Trending
Prev Story
Next Story

चुलोदेखि कार्यालयसम्म, दैनिकी सहज बनाउँदै एआई

Ekantipur •
October 24, 2026 • 03:00 PM
2
2 reads 0 reactions

घरमा बिग्रिएको इन्डक्सन चुलो मर्मत गर्नेदेखि बैंकिङ प्रणालीका काम सहज बनाउनसमेत एआईको प्रयोगले सर्वसाधारण र कर्मचारीको दैनिकी एवं कार्यशैली फेरिन थालेको छ ।

चुलोदेखि कार्यालयसम्म, दैनिकी सहज बनाउँदै एआई

घरमा बिग्रिएको इन्डक्सन चुलो मर्मत गर्नेदेखि बैंकिङ प्रणालीका काम सहज बनाउनसमेत एआईको प्रयोगले सर्वसाधारण र कर्मचारीको दैनिकी एवं कार्यशैली फेरिन थालेको छ ।

काठमाडौँ — खाना पकाउने ग्यासको अभाव भएपछि गोदावरी नगरपालिका–९ की कार्यपालिका सदस्य बिना नगरकोटीले इन्डक्सन चुलो त किनिन् तर चलाउने कसरी ? उनलाई आउँदै आएन । अरू बेला भए, उनी यस्तो अवस्थामा श्रीमान्, छोरा वा देवरसँग सहयोग माग्थिन् । तर, यसपालि उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कक्षा लिएकी थिइन् । दिमागले फ्याट्टै सम्झियो– च्याटजीपीटी !

उनले इन्डक्सन चुलोको फोटो खिचेर च्याटजीपीटीमा हाल्दै आफूलाई चुलो चलाउन नआएको बताइन् । एआईले उनलाई अन/अफ गर्नेदेखि सबै बटनका काम, खाना पकाउँदा र तरकारी तार्दा कति तापक्रम वा पावर राख्ने भनेर चरणबद्ध रूपमा सिकाइदियो । उनले तुरुन्तै सिकिहालिन् । एक दिन अचानक चुलो स्वतः अफ भयो । यसबारे पनि च्याटपीटीलाई नै सोधिन् । त्यसले चुलोको वरिपरि पानी वा फोहोर भए–नभएको हेरेर राम्ररी पुछ्न सल्लाह दियो । एआईको निर्देशनअनुसार सफा गरेपछि इन्डक्सन चुलो मज्जाले बल्न थाल्यो । त्यसयता उनी इन्डक्सनमै खाना पकाइरहेकी छन् ।

‘म पहिले–पहिले मोबाइल पनि त्यति धेरै नचलाउने र एआईबारे जानकारी नै नभएको मान्छे थिएँ,’ बिना भन्छिन्, ‘एआईको तालिम लिएपछि यसलाई मैले दैनिक जीवन र काममा प्रयोग गर्न सिकें । वडाका सूचना तयार पार्न, प्रपोजल लेख्न वा कार्यक्रम सञ्चालनका सूची बनाउन पहिले मलाई साता दिनसम्म ज्वरो आएजस्तो हुन्थ्यो, तर अहिले एआईले ती काम एकदमै सजिलो बनाइदिएको छ । च्याटजीपीटीबाटै सूची बनाउने, भाषा शुद्ध बनाउने, टेबल बनाउनेजस्ता कुरा सजिलै गर्न जानेर अचेल मलाई अफिसको काम सजिलो लाग्छ ।’

बिना सरकारी कार्यालयकी कर्मचारी भएकाले विचार पुर्‍याएर च्याटजीपीटी चलाउँछिन् । वैयक्तिक वा महत्त्वपूर्ण विवरण भएका सूचना यसमा अपलोड नगर्ने उनले बताइन् । बरु, घरायसी र व्यक्तिगत काममा जे कुरा पनि एआईलाई सोध्न थालेको उनले सुनाइन् । ‘मैले २५ वर्षपछि फेरि पढ्न थालेकी छु, यसपालि कक्षा १२ को परीक्षा दिने बेला मलाई पढाइमा पनि एआईले ठूलो मद्दत गर्‍यो,’ तीन महिनादेखि एआई च्याटबट चलाउन थालेकी उनी भन्छिन्, ‘एआईलाई टक्क–टक्क प्रम्प्ट दिन जान्यो भने यसले सही नतिजा दिँदो रहेछ । तर एआईले दिएका नतिजा सधैं सही हुन्छन् भन्ने हुँदैन रहेछ । तिनलाई आफैंले जाँचेर र मिलाएर मात्र प्रयोग गर्नुपर्छ भन्ने कुरा मैले सिकेकी छु ।’

बिनाले ललितपुर महानगरपालिका–२ मा आयोजना गरिएको एआई साक्षरता तालिममा सहभागी भएर एआईबारे बुझेकी हुन् । गत असारमा सञ्चालन भएको ‘फ्रम एक्सेस टु एजेन्सी : एआई लिटरेसी टु रिड्युस इनइक्वालिटिज इन नेपाल’ नामक कार्यक्रममा सहभागी बिनाले त्यसयताका तीन महिनामा एआईबाट के–के गरिन् भन्नेबारे अनुभव सुनाएकी थिइन् । सोही क्रममा च्याटजीपीटीजस्ता एआई टुल प्रयोग गरी इन्डक्सन चुलो चलाउन र मर्मत गर्न जानेको, कक्षा १२ को परीक्षाको तयारी र वडाका प्रशासनिक काममा समेत एआईको मद्दत लिने तरिका थाहा पाएको उनले बताएकी हुन् ।

लन्डन स्कुल अफ इकनोमिक्सको इन्टरनेसनल इनइक्वालिटिज इन्स्टिच्युटअन्तर्गत रहेको ‘एटलान्टिक फेलोसिप फर सोसियल एन्ड इकनोमिक इक्विटी’ को सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । थाइल्यान्डस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का प्रोजेक्ट म्यानेजर टमस भेदारसले नेतृत्व गरेको सो कार्यक्रममा ललितपुर महानगरपालिका–२ ले स्थानीय आयोजकका रूपमा सहकार्य गरेको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, बैंक कर्मचारी, अपांगता भएका व्यक्ति, पत्रकार, पठाओ चालक, विद्यार्थीसहित १९ जना सहभागी थिए । तीमध्ये काठमाडौंका सडकमा पठाओ कुदाउने अञ्जिल रायले पनि फुर्सदका बेला च्याटजीपीटी र जेमिनाई खोल्ने गरेको बताए । फेसबुक र युट्युबमा महादेवका छोटा भिडियो पोस्ट गर्ने उनले च्याटबटलाई स्क्रिप्ट र सिन जेनेरेट गर्न लगाउँछन् । एआईको सहयोगमा तयार पारिएका भिडियोले च्यानलमा राम्रो इन्गेजमेन्ट र सब्स्क्राइबर ल्याउन सघाएको अन्जिलले बताए ।

जेमिनाइ वा च्याटजीपीटीलाई कथाको अवधारणाबारे बताएपछि सो कथामा आधारित भएर स्क्रिप्ट बनाउन निर्देशन दिन्छन् । ‘एआईले कथाअनुसार दृश्यहरूलाई सिन १, सिन २, सिन ३ गर्दै भिडियोका लागि प्रम्प्ट लेखिदिन्छ,’ उनले भने, ‘त्यो प्रम्प्टको आधारमा युट्युब वा भिडियो टुलमा गएर ५ देखि १० सेकेन्डका छोटा–छोटा भिडियो सिर्जना गर्छु । त्यसरी बनेका अलग–अलग क्लिपलाई डाउनलोड गरेर आफैंले जोड्छु । त्यसपछि ३०, ४० वा ५० सेकेन्डसम्मको भिडियो तयार हुन्छ । त्यसलाई आफ्नो च्यानलमा पोस्ट गर्छु ।’ यसबाहेक उनले मोबाइलबाट खिचेका तस्बिरलाई डीएसएलआर क्यामराले खिचेजस्तै उच्च गुणस्तरको बनाउन पनि एआई प्रयोग गर्ने गरेको बताए ।

शारीरिक अपांगता भएका भरत बीसीको अनुभव भने अझ भिन्न र उत्साहजनक छ । उनी एआईलाई सोखका रूपमा नभई विभिन्न संघसंस्थाका लागि प्रस्तावना (प्रपोजल), बैठकका माइन्युट र कार्यक्रमका प्रतिवेदन लेख्न प्रयोग गरिरहेका छन् । ‘पहिले–पहिले लेखपढ, प्रतिवेदन र प्रशासनिक कामका लागि अरूमा निर्भर हुनुपर्थ्यो, अहिले आफ्नो काम आफैं गर्न सक्ने भएको छु,’ ह्विलचेयर बास्केटबल खेलाडीसमेत रहेका एबिलिटी डेभेलप्मेन्ट सोसाइटी अफ नेपालका प्रोजेक्ट म्यानेजर बीसीले भने, ‘एआईको सहयोग लिएर तयार पारेको एउटा प्रपोजल भर्खरै पास भएर अहिले हामी एमओयू गर्ने चरणमा पुगेका छौं ।’ जेमिनाइ, क्लड र च्याटजीपीटीजस्ता टुलले आफ्नो कार्यक्षमता र आत्मविश्वास बढाएको उनले बताए ।

भरतले दाताहरूसँगका बैठक तथा अन्य छलफलका माइन्युट लेख्न एआईले सहयोग गरेका छन् । त्यस्तै, संस्थामा दैनिक हुने कार्यक्रमका रिपोर्ट बनाउन, फिडब्याक माग्न र विभिन्न फर्म्याट तयार पार्न उनी एआई चलाउँछन् । ‘नयाँ विषयमा रिसर्च गर्न, लामो सामग्रीको सारांश बनाउन र ग्रिटिङ कार्डहरू डिजाइन गर्न म क्लड, जेमिनाइ र च्याटजीपीटीजस्ता निःशुल्क उपलब्ध हुने टुल प्रयोग गर्छु,’ उनले भने, ‘सीमित जनशक्ति भएका संस्थाले पनि एआईको सहयोग लिएर समयमै गुणस्तरीय प्रपोजल, माइन्युट र रिपोर्ट तयार पार्न सक्छन् । यसले मेरो कार्यक्षमता र आत्मविश्वास बढाएको छ ।’

प्राइम बैंकमा कार्यरत रश्मि महर्जनले पनि एआईको सहायताले घण्टौं लाग्ने प्राविधिक र प्रशासनिक काम मिनेटमै फत्ते गर्न थालेकी छन् । बैंकका हजारौं विवरण र फाइल भ्यालिडेट गर्न उनले एआईको सहयोगमा आफ्नै ‘पावरसेल स्क्रिप्ट’ तयार पारेकी छन् । पहिले ३ घण्टा लाग्ने काम अहिले १ घण्टामा सकिन्छ । ‘मलाई त कस्तो भइसक्यो भने जे समस्या आए पनि एआई नै चाहिन्छ,’ उनी भन्छिन्, ‘बरु सहकर्मी नभए हुन्छ, एआई त चाहिन्छ । तर, एआईलाई अन्धाधुन्ध प्रयोग गर्न मिल्दैन भन्ने थाहा छ । राम्रो प्रम्प्ट दिन जान्यो भने मात्रै यसले उचित रिजल्ट दिन्छ ।’

सहभागीहरूले एआईको सकारात्मक प्रयोगसँगै यसका सीमा, भ्रम र जोखिमबारे पनि उत्तिकै ध्यान दिएका छन् । यही व्यावहारिक अनुभव र सिकाइ आदानप्रदानका लागि ललितपुरको सांग्रिला ब्लु होटलमा गत साता समापन समारोह आयोजना गरिएको थियो । सहभागीका अनुभव र प्रतिक्रिया सुनेपछि टमसले विकास बजेटहरू ठूला कार्यक्रममा मात्र उपयोग नगरी आम मानिसको दैनिक जीवनमा प्रभाव पार्ने उद्देश्यले एआई साक्षरता कार्यक्रम सञ्चालन गरेको बताए ।

‘इतिहास हेर्दा कतिपय काम धनी मान्छेले मात्रै गर्न सक्ने खालका हुन्थे, तर एआईले सबैका लागि समान अवसर सिर्जना गरिदिएको छ,’ उनी भन्छन्, ‘सुरुमा गलत सूचना वा गलत सल्लाहका कारण मानिसलाई हानी पुग्ला कि भन्ने डर लागेको थियो । तर, स्थानीय सहजकर्ताले प्रविधिलाई सावधानीपूर्वक चलाउन सिकाएपछि सहभागीहरूमा सकारात्मक परिवर्तन देखेको छु ।’

वेब डिजाइन र आईटी पढेकी सोनी थापाले भने तालिममा सिकाइएका अधिकांश कुरा आधारभूत किसिमका भएकाले थप परिष्कृत कोर्समा सहभागी हुने इच्छा व्यक्त गरिन् । ‘धेरैजसो कुरा पहिल्यै थाहा थियो, अलि एडभान्स लेभलको ट्रेनिङ भएको भए अझ नयाँ कुरा सिक्न पाइन्थ्यो,’ उनले भनिन् । सहभागीहरूलाई युनाइटेड नेसन्स भोलन्टियर्सका स्वयंसेवक, निकेश बलामी, जयराज कुमार रोय दनुवार र नसला जोशीले प्रविधिको सही, सुरक्षित र प्रभावकारी प्रयोगबारे तालिम र मेन्टरसिप प्रदान गरेका थिए ।

सहभागीहरूले आ–आफ्नो आवश्यकताअनुसार एआई टुलको प्रयोग र अभ्यासलाई निरन्तरता दिएको देख्दा टमस भने अचम्मित थिए । तालिमभन्दा पनि ‘काम गर्दै सिक्ने’ शैलीले सहभागीमा आत्मविश्वास बढाएको उनको बुझाइ छ । नेपाल सरकारले प्रविधिलाई प्राथमिकता दिइरहेका बेला सानै स्तरमा भए पनि यस्ता साक्षरता अभियानलाई व्यापक रूपमा विस्तार गर्नुपर्ने उनी ठान्छन् । ‘हामीले सानो त बिउ मात्र रोपेका हौं, प्रविधिको सही र जिम्मेवार प्रयोगले भविष्यमा नागरिक र समुदायको क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउनेछ,’ टमसको निष्कर्ष छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3m ago
नेपालमा एआई र उद्योग ४.०

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …

#एआई
Compare →
Hamro Patro News
23h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो । कार्तिक २...

#एआई
Compare →
Bizshala
2d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#एआई
Compare →
Nagarik News
6d ago
प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

#एआई
Compare →

Related Stories

Business & Economy
Build #2612