चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।
काठमाडौँ — चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु र दर्जनौँ घाइते भएपछि परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भूकम्पका कारण सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको जनाएको छ ।
‘यस दुःखद विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारसहित जनवादी गणतन्त्र चीनको सरकार र जनताप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति पनि व्यक्त गरेको छ ।
‘यस कठिन समयमा नेपाल चीनसँगै उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै, प्रभावित परिवार र समुदायको उद्धार, पुनःस्थापना तथा पुनर्लाभका लागि शीघ्र पहल हुने विश्वास पनि व्यक्त गरिएको छ ।
तिब्बतमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस घरबारविहीन भएका छन् ।