Trending
Prev Story
Next Story

इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
0
0 reads 0 reactions

१० मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् । सेवाको गुणस्तरमा कुनै …

इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं

१० मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् ।

सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर सुधार्न सेवा प्रदायक र नियामक दुवै उत्तिकै जवाफदेही हुनुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले क्षेत्र सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सहजीकरण गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

‘अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ,’ सेवा प्रदायकहरूसँगको छलफलमा मन्त्री तिमिल्सिनाले भने, ‘तपाईंले सही गरेकोमा सजाय भयो भने म प्रत्येकको साथमा उभिन्छु । तर गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् ।’

एआईको विकाससँगै विश्व प्रविधि क्षेत्र फाइभ–जीबाट सिक्स–जीको बहसमा पुगिसक्दा पनि नेपालमा ‘फोन लाग्दैन’ र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई नभएको उनले स्पष्ट पारे ।

आजको अवस्था निर्माण हुनुमा कोही एकल जिम्मेवार नभए पनि सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले नियम पालना भए–नभएको आत्मसमीक्षा गर्न र कमजोरी भए तत्काल सच्याउन निर्देशन दिए ।

सेवा प्रदायकहरूलाई सरकारसँग सम्पर्कमा रहन आग्रह गर्दै उनले ‘म्यानेज’ गर्ने पुरानो प्रवृत्ति अब नचल्ने चेतावनी दिए । ‘राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, म्यानेज गर्नका लागि होइन,’ उनले भने, ‘म फेरि भन्छु- त्यो युग समाप्त भइसक्यो ।’

आफूले संसद्मा समेत यो वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको स्मरण गराउँदै मन्त्री तिमिल्सिनाले यो क्षेत्र स्वच्छ हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार वा मन्त्रीको कुनै गलत नियत र अनुचित अपेक्षा नरहेको दाबी गर्दै उनले वैधानिक रूपमा सरकारले गर्नुपर्ने सहयोगका लागि जहिले पनि ढोका खुला रहेको बताए । यति हुँदाहुँदै पनि सेवा प्रदायकहरू सक्रिय नभए त्यो उनीहरूकै लागि गुमेको अवसर हुने उनको भनाइ छ ।

‘सरकारको नियत कुनै सेवा प्रदायकलाई जरिवाना गर्नु वा जेल हाल्नु होइन, सरकारले चाहेको सेवाको गुणस्तर हो,’ उनले भने, ‘तपाईंहरू सही विकल्प दिनुस्, त्यसमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।’

सेवा प्रदायकका धारणा नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीरतापूर्वक टिप्ने र त्यसको ब्रिफिङ आफूले पनि लिने बताउँदै उनले नियम पालना गरी सही काम गर्नेहरूप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पारे । तर गलत खेल खेलिरहेकाहरूले त्यसैलाई निरन्तरता दिने सोचे गलत बाटोमा पुग्ने उनको चेतावनी थियो ।

नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगरी ‘सही काम गरेरै पैसा कमाउन सकिन्छ’ भन्ने उदाहरण दूरसञ्चार क्षेत्रबाट स्थापित गर्न उनले आह्वान गरे ।

के भनेका थिए मन्त्री तिमिल्सिनाले ?

एआईले प्रविधिलाई कहाँ पुर्‍याइसक्यो, फाइभ–जीबाट सिक्स–जीका कुरा सुरु भइसके । यस्तो बेला ‘फोन लाग्दैन’ भनेर बस्नुपर्ने र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई पनि छैन ।

आजको यो अवस्था निर्माणका लागि कोही पनि एकल जिम्मेवार छैन, तर हामी सबैको सामूहिक जिम्मेवारी छ । आफैँलाई हेर्नुहोस्, तपाईंहरूले के गरिरहनुभएको छ समीक्षा गर्नुहोस्, तपाईंहरूबाट के अपेक्षा गरिएको छ सोच्नुहोस् र नियम पालना गरिरहनुभएको छ कि छैन गम्भीरतापूर्वक विचार गर्नुहोस् । यदि पालना भएको छैन भने आफैँलाई सच्याउनुहोस् ।

आज तपाईंहरूको छलफल होस्, आफ्ना धारणा राख्नुहोस् । मैले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको छु- उहाँहरूले तपाईंहरूका कुरा गम्भीरतापूर्वक टिप्नुहुन्छ र त्यसको ब्रिफिङ मैले पनि लिउँला । सम्पर्कमा रहनुहोस्, तर राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, ‘म्यानेज’ गर्नका लागि होइन । म फेरि दोहोर्‍याउँछु- मैले पहिले नै भनिसकेको छु कि त्यो युग समाप्त भइसक्यो । अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ ।

तपाईंले सही काम गर्दा तपाईंलाई सजाय भयो भने म तपाईंहरू प्रत्येकको साथमा उभिन्छु । तर तपाईंहरूले गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् । त्यही हिसाबले मैले पटक–पटक संसद्मा यो वर्ष दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्ष (ट्रान्सफर्मेसन इयर) हुनुपर्छ भनेर घोषणा गरेको छु । टेलिकम क्षेत्र सफा हुनुपर्छ ।

मलाई भन्नुस्— कुन सरकारले आएर ‘यो सरकार वा मन्त्री कसैको पनि कुनै गलत नियत र अनुचित अपेक्षा छैन, तपाईंहरू राम्रो गर्नुस्, यो क्षेत्रलाई उचाल्नुस्’ भनेर तपाईंहरूलाई भनेको थियो र यसरी सहयोग कसले गरेको थियो ? यति गर्दा पनि तपाईंहरू सक्रिय भएर आउनुभएन भने यो तपाईंका लागि गुमेको अवसर हुनेछ र त्यसो गर्ने अधिकार तपाईंलाई छैन ।

आफैँ सोच्नुहोस्, छलफल गर्नुहोस्, कम्पनीभित्र आन्तरिक छलफल गर्नुहोस्, समय लिनुहोस् । सरकारले वैधानिक रूपमा के सहयोग गर्नुपर्छ- भोलि आउनुस्, पर्सि आउनुस्, निकोपर्सि आउनुस् । तर यो वा त्यो बहानामा अब हामीलाई गुणस्तरमा सम्झौता स्वीकार्य छैन ।

यो मैले बोलेको तपाईंको जति जिम्मेवारी छ, त्यतिमा मात्रै हो । तपाईंले कुनै आकाश ढाकेर बस्नुभएको छैन । जसको जे काम हो, त्यसमा त्यति गुणस्तर कायम भएको छ कि छैन ? यदि तपाईं नियम पालना गरिरहनुभएको छ, सही गरिरहनुभएको छ र जति गर्नुपर्ने हो त्यति गरिरहनुभएको छ भने धेरै धन्यवाद— यो मेरो गुनासो र असन्तुष्टि तपाईंप्रति होइन । तर, जसले साँच्चै यो क्षेत्रमा गलत खेल खेलिरहेको छ र गलत गरिरहेको छ, यो असन्तुष्टि त्यसको विरुद्धमा हो ।

जे भइसक्यो, भइसक्यो । यदि त्यसैलाई निरन्तरता दिने सोच राख्नुहुन्छ भने तपाईं गलत बाटोमा हुनुहुन्छ र कतै पुग्नुहुने छैन- कृपया यो कुरा मनमा राख्नुहोस् ।

म आशा गर्छु आजको छलफलबाट तपाईंहरूले राम्रो निष्कर्ष र एउटा दिशा निकाल्नुहुनेछ । एकअर्कालाई सहयोग गर्नुहोस् । फेरि एकपटक भन्छु— सरकारको प्रतिनिधिको हैसियतले मेरो नियत तपाईंहरूलाई सजाय दिनु होइन । कुनै पनि सेवा प्रदायकलाई सजाय गर्नु, जरिवाना गर्नु वा जेल हाल्नु सरकारले चाहेको होइन । सरकारले चाहेको त सेवाको गुणस्तर (क्वालिटी अफ सर्भिस) हो । तपाईंहरू विकल्प दिनुस् न ! तपाईंले दिएको सही विकल्पमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।

मेरो भनाइ यति हो- रचनात्मक रूपमा संलग्न हुनुहोस्, समाधान खोज्ने प्रयास गर्नुहोस् र एकअर्काबाट सकारात्मक सहयोग लिनुहोस् । नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगर्नुहोस् । एकअर्कालाई कसरी सहयोग गर्ने र स्वच्छ दूरसञ्चार उद्योग निर्माणमा कसरी योगदान पुर्‍याउने भन्नेमा केन्द्रित हुनुहोस् । यो एउटा उदाहरणीय क्षेत्र हो- सही काम गरेरै पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा कृपया स्थापित गरिदिनुहोस् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
19h ago
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन्

#सञ्चारमन्त्री #तिमिल्सिना #दूरसञ्चार
Compare →
Hamro Patro News
5d ago
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मा...

#सञ्चारमन्त्री #तिमिल्सिना
Compare →
Nagarik News
21h ago
प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल

स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो।

#सञ्चारमन्त्री #तिमिल्सिना
Compare →
Bizshala
1w ago
बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने तथा अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा...

#दूरसञ्चार #इन्टरनेट #प्रदायक
Compare →

Related Stories

World News
Build #2639