Trending
Prev Story
Next Story

पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने । मान्छे आफूलाई सज्जन, भलाद्मी, …

पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?

कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने ।

मान्छे आफूलाई सज्जन, भलाद्मी, धर्मात्मा, महान् देखाउने चेष्टामा हुन्छ । र, अर्कोतिर आफ्नो सक्कली अनुहार लुकाउने यत्नमा हुन्छ । यही विरोधाभासमा मान्छेहरू बाँचिरहेका हुन्छन् ।

तपाईंले फिल्म ‘पशुपतिप्रसाद’ हेर्नुभयो नि ? यो प्रसङ्ग सोही फिल्मको हो । फिल्मको भन्दा पनि पात्रको । त्यहाँ एउटा गजब पात्र निर्माण गरिएको छ, हनुमानजी ।

हनुमानजीको भूमिकामा को छन्  ? मान्छेले फिल्मको सुरुदेखि अन्त्यसम्म थाहा पाउँदैनन् । किनभने सो पात्रले आफ्नो मुखुण्डो नै खोल्दैन । उनको बोलीचालीले भने धेरै कुरा भन्छ। ऊ कुन मनोदशाबाट गुज्रिरहेको छ ?

यो पात्रलाई जीवन्तता दिएका छन्, रविन्द्र सिंह बानियाँले ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्मबाट खलपात्रको रूपमा विपिन कार्की सर्वत्र चिनिए। फिल्मी यात्रामा फड्को मार्नका लागि विपिनलाई त्यही पात्रले सहयोग गर्‍यो। फिल्ममा उनी भष्मे डनको रूपमा छन् ।

फिल्मको मूल कथालाई पशुपति (खगेन्द्र लामिछाने)ले डोहोर्‍याएका छन् । उनी आफ्नो थातथलो छाडेर पशुपति आर्यघाटमा बरालिन आइपुगेका हुन्छन् । त्यहाँ आउनुको पछाडि उनको आफ्नै दुःखको महाभारत छ । तर, मान्छे दुःखबाट भागेर कहाँ जान सक्छ ?

उसलाई त्यहाँ दुःख दिन आइपुग्छन्, भष्मे डन। अर्थात्, विपिन कार्की। यी दुई पात्रको नोकझोँकसँगै कथा अगाडि बढ्छ । फिल्म ‘पशुपतिप्रसाद’मा मूलतः यही दुई पात्रलाई केन्द्रमा राखिएको छ । तर, यसको कुनामा लुकेको अर्को पात्र हुन्, हनुमानजी ।

हनुमानजीको चरित्र निर्माण निकै रोचक छ । यो पात्र पशुपति आसपासमा हनुमानजीको भेषमा डुलिहिँड्ने गर्छन् । उनले हनुमानको मुकुट लगाएका छन्, पुच्छर लगाएका छन्। लुगाफाटो पनि हनुमानजीको जस्तै छ । हातमा गदा बोकेर भक्तजनहरूका अघिल्तिर ‘जय हनुमानजी’ भन्दै पुग्छन् । त्यसरी पुग्नुको एउटै उद्देश्य हुन्छ, भेटी ।

अर्थात्, उनी हनुमानजीको भेषमा बसेर भेटी सङ्कलन गर्छन् । भक्तजनका लागि त्यो ‘भेटी’ हो। हनुमानजीका लागि ‘बाँच्ने मेलो’। उनी यसलाई ‘मालपानी’ भन्छन् ।

हनुमानजीलाई आवरणमा देख्नेहरूले श्रद्धा गर्छन् । उनीहरूले पौराणिक पात्र हनुमानको रूपमा पूज्छन् । धर्म कमाउन भनी पशुपति परिसरमा पुग्नेहरू हनुमानजीलाई देखेर भक्तिभावले ओतप्रोत पनि हुन्छन्। ढोग्नै खोज्छन् ।

तर, त्यही हनुमानजीको आवरणभित्र लुकेको मान्छे भने अर्कै छ ।

ऊ तामसिक छ। तनावमा छ। उसको आफ्नै दशा छ । मौका मिल्नासाथ ऊ खुसुक्क फ्रुटी खान्छ । पत्रिका हेर्छ । पत्रिकामा उसको आफ्नै खबर छापिएला कि भन्ने डर छ । उसको तीनपुस्ते बैंकको कालोसूचीमा चढिसकेको जस्तो लाग्छ । सबै कुरा त खुल्दैन । तर, ऊ सद्धे र सज्जन मान्छे होइन । उसको जीवन सहीसलामत छैन ।

त्यही कारण ऊ समाजलाई आफ्नो असली अनुहार लुकाएर बाँच्न बाध्य छ । असली अनुहार त लुकाउन सकिएला । तर, अर्को बाध्यता पनि छ-भोक । त्यो कसरी मेट्ने ?

यसैका लागि ऊ हनुमान बन्न पुग्छ । पशुपतिमा आउने भक्तजनहरूले श्रद्धाले दिने भेटीले उसको भोक मेट्नुपर्छ ।

हनुमानजीले त्यही आफ्नो कर्मथलो बनाएका छन्, जहाँ दिनहुँ लास जलाइन्छ। त्यहाँ देखिने नियमित दृश्य हो, दनदनी बलिरहेको चिता। एउटा सग्लो मान्छे क्षणभरमै कसरी खरानी हुन्छ? कसरी धुवाँ हुन्छ ? उसले नहेरे पनि देखिरहन्छ।

हिजो बाँचुञ्जेल त्यो मान्छेको फुर्ती कस्तो थियो होला ? के–के गरे होलान्  ? कति घरघडेरी जोडे होलान्  ? पैसाका लागि कति कुस्ती खेले होलान् ? सम्बन्धका लागि कति लफडा गरे होलान् ? तर, त्यो कतिदिन रहने रहेछ ?

आखिर शरीरबाट सास उम्केर गएपछि उसको धन, दौलत, मानप्रतिष्ठा केही बाँकी नरहने रहेछ । मान्छे त खरानी रहेछ ।

बेलाबखत आदर्शको गफ हाँक्ने हनुमानजीलाई यी कुराहरूको तत्त्वबोध पक्कै नभएको होइन होला । तैपनि उनी फेरि सांसारिक जीवनबाट छुट्न सक्दैनन् । फ्रुटीको रसले उनलाई तानिहाल्छ, पत्रिकामा आउने बैंकको सूचनाले भयभीत बनाइहाल्छ।

फिल्म ‘पशुपतिप्रसाद’मा यो पात्रलाई बढाइचढाइ देखाइएको छैन । ऊ बेलाबखत पशुपतिलाई सहयोग गर्न प्रकट हुन्छ । त्यो पनि भष्मे डनको दादागिरीबाट बचाउन । भष्मे डन ऊसँग औधी डराउँछ । तर, किन ?

फिल्ममा स्पष्ट खुलाइएको छैन । तर, के हुन सक्छ भने उसले त्यहाँ रहँदा–बस्दा भष्मे डनका थुप्रै कमी–कमजोरी फेला पारिसकेको छ । भष्मे डनको बदमासी उसले थाहा पाइसकेको छ। यसरी कसैको कमजोरीको साक्षी भइसकेपछि फेरि उसको तागत स्वतः बढ्छ । पोल खुल्ने भयले ।

आफ्ना तमाम पोल खुल्छन् भनेरै भष्मे डन हनुमानजीको अगाडि लाचार हुन पुग्छ । बिचरा भष्मेलाई थाहा छैन, हनुमानजीको मुकुण्डो खोलियो भने त्यहाँभित्र कसको पोल खुल्छ ?

दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले यो चरित्र कसरी निर्माण गरे ? थाहा छैन । तर, यो पात्रले वास्तवमै ठूलो अर्थ बोकेको छ ।

सांसारिक जीवनमा फस्दै गएपछि मान्छेहरू लोभ, डर, घृणा, आसक्तिले पथभ्रष्ट हुँदै जान्छन् । यो क्रमले एक दिन त्यही ठाउँमा पुर्‍याउँछ, जहाँ उनीहरू आफ्नो अनुहार देखाएर बाँच्न सक्ने स्थितिमा हुँदैनन् । अनि नक्कली अनुहार धारण गर्नुपर्ने हुन्छ । खासगरी नेपाली राजनीतिमा यस्ता अनुहार छ्यापछ्याप्ती छन्।  सोच्नुहोस् त, मुखले एउटा भन्ने, व्यवहारले अर्को गर्ने कुन–कुन नेताको अनुहार देख्नुभयो ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौंको १५औं अधिवेशनबाट बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भनी ...

#तपाईं
Compare →

Related Stories

National (Nepal)
Build #2611