उद्घाटन खेलमा आयोजक सोल्माले दिक्तेललाई १–० ले पराजित गर्दै जितको खाता खोलेको छ । बिहीबार हुने पहिलो खेलमा बास्पानी र खार्मी तथा दोश्रो खेल हलेसी र लफ्याङ बीच हुनेछ ।
खोटाङ — सातौं सोल्मा फुटबल प्रतियोगिता सुरु भएको छ । सोल्मा स्पोर्टस् क्लबको घरेलु खेलमैदान सोल्मामा बुधबार सुरु भएको हो ।
उद्घाटन खेलमा आयोजक सोल्माले दिक्तेललाई १–० ले पराजित गर्दै जितको खाता खोलेको छ । बिहीबार हुने पहिलो खेलमा बास्पानी र खार्मी तथा दोस्रो खेलमा हलेसी र लफ्याङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताका विजेताले एक लाख २२ हजार दुई सय २२ रुपैयाँ, उपविजेताले ७७ हजार ७ सय ७७ र सेमिफाइनलिस्ट दुई टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई दुई हजार दुई सय २२ रुपैयाँका दरले तथा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् । त्यस्तै, एक जना पत्रकारलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने राईले सुनाएका छन् ।
प्रतियोगिताको उद्घाटनको साँझ ‘द भ्वइस किड्स’ सिजन ५ की चर्चित सेमिफाइनलिस्ट बाल कलाकार मेरिल राई, सम्बन्ध ब्याण्डलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिएका छन् । फाइनल खेलमा चर्चित गायिका रचना रिमालका साथमा अन्य कलाकारहरूले प्रस्तुति दिने पनि आयोजकले जनाएको छ । खेलको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईलगायतले गरेका हुन् ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।