दोलन फ्रान्सेलीहरूको राजनीतिक–सामाजिक पहिचान हो भन्नु अत्युक्ति हुँदैन । हिजो पनि क्रान्तिकै बलमा यहाँ राजतन्त्र पतन भएको थियो ।

अस्ट्रियाली लेखक स्टेफान जुइगले ‘द वल्र्ड अफ एस्टर्डे’ मा पहिलो विश्वयुद्धभन्दा अगाडिको युरोपको स्वर्णिम युगको वर्णन गर्दै लेखेका छन्, ‘सभ्यता र संस्कृतिको त्यो भव्य महल कति कमजोर जगमा उभिएको छ र शासकहरूको अहंकार एवं राजनीतिक अदूरदर्शिताका कारण कसरी त्यो एकै झट्कामा भत्किन सक्छ भन्ने संसद् र सडकका मानिसहरूले पत्तै पाउँदैनन् ।’ आज पेरिस, मिलान र तिरानाका सडकहरूमा भइरहेको विनाशले त्यही देखाएको छ । आजका युवाहरूलाई इतिहासको रोमाञ्च र गौरवगाथाको कुनै अर्थ छैन । किनकि वर्तमानले चरम असुरक्षा र अनिश्चित भविष्यबाहेक केही दिन नसकेको उनीहरूको बुझाइ छ ।

दोस्रो विश्वयुद्धपछिको युरोपमा एउटा अलिखित ‘सामाजिक सम्झौता’ थियो: राम्रोसँग पढ्ने, मिहिनेतले काम गर्ने र राज्यले कल्याणकारी सेवा, सामाजिक सुरक्षा र उज्यालो भविष्यको प्रत्याभूति गर्नेछ । तर सन् १९९० को दशकपछिको नवउदारवादी आर्थिक नीतिका कारण यो सम्झौता बिस्तारै भत्कियो । यसैको गर्भबाट अर्थशास्त्री गाय स्ट्यान्डिङले प्रतिपादन गरेको एउटा नयाँ वर्ग जन्मियो– ‘प्रिकारिएट’, जुन ‘प्रोलिटरिएट’ र ‘प्रिकारियस’ मिलेर बनेको हो । अहिले जारी युरोपको आन्दोलनमा तिनै सहभागी छन् ।

हजारौंको संख्यामा स्नातकहरू उत्पादन भइरहँदा श्रम बजारमा सुरक्षित काम र रोजगारी छैन । फ्रान्समा एल्गोरिदममा आधारित सÏटवेयरले विद्यार्थीको भविष्यको निर्णय गरिदिनु र म्याड्रिडमा ह्वीलचेयरमा रहेकी ८७ वर्षीया मारिकर्मेनलाई प्रहरीले जबर्जस्ती घरबाट निकाल्नुले युवाहरूको आक्रोश चुलियो । जब एउटा सिंगो पुस्तालाई उसले जतिसुकै मिहिनेत गरे पनि एउटा घर किन्न, आÏनो वृद्धावस्था सुरक्षित गर्न वा चाहेको वैश्विक गन्तव्यमा घुम्न जाने खर्च जुटाउन सकिँदैन, तब उसमा जस्तोसुकै कल्याणकारी र समुन्नत व्यवस्थाप्रतिको निष्ठा पूर्ण रूपमा समाप्त हुन्छ ।

यो आन्दोलनमा अनौठो विरोधाभास पनि छ । जब पेरिस, मिलान र तिरानामा सडकहरू जलिरहेका थिए त्यतिबेला क्राकोभ र बेलग्रेडमा भएका प्रदर्शनहरू भने संयमित र शान्त थिए । महँगी, इन्धन संकट र आर्थिक दबाब त्यहाँ पनि उत्तिकै छ, तर धरोहरहरू जलाइएनन् । किनकि ती समाजहरूको ऐतिहासिक मनोविज्ञान फरक छ । पूर्वी युरोप र बाल्कनका नागरिकहरूले विगतमा कठोर साम्यवाद, अभावग्रस्त जीवन र सत्ताको दमन नजिकबाट भोगे । उनीहरू फ्रान्स वा इटाली जस्तो ‘उधारोको सुखसयल’ वा औपनिवेशिक स्रोतको जगमा हुर्केका होइनन् । फ्रान्सले आन्तरिक संकट ढाक्न दशकौंसम्म अफ्रिकी मुलुकहरूको सस्तो युरेनियम र मौद्रिक सञ्चिति पेरिसमा रहने बाध्यात्मक औपनिवेशिक व्यवस्था गर्‍यो । ती मुलुकले यो सम्झौता रद्द गरिदिएपछि सुखसयलको महल भत्कियो।

तर पूर्वी युरोप र बाल्कनका ‘वैचारिक प्लेग’ र पशुतुल्य जीवन व्यहोरेका मानिस र तिनका सन्ततिहरूले जीवनको मूल्य बुझेका छन् । उज्यालो भविष्यको चाहना राख्छन् । अभावमा  बाँच्न र प्रणालीसँग लड्न जान्दछन्  । त्यसैले आÏनै सभ्यता भत्काउने उन्माद देखाएनन्।

फ्रान्सेली पुँजीवाद र समाजवादमा अन्तर्निहित द्वन्द्व राष्ट्रपति एमानुअल माक्रोंको एउटा व्यवहारमा अभिव्यक्त भयो । निवृत्तिभरण सुधारविरुद्धको आन्दोलनताका टेलिभिजनमा अन्तर्वार्ता दिँदै गर्दा माक्रोंले आफ्नो महँगो घडी फुकालेर टेबुलमुनि लुसुक्क राखे । यो दृश्यले पश्चिमी युरोपको सत्ता पुँजीवादको फाइदा त चाहन्छ, तर पुँजीले सिर्जना गर्ने वैभवको रक्षा गर्ने आँट गर्न सक्दैन भन्ने देखाउँछ।

आज पेरिसका सडकमा आन्दोलनकारीहरूले सपिङ मलहरूबाट सामान लुटिरहेका छन् । सम्पदा र धरोहरहरू जलाइरहेछन् । किनकि स्थापित प्रणालीले मानिसमा चरम उपभोक्तावादी लालसा मात्रै पैदा गरेन, बहुसंख्यक युवालाई त्यो वैभवबाट सधैंका लागि वञ्चितसमेत गरिदियो । फ्रान्सेलीहरूका लागि ‘स्वतन्त्रता र नागरिक अधिकार’ त्यो वैभव र कलाभन्दा धेरै माथिको विषय थियो भन्ने विषय नै अब मेटियो।

रेने गिरार्डको ‘बलिको बोको’ र सुसाइडल एम्प्याथी

यो संकटको दार्शनिक पाटो फ्रान्सेली चिन्तक रेने गिरार्डको ‘स्केपगोट मेकानिजम्’ हो । गिरार्डका अनुसार, जब कुनै समाज वा प्रणाली संरचनात्मक रूपमा असफल हुन्छ, तब एकअर्कामा चरम ईर्ष्या र हिंसा पैदा हुन्छ । यो हिंसाबाट बच्न भीडले सधैं एउटा ‘बलिको बोको’ खोज्छ, जसको बलि चढाएर शान्तिको भ्रम प्राप्त गर्छ । युरोपेली अभिजात्यले आफ्नो असफलता लुकाउन कहिले आप्रवासी त कहिले अन्य अल्पसंख्यक समुदायलाई बलिको बोको बनाउँदै छन् । उपराष्ट्रपति जेडी भान्सले यो आन्दोलनलाई ‘तेस्रो विश्वका आप्रवासीहरूको आक्रमण’ भन्नु आफैंले अवलम्बन गरेको संरचनाको दोष लुकाउनु हो । तर सत्य अर्कै छ: फ्रान्सका अस्पतालहरूमा एक तिहाइभन्दा बढी चिकित्सक अल्जेरियाली मूलका छन् । समस्त युरोपको अधिकांश दक्ष जनशक्ति तेस्रो विश्वका छन्।

अर्कोतर्फ, चिन्तक गाद सादले भनेझैं युरोप ‘सुसाइडल एम्प्याथी’को सिकार भएको छ । राज्यले सस्तो श्रमका लागि आप्रवासी भित्र्यायो, करदाताको पैसाबाट सञ्चालन हुने संस्था र कर्मचारीतन्त्रको यस्तो परजीवी संयन्त्र खडा गर्‍यो, जो समस्या समाधानमा भन्दा आफ्नो हैसियत सुरक्षित गर्न केन्द्रित छ । हुन त सन् १८५० मै अर्थशास्त्री फ्रेडरिक बास्तियाले भनेका थिए, ‘राज्य यस्तो महान् भ्रम हो, जहाँ प्रत्येक व्यक्ति अर्काको खर्चमा बाँच्ने प्रयास गर्छ । जब यो भ्रम टुट्छ, तब सडकमा विध्वंस हुन्छ ।’ यसपालि त्यस्तै भयो । फ्रान्सेली युवाहरूले ६ महिनापछिको चुनाव पनि पर्खेनन् । उनीहरूले बुझे, चुनाव र प्रणाली शासक परिवर्तन गर्ने नाटक मात्र हुनेछ, नीति परिवर्तनको रूपान्तरणकारी माध्यम होइन।

लोकतान्त्रिक चेतना र शान्तिको चाहना

लिमोज सहरको टाउन हल, मिलानका वित्तीय केन्द्रका काँचका चम्किला महल र तिरानाको सर्वोच्च अदालतका भग्नावशेषहरू अब पश्चिमा सभ्यताको संरचनात्मक विध्वंशको विम्ब बने । वैभव र पहिचानका प्रतीकहरू सडकको आक्रोशमा भत्किँदा युरोपकै पहिचानमा संकट आयो । यही संकटको भुमरीबीच पेरिसमा नागरिकले स्वतन्त्रता, समानता र भ्रातृत्वको मर्म ब्युँताउन शान्तिपूर्ण प्रदर्शन गरे । सडकको यो नयाँ दृश्यमा राजनीतिक अभिजात्यहरूले व्यवस्था भत्काए पनि, धरोहरहरू खरानी भए पनि, नागरिकको हृदयमा एकता, लोकतान्त्रिक चेतना र शान्तिको चाहना जीवितै छ, जसले भत्किएका संरचनाहरूका बीचबाटै सभ्यताको नयाँ पुनर्निर्माण गर्न सक्छ भन्ने सन्देश छ।

सम्पत्तिको अधिकार, आवास संकट र स्रोतको दोहन

युरोपको आन्दोलनमा बढीजसो विद्यार्थी, मजदुर र वामपन्थीहरू सडकमा छन् । माक्रों सरकारले आन्दोलनमा हुने क्षति र तोडफोडको मूल्य आन्दोलनकारीबाटै असुल गर्ने कानुन ल्याउने भनेपछि आक्रोश झनै बढ्यो । यही बेला राष्ट्रपति चुनावका प्रत्याशी मिलासाले निजी सम्पत्तिको परम्परागत अवधारणामा प्रश्न उठाउँदै ‘विस्तारित सामाजिक न्याय’ को बहस थालेका छन् । उनी आफैं ठूलो सम्पत्तिका मालिक रहेकाले धेरैले यसलाई राजनीतिक नोमाक्लात्युरा भने, तर यो ‘सम्पत्तिको अधिकार अनुल्लंघनीय र पवित्र’ मान्ने फ्रान्सेली घोषणापत्रको विरुद्धमा छ।

अहिले फ्रान्स र समस्त युरोपको सबैभन्दा ठूलो चुनौती आवास संकट हो । फ्रान्समा मात्रै २९ लाख मानिस सार्वजनिक आवासको पर्खाइमा र साढे तीन लाख मानिस घरबारविहीन छन् । त्यहाँ ६० वर्षभन्दा माथिका मानिस कुल जनसंख्याको एक चौथाइ छ । यिनीहरूसँग फ्रान्सको ६० प्रतिशत सम्पत्तिको स्वामित्व छ र यही एक चौथाइले फ्रान्सेली सरकारले गर्ने सबै सामाजिक खर्चको दुई तिहाइ प्राप्त गर्छन् । जबकि फ्रान्सको यस्तो खर्च अरू देशभन्दा धेरै छ।

फ्रेक्जिट, प्रतिविश्वीकरण र नागरिक प्राथमिकता

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र शैक्षिक बजेट कटौतीका विरुद्ध नागरिकले गरेको प्रदर्शनमा फ्रान्सलाई युरोपेली युनियन (ईयू) बाट बाहिर निकाल्ने ‘फ्रेक्जिट’को नयाँ माग आएको छ । ब्रेक्जिट जस्तै यो आन्दोलनले फ्रान्सको राष्ट्रिय सार्वभौमिकता पुनर्बहाली र आफ्नै मुद्रा फ्रांक फिर्ताको मागसहित विश्वीकरण र ईयूका आर्थिक नीतिको चर्को विरोध, उद्योग र स्थानीय रोजगारी बचाउन तथा राज्यका सामाजिक सुरक्षा र अवसरहरूमा पहिलो अधिकार फ्रान्सेलीकै हुनुपर्ने नागरिक प्राथमिकताको मुद्दा उठेको छ । यसले माक्रोंको अग्रिम अवतरणसँगै एलिजे, होटल माटिन्यो र प्याले बोर्बोनमा नयाँ अनुहार, नयाँ सोच र नयाँ कार्यशैलीको माग गरिरहेको छ।

फ्रान्सको लिमोजमा टाउन हल र अल्बानियाको तिरानामा सर्वोच्च अदालतमा भएको विध्वंस होस् या क्राकोभ र बेलग्रेडमा उत्सवसहितको प्रतिरोधी चेतना होस् वा चरम निराशा बोकेर काठमाडौं विमानस्थलमा लामबद्ध नेपाली युवा– यी सबै वैश्विक सत्ताको अलगावका जीवन्त उदाहरण हुन् । युरोपको अहिलेको दुर्दशाको मुख्य पाठ हो– उधारोको राष्ट्रिय भाष्य, परनिर्भर अर्थतन्त्र र नागरिकलाई भ्रममा राखेर शासनलाई स्वहितमा प्रयोग गर्ने नीतिले ढिलो–चाँडो विस्फोट निम्त्याउँछ । जब वर्तमान संकटग्रस्त हुन्छ, तब अतीतको गौरवशाली इतिहासले वर्तमानको भोको पेट भर्न सक्दैन । शासकहरू नागरिकको आवाज सुन्ने आदिम लोकतान्त्रिक चरित्रमा फेरि फर्कनैपर्छ । अन्यथा इतिहासको न्याय निकै क्रूर हुनेछ।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612