आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ
नयाँदिल्ली — बंगालको खाडीबाट उत्पन्न शक्तिशाली ‘अर्णव’ चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
काकिनाडा र पुडुचेरीको यानमबीचको तटीय क्षेत्रमा बुधबार बिहान यो आँधी भीषण रूपमा ठोक्किएको थियो ।
यसको प्रभावले सिर्जित वर्षा र हावाहुरीले अहिले दुई राज्यमा ठूलो क्षति निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार अहिले यो अति तीव्र चक्रवा कमजोर भएको छ । तर, यसले निम्त्याएको हावाहुरी र वर्षाको प्रभाव कायम छ ।
चक्रवात उत्तर–पश्चिम दिशा तर्फ सर्ने क्रममा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र कहिलेकाहीं १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । विशाखापट्टनम र अनाकापल्ली जिल्लाहरूमा २०० मिलिमिटरभन्दा बढी अति भारी वर्षा रेकर्ड गरिएको छ ।
आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ ।
सुरक्षालाई ध्यानमा राख्दै आन्ध्र प्रदेशबाट करिब ८९,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । छिमेकी राज्य ओडिशामा पनि ३०,००० भन्दा बढी सर्वसाधारणलाई शिविरहरूमा स्थानान्तरण गरिएको छ । उद्धार तथा राहतका लागि राष्ट्रिय र राज्य विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ ।
खराब मौसमका कारण विशाखापट्टनम, विजयवाडा र राजामुन्द्रीका धेरै उडान र रेल सेवाहरू रद्द गरिएका छन्।
मौसम विभागले ओडिशाका गजपति, गंजाम, रायगडा, कोरापुट, नबरंगपुर र मालकानगिरि जिल्लाहरूमा अति भारी वर्षाको चेतावनीसहित ‘रेड अलर्ट’ जारी गरेको छ। यी क्षेत्रमा प्रतिघण्टा ६० देखि ८० किलोमिटर र केही स्थानमा ९० किलोमिटरसम्मको बेगमा हावा चल्ने अनुमान गरिएको छ ।
यसैगरी, कालाहांडी, कांधमाल, पुरी, र खुर्धा लगायतका १० वटा जिल्लामा पनि भारी वर्षाको सम्भावनासहित चेतावनी जारी गरिएको छ ।
प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन, पुराना रूखहरू, विद्युतीय पोल र होर्डिङ बोर्डहरूबाट टाढा रहन आग्रह गरेको छ ।