क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्रै छ । कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन : चीन
काठमाडौँ — चीनले क्युबामाथिको अमेरिकी आर्थिक नाकाबन्दी तत्काल हटाउन माग गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोंगले मंगलबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अमेरिकाले क्युबामाथि दिइरहेको दबाब र नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ‘क्युबाविरुद्ध अमेरिकाले लादेको आर्थिक, व्यावसायिक तथा वित्तीय नाकाबन्दी अन्त्य गर्ने आवश्यकता’ शीर्षकको कार्यसूचीमाथि छलफल हुँदा फुले यस्तो धारणा राखेका हुन् ।
फुले यस कार्यसूचीअन्तर्गत क्युबाद्वारा प्रस्तुत मस्यौदा प्रस्तावको पक्षमा चीनले मतदान गर्ने बताएका छन् । अमेरिकाले क्युबामाथि लगाएको यो गैरकानूनी आर्थिक नाकाबन्दी र एकपक्षीय प्रतिबन्ध ६४ वर्षदेखि जारी रहेको र हाल आएर झन् कडा पारिएको फुले बताए ।
संयुक्त राष्ट्रसंघीय महासभाले अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दी अन्त्य गर्ने प्रस्तावमाथि ३४ वर्षदेखि लगातार छलफल गर्दै आए पनि यस विषय कार्यान्वयनमा आउन सकेको छैन ।
चिनियाँ प्रतिनिधिले यस्तो अवस्थाका कारण क्युवाका जनताले गम्भीर पीडा भोग्नुपरेको र यसका बाबजुद पनि उनीहरुले प्रतिरोध जारी राखेको बताए । फुले यी घटनाक्रमले अमेरिकाका प्रभुत्ववादी र गुन्डागर्दीपूर्ण व्यवहारलाई समेत उजागर गरेको आरोप फुले लगाए ।
यी कदम राष्ट्रसंघीय बडापत्रको उद्देश्य र सिद्धान्तविपरीत हुनुका साथै अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूमाथिको ठाडो प्रहार भएको उनको ठहर छ ।
फुले क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्र भएको प्रस्ट पारे । ‘कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन,’ उनले भने ।
चीनले क्युबाको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासको अधिकारको रक्षा गर्ने न्यायपूर्ण कार्यलाई दृढतापूर्वक समर्थन गरिरहने प्रतिबद्धता फुले व्यक्त गरे। स्वतन्त्रता र विकासका निम्ति चालिने सबै न्यायपूर्ण प्रयासहरूप्रति चीन सधैं अडिग रहने उनले बताए ।