पहिलो बलमै ओपनर गुमाए पनि विपिन रावलको ६० रनले कर्णालीलाई सुदूरपश्चिमविरुद्ध सहज जिततर्फ डोर्याएको हो।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा विपिन रावलले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६० रन बनाए । उनले महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए ।
ओपनर दिनेश रावत पहिलो बलमै आउट भएपछि दबाबमा परेको कर्णालीलाई विपिनले सम्हालेका थिए । दिनेश अधिकारीले १५ तथा मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका अभिषेक पालले २८ र दीपक बोहराले १८ रन बनाए । सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई विकेट लिए । प्रतियोगिताका अन्य विधामा अपेक्षित नतिजा निकाल्न नसकेको कर्णालीका लागि पुरुष क्रिकेटको पहिलो जितले घरेलु मैदानमा उत्साह थपेको छ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।