‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ टोरन्टो २०२६ मा मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ र निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को उपाधि जितेकी छन्।
काठमाडौँ — सिक्किमको जनजीवन र पृष्ठभूमिमा बनेको नेपालीभाषी फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा आफ्नो उत्कृष्ट यात्रा जारी राखेको छ। क्यानडामा सम्पन्न प्रतिष्ठित ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ टोरन्टो २०२६ मा फिल्मले दुई मुख्य विधामा शीर्ष पुरस्कार जित्न सफल भएको छ।
अक्टोबर ८ देखि १८ सम्म सञ्चालन भएको उक्त महोत्सवमा फिल्मकी मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड हात पारेकी छन् भने निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को उपाधि जितेकी छन्।
पारिवारिक दायित्व र व्यक्तिगत स्वतन्त्रताको खोजीमा जेलिएकी एक महिलाको भूमिकामा गौमायाले दिएको स्वाभाविक र सूक्ष्म अभिनयको महोत्सवमा उच्च प्रशंसा गरिएको छ। पात्रको आन्तरिक संघर्ष, मौनता र भावभङ्गीलाई जीवन्त रूपमा प्रस्तुत गर्दै उनले यो सफलता हासिल गरेकी हुन्।
यसअघि गौमायाले २२ औँ ‘थर्ड आई एसियन फिल्म फेस्टिभल’मा समेत ‘बेस्ट एक्ट्रेस’ तर्फ ‘स्पेसल्ली जुरी मेन्सन’ अवार्ड प्राप्त गरेकी थिइन्।
लन्डनमा प्रदर्शन र बाढीपीडितलाई सहयोग
यो फिल्म अक्टोबर ३० साँझ ६ बजे लन्डनस्थित सोआस युनिभर्सिटीमा प्रदर्शन हुने भएको छ । खुला आकाश मिडिया, हाम्रो डबली र द क्रिटिकल हिमालयन कलेक्टिभको संयुक्त आयोजनामा हुन लागेको उक्त विशेष शोपछि दर्शकहरूसँग अभिनेत्री गौमाया र पशुपति राईले अन्तरक्रिया गर्नेछन्।
फिल्म प्रदर्शनबाट संकलन हुने टिकटको निश्चित रकम नेपालका बाढीपीडित परिवारहरूको सहयोगार्थ पठाइने आयोजकले जनाएका छन्। सर्वसाधारणका लागि २० पाउन्ड र विद्यार्थीहरूका लागि १५ पाउन्ड टिकट दर तोकिएको छ।
यसअघि फिल्मले बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (२०२५) मा ‘सङवोन भिजन अवार्ड’ र ‘ताइपेई फिल्म कमिसन अवार्ड’, कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (२०२५) मा ‘गोल्डेन रोयल बङ्गाल टाइगर अवार्ड’, रसियाको स्पिरिट अफ फायर फेस्टिभल (२०२६) मा ‘सिल्भर टाइगा अवार्ड’, लस एन्जलसको इन्डियन फिल्म फेस्टिभल (२०२६) मा ‘ग्र्यान्ड जुरी प्राइज’ तथा इन्डी मीम फिल्म फेस्टिभल (२०२६) मा जुरी र अडियन्स दुवै अवार्ड जितिसकेको छ ।
फिल्मले सिक्किमका पहाडी छोरीको दृष्टिकोणबाट समाज र परिवारका परम्परागत मान्यताहरूलाई केलाएको छ। दिल्लीको जागिर छोडेर घर फर्किएकी मुख्य पात्र ‘विष्णु’ले सामना गर्ने पारिवारिक अपेक्षा, पहिचानको खोजी र छोरा-छोरीबीचको सामाजिक विभेदको विषयलाई फिल्ममा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
फिल्मको कार्यकारी निर्माताहरूमा नामी फिल्ममेकरहरू माइक गुड्रिज, जोया अख्तर, रीमा कागती र पायल कपाडिया रहेका छन् ।