Trending
Prev Story
Next Story

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् । ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक …

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा

८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् ।

‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।

नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।

विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।

‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’

अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्तिप्रति राप्रपाका नेता थापाले विरोध जनाएका हुन् । ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन’, नेता थापाले लेखेका छन्, ‘विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’

सानो समुहको केही अपवादमुलक धारणालाई लिएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु अर्थमन्त्री डा. वाग्लेको पूर्वाग्रही चस्माको उपज भएको थापाले बताएका छन् ।

नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उनले भारतसँग नेपालले समानता र सम्मानजनक सम्बन्ध चाहने बताएका छन् । ‘तर, सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो’ उनी अगाडि लेख्छन्, ‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ?  वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मनरो डक्ट्रिन’ कै उपज त होइन ?’

रास्वपाले २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा नीतिगत छलफल राखेको थियो । उक्त कार्यक्रममा डा. वाग्लेले नेपालको जलविद्युतको प्रयोग, विदेश निर्यात लगायतको विषयमा भूराजनीतिलाई समेत जोडेर ब्याख्या गरेका थिए । ‘सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइराख्या छ । अब इन्डियाले यो होल गेममा हामी अवेर (सचेत) हुनुपर्छ’, उनले भनेका थिए, ‘चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकोमा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो । आफ्नो स्वभरिनिटी च्वाइस पनि हो ।’

नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विजुली बिक्री गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको छ । तर चिनियाँ लगानी वा निर्माण प्रक्रियामा चिनियाँ ठेकदार कम्पनी संलग्न भएको जलविद्युत आयोजनाको विद्युत खरिद गर्न भारतले मानेको छैन ।

यसले नेपालका सबै खोलानाल तथा जलविद्युत आयोजनामा भारतको एकाधिकार स्थापित हुने कतिपयको चिन्ता छ । तर, डा. वाग्लेले भारतको अडानलाई सहयोग हुने गरी धारणा राखे । भारतको अडानको व्याख्या गर्दै डा. वाग्लेले भने, ‘हाम्रो लेऊ भनेको पनि हुन सक्छ वा अब किन जानीजानी आफ्नो जियोपोलिटिकल राइबल (प्रतिस्पर्धी) लाई उठाउन दिने भन्ने पनि छ ।’

चीनसँग १४० अर्ब डलरको व्यापार गर्ने भारतले एक दुई करोडका आयोजनामा किन यसो गरेको होला भन्ने प्रश्न गर्दै उनले एउटा सन्देश दिन खोजेको हुन सक्ने बताए । उनले अगाडि भनेका थिए, ‘यसलाई साउथ एशियन मनरो डक्ट्रिन पनि भन्न सकिन्छ ।’

१८२३ मा अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्ने क्रममा एउटा नीति वक्तव्य दिएका थिए । जसमा उनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रलाई अमेरिकाको प्रभावक्षेत्र (स्फेयर अफ इन्फ्लुयन्स) का रुपमा व्याख्या गरेका थिए । ‘त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ’ डा. वाग्ले स्वयंले भनेका थिए ।

अहिले भारतले ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’ अघि सार्दै यो क्षेत्र आफ्नो भएको र अरुलाई नआउन भनेको वाग्लेको विश्लेषण छ । उनी त्यतिमै रोकिएका थिएनन् ‘अब इन्डिया इज अ राइजिङ पावर । उसले भन्यो कि – यो स्फेयर अफ इन्फ्लुयन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर । राइजिङ पावरहरुको यो कुरा हामीले पनि बुझिदिनुपर्छ ।’

भूराजनीतिक विषयमा प्राक्टिकल र व्यवहारिक हुनुपर्ने भन्दै डा. वाग्लेले  कच्चा राष्ट्रवाद जाग्न नहुने समेत बताएका थिए । उनले भनेका थिए, ‘यो जिङगोइजम (अति राष्ट्रवाद) लाई अलिकति मेलो गरेर प्राक्टिकल साधन के हो ? साध्य के हो ? भनेर छुट्याएर गयौं भने धेरै कुराहरु क्लियर हुन्छ ।’

त्यसबेला डा. वाग्ले यस्तो अभिव्यक्तिका कारण विवादमा परेका थिए ।

यो पनि पढ्नुहोस स्वर्णिममाथि संसदमा उठ्यो प्रश्न, के हो मनरो डक्ट्रिन विवाद ?

अहिले फेरि भारत भ्रमणका क्रममा डा. वाग्ले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताए सँगै विवादमा तानिएका छन् ।

राप्रपा नेता थापाले डा. स्वर्णिम वाग्लेले दिल्लीमा दिएको अभिव्यक्तिउपर सरकारको धारणा नै माग गरेका छन् । ‘जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो’ प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

डा. वाग्लेको अभिव्यक्तिलाई लिएर अन्य दलका नेता/कार्यकर्ताले समेत प्रश्न उठाएका छन् ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणालाई बौद्धिक ज्ञानको टाट पल्टाईको संज्ञा दिन्छन् ।

‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय हित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

'कर्मकाण्डी' विदेश भ्रमणमा 'इच्छुक नदेखिएका' बालेन शाहले दिल्लीमा कस्ता मुद्दा उठाउलान्?

भारतले नेपाली प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को छिट्टै हुने भनिएको दिल्ली भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका समग्र पक्षमा छलफल हुने बताइरहेका बेला कूटनीतिक मामिलाका जानकारहरूले नेपालले आफ्ना त...

#भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भारत #भ्रमण
Compare →
Ekantipur
2d ago
उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

#भारत #भ्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2612