नेपाल–भारत सम्बन्धमा डिपार्चर भनेको भारतसँग अविश्वास र राजनीतिक उत्तेजनाको चक्रबाट निस्किएर समान र साझा भविष्यको बाटो खोज्नु हो ।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका क्रममा कालो पहिरनमा जब नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधि स्थलमा पुगे, कतिपयले त्यहाँ सेतो वस्त्र उपयुक्त हुन्थ्यो भन्ने टिप्पणी गरे । तर समाधिस्थलको आगन्तुक पुस्तिकामा उनले लेखेको सन्देश अर्थपूर्ण थियो । उनले लेखेका चार अनुच्छेदमध्ये एउटा शब्दावली थियो– ‘करुणा नै सर्वोच्च शक्ति ।’ मानिसले कस्तो पहिरन लगाएर आयो भन्ने कुरा केही समयपछि बिर्सिइन्छ, तर उसले कुन भाव बोकेर आयो भन्ने कुरा सम्झनामा रहन सक्छ । राष्ट्रिय राजनीतिमा कतिपय अवस्थामा कठोर प्रतिक्रिया र उत्तेजनात्मक अभिव्यक्तिका लागि चिनिएका वालेन्द्रले दिल्लीमा शान्ति, करुणा र सत्यको पक्षमा आफूलाई प्रस्तुत गरे ।
नेपाल–भारत सम्बन्धलाई अब केवल दुई सरकारबीचको सम्बन्धका रूपमा बुझेर पुग्दैन । यसलाई नागरिकको जीवनसँग जोड्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धको भाषामा यसलाई ‘कूटनीतिको लोकतन्त्रीकरण’ भन्न सकिन्छ । यसको अर्थ, कूटनीतिक निर्णय सार्वजनिक हितप्रति जवाफदेही हुनुपर्छ । दिल्ली र काठमाडौंमा हुने सहमतिले सीमाञ्चल जीवनमा के परिवर्तन ल्याउँछ भन्ने पनि कूटनीतिक बहसको हिस्सा बन्नुपर्छ । दुई देशका नेताबीचको मित्रता व्यक्तिगत समझदारीमा मात्र होइन, नागरिकको विश्वास र संस्थागत सहभागिताबाट टिक्नुपर्छ ।
नयाँ पुस्ताले कूटनीतिलाई प्रधानमन्त्रीको भ्रमण, संयुक्त वक्तव्य र राजकीय भोजका रूपमा मात्र बुझ्न चाहँदैन । भारतसँगको सम्बन्धले जीविका र रोजगारीमा के परिवर्तन ल्याउँछ ? पढाइ र अनुसन्धानका नयाँ अवसर खुल्छन् कि खुल्दैनन् ? नेपाली उद्यमीले भारतीय बजारमा प्रतिस्पर्धा गर्न पाउँछन् ? सीमापारि आवागमन डिजिटल र सहज हुन्छ ? नेपालले आफ्नो राष्ट्रिय हित सुरक्षित राख्दै छिमेकीसँग सम्मानजनक सम्बन्ध कायम गर्न सक्छ ? यी प्रश्नको उत्तर दिन सक्ने कूटनीति नै नयाँ पुस्ताका लागि अर्थपूर्ण कूटनीति हो ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले संयुक्त प्रतिवेदनलाई आठ वर्षअघि अन्तिम रूप दिएको थियो । यो प्रतिवेदन नेपालको एउटा राजनीतिक वृत्तका लागि यस्तो पुरानो तास बनेको छ, जसलाई खेल्न कोही तैयार छैन तर खल्तीबाट निकालेर देखाउन सबैलाई मन लाग्छ । कसैका लागि त्यो राजनीतिक तुरूप हो, कसैका लागि सञ्चारमाध्यममा विद्वत्ता प्रदर्शन गर्ने माध्यम त कसैका लागि भारत विरोधको नियमित औजार । प्रतिवेदनमा सीमाञ्चलका मानिस कहाँ छन्, उनीहरूको जीवन, आवागमन, रोजगारी र सरोकार कहाँ छन् भन्ने प्रश्न उठाउँदा भने सबैको मुखमा ताल्चा लाग्छ । समावेशिताका कुरा गर्नेहरू नै सीमाञ्चललाई बाहिर राखिएको दस्ताबेजको पक्षमा उभिनु कस्तो विडम्बना †
ईपीजी प्रतिवेदनलाई प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमणले कम्तीमा तत्कालीन राजनीतिक बहसको केन्द्रबाट ओझेलमा पारिदिएको छ । समयले कतिपय दस्ताबेजलाई इतिहास बनाउँछ, कतिपयलाई संग्रहालयमा राख्छ र कतिपयलाई रद्दीको टोकरीमा पुर्याउँछ । तर हामीकहाँ रद्दी कागजबाट पनि नयाँ राजनीति चलाउने कला अद्भूत छ । प्रतिवेदनको म्याद सकियो कि सकिएन भन्नेभन्दा ठूलो प्रश्न त यो हो, के हाम्रो राजनीतिक चेतनाको म्याद पनि त्यही प्रतिवेदनसँगै सकिएको हो ? यसले एउटा यथार्थ स्थापित गरेको छ । ईपीजी प्रतिवेदनलाई अब राजनीतिक तुरूपका रूपमा प्रयोग गरेर सम्बन्ध अघि बढाउन सकिने अवस्था छैन । यसलाई इतिहासको एउटा अधुरो अध्यायका रूपमा स्वीकार गर्दै सीमा, सन्धि र सुरक्षा व्यवस्थाका सवालमा नयाँ संस्थागत बाटो खोज्नुपर्छ ।
काठमाडौं र दिल्लीबीचको सम्बन्धको चर्चा हुँदा सीमाञ्चललाई सम्झिइन्छ, तर उनीहरूकै जीवनसँग जोडिएका मुद्दा कूटनीतिक प्राथमिकतामा स्थायी ठाउँ पाउँदैनन् । सीमाका नागरिक दुई देशको सम्बन्धका स्थायी साझेदार हुन् कि कूटनीतिक रेल गुजार्नुअघिका अस्थायी सिग्नल मात्र ? सामाजिक सञ्जालमा व्यक्त गरिएको राष्ट्रवाद र कूटनीतिक टेबलमा प्रस्तुत गरिने राष्ट्रिय हित एउटै कुरा हुन् ? के वालेन्द्रले भारतसँगको सम्बन्धलाई भावनात्मक प्रतिक्रियाबाट व्यावहारिक राष्ट्रिय हिततर्फ लैजान सक्छन् ? राम–जानकीको सम्बन्ध आधुनिक नेपाल–भारत सम्बन्धमा कसरी अनुवाद हुन्छ ? धार्मिक आस्थालाई जनताको आवागमन, आर्थिक अवसर र सांस्कृतिक आदानप्रदानसँग कसरी जोड्ने ? सांस्कृतिक निकटता राजनीतिक विश्वासमा रूपान्तरण हुन सक्छ ? आफ्नो देशमा विमानस्थल बनाएर पनि अन्तर्राष्ट्रिय उडानका लागि छिमेकीको आकाशमा निर्भर रहनुपर्ने अवस्थाले हाम्रो विकासको कस्तो चित्र प्रस्तुत गर्छ ? यी प्रश्नको आलोकमा नेपालको नयाँ राजनीतिक नेतृत्व ‘दिल्ली–दर्शन’ गरेर फर्किएको छ । यसबाट नेपालको बदलिँदो राजनीतिक मनोविज्ञान र भारतसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयासको अवसर स्थापित भयो ।
नेपालको नयाँ राजनीतिक नेतृत्वले आफ्नो पहिलो राजकीय विदेश भ्रमणका लागि भारतलाई रोज्यो । यस निर्णयको आफ्नै राजनीतिक अर्थ छ । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । भारतसँगको जनसम्बन्धको तुलना अरूसँग हुन सक्दैन । इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र र जनस्तरको सम्बन्धले यी दुई देशलाई लामो समयदेखि जोड्दै आएको छ । तर निकटता सधैं सहजताको पर्याय हुँदैन । निकट छिमेकीबीच अपेक्षा पनि बढी हुन्छन्, असमझदारी पनि गहिरा हुन्छन् र विश्वासको परीक्षा पनि बारम्बार भइरहन्छ । अहिलेसम्म रहस्यको घेरामा रहेका वालेन्द्रलाई यस पटक दिल्लीले नजिकबाट नियाल्ने र तौलिने मौका पायो ।
नेपालको घरेलु राजनीतिमा वालेन्द्रको बलियो हैसियत भएकाले भारतीय समकक्षीले उनलाई प्रशंसाका शब्दले स्वागत गरे । वालेन्द्रका रणनीतिकारहरू दिल्ली भ्रमणका क्रममा उनका हाउभाउ र सार्वजनिक अभिव्यक्तिलाई नेपालभित्र थप राजनीतिक शक्ति सञ्चय गर्ने अवसरका रूपमा उपयोग गर्न आतुर देखिए । छिमेकी मुलुकसँगको कूटनीतिलाई आन्तरिक राजनीतिक शक्ति सञ्चयको माध्यम बनाउने प्रवृत्ति आधुनिक लोकतान्त्रिक राजनीतिमा निकै रोचक र जटिल विषय हो । तर कूटनीतिक भ्रमणको मूल्यांकन हस्ताक्षर गरिएका कागजपत्रको संख्याबाट मात्र गर्न मिल्दैन । सम्झौता र कार्यान्वयनबीचको दूरी घटाउन सकिन्छ कि सकिँदैन भन्ने महत्त्वपूर्ण हुन्छ । नेपाल–भारत सम्बन्धको इतिहासमा प्रतिबद्धताको कमीभन्दा कार्यान्वयनको कमजोरी बढी देखिन्छ ।
सीमामा उभिएको मानिसलाई कूटनीतिको सफलता बुझाउन धेरै कठिन छैन । भन्सारमा अनावश्यक झन्झट घट्यो भने उसले सफलता महसुस गर्छ । सामान ओसारपसार सहज भयो भने उसले सम्बन्ध राम्रो भएको ठान्छ । बिरामीले उपचारका लागि सीमामा आवतजावत गर्न सहज भयो भने छिमेकीको मित्रता अनुभव गर्छ । सीमामा सुरक्षाका नाममा अनावश्यक अपमान भोग्नुपरेन भने उसले सम्मान पाएको अनुभूति गर्छ । हामीले कूटनीतिको मूल्यांकन गर्दा यस्ता सामान्य नागरिकलाई केन्द्रमा राखेका छौं कि छैनौं ? यही प्रश्नले सरकारी उपलब्धिको वास्तविक अर्थ खोल्छ । नेपाल–भारत सम्बन्धमा सीमाञ्चल विमर्श ‘आउटर सिग्नल’ जस्तो छ । रेल आउने बेला मात्रै सिग्नलको महत्त्व हुने र रेल गइसकेपछि त्यसको उपयोगिता सकिएझैं सीमाका नागरिकका सरोकार पनि उच्चस्तरीय कूटनीतिक भेटघाट सकिएपछि ओझेलमा पर्छन् । काठमाडौं र दिल्लीबीचको सम्बन्धको चर्चा हुँदा सीमाञ्चललाई सम्झिइन्छ, तर उनीहरूकै जीवनसँग जोडिएका मुद्दा कूटनीतिक प्राथमिकतामा स्थायी ठाउँ पाउँदैनन् । सीमाका नागरिक दुई देशको सम्बन्धका स्थायी साझेदार हुन् कि कूटनीतिक रेल गुजार्नुअघिका अस्थायी सिग्नल मात्र ? यो प्रश्न अब टार्न मिल्दैन ।
प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा आएको ‘डिपार्चर’ अर्थात् राजनीतिका पुराना भाष्य, आग्रह र कूटनीतिक प्रतिक्रियाबाट नयाँ भविष्यतर्फको प्रस्थानका रूपमा व्याख्या गर्न सकिन्छ । यो नेपाल–भारत सम्बन्धमा नयाँ ‘इबारत’ लेख्ने एउटा सचेत प्रयास हो । यसलाई केवल प्रधानमन्त्रीको विदेश भ्रमण वा दुई देशका सरकार प्रमुखबीचको शिखर वार्ताका रूपमा सीमित गर्नु हुँदैन । यो बदलिँदो समयको माग बुझेर दक्षिणी छिमेकीसँग सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने राजनीतिक प्रयत्न पनि हो ।
वालेन्द्रको भारत भ्रमणमा सबैभन्दा ध्यान दिनुपर्ने पक्ष उनको राजनीतिक प्रस्तुतिमा देखिएको संयम हो । भारत जानुअघि र फर्किएपछि कुनै अतिवादी राष्ट्रवादी अभिव्यक्ति सुनिएन । सामाजिक सञ्जालमा विवादित टिप्पणी लेखेनन् । न भारतसँगको निकटतालाई राजनीतिक उपलब्धिका रूपमा प्रदर्शन गर्ने हतार देखियो, न पुरानो असन्तुष्टिलाई सार्वजनिक उत्तेजनामा बदल्ने प्रयास ।
नेपालमा भारतसम्बन्धी बहस लामो समयदेखि दुई वटा अतिवादी भाष्यको बीचमा घुमिरहेको छ । एउटा भाष्यले भारतसँगको निकटतालाई राष्ट्रिय स्वार्थको स्वाभाविक विस्तार मान्छ र आलोचनात्मक प्रश्नलाई अनावश्यक शंकाका रूपमा लिन्छ । अर्कोले भारतसँगको प्रत्येक सहकार्यलाई शंकाको दृष्टिले हेर्छ र कठोर अभिव्यक्तिलाई राष्ट्रवादको प्रमाण ठान्छ । यी दुवै भाष्यले नेपालको वास्तविक राष्ट्रिय हितलाई पर्याप्त ठाउँ दिएका छैनन् । छिमेकीसँग सम्बन्ध राख्नु र आफ्नो सार्वभौमिकताको रक्षा गर्नु परस्पर विरोधी कुरा होइनन् ।
प्रधानमन्त्री वालेन्द्रले यस पटक यी दुवै राजनीतिक कार्डको प्रयोगबाट आफूलाई टाढा राख्ने संकेत दिएका छन् । यसलाई नै ‘बालेनमेसी’ भन्न सकिन्छ । यो नै वालेन्द्रको छिमेकीलाई हेर्ने चस्मा हो, यसको अर्थ कुनै नयाँ कूटनीतिक सिद्धान्तको औपचारिक घोषणा होइन, यो एउटा राजनीतिक प्रवृत्तिको संकेत हो । लोकप्रियतावादी उत्तेजनाभन्दा परिणाममुखी संवाद, विगतको हिसाबकिताबभन्दा भविष्यको सम्भावना र व्यक्तिगत प्रदर्शनभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिने प्रवृत्ति । भ्रमणमा विशेष रूपमा तीन वटा ‘सी’ अगाडि आएको देखिन्छन्– कल्चर, क्रिकेट र कनेक्टिभिटी । तीन ‘सी’ को सूत्रमा वालेन्द्रले सम्बन्धको नयाँ पुस्तागत भाषा खोजेको देखिन्छ ।
तर वालेन्द्रको यो कूटनीतिक परिपक्वताको चर्चा गर्दा आन्तरिक राजनीतिक शैलीका प्रश्नलाई बेवास्ता गर्न मिल्दैन । राष्ट्रपतिलाई भारत भ्रमणअघि ब्रिफिङ नगर्नु र पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलहरूसँग राष्ट्रिय एजेन्डाबारे परामर्श नगर्नु स्थापित लोकतान्त्रिक अभ्यासबाट विचलन थियो । प्रधानमन्त्रीको कार्यकारी अधिकार आफ्नो ठाउँमा छ, तर विदेश भ्रमण व्यक्तिगत राजनीतिक कार्यक्रम होइन । राष्ट्रको प्रतिनिधित्व गर्ने यात्रामा राष्ट्रपतिसँगको संस्थागत संवाद र प्रमुख राजनीतिक शक्तिहरूसँगको परामर्शले राष्ट्रिय सहमति निर्माण गर्छ । अब हेर्नु छ, उनले संसद्लाई कसरी ब्रिफिङ गर्छन् । नयाँ शैली देखाउने नाममा लोकतान्त्रिक संस्थागत मर्यादा कमजोर बनाउनु उचित हुँदैन । बाह्य सम्बन्धमा संयम देखाउने नेतृत्वले आन्तरिक लोकतन्त्रमा पनि संयम र संस्थागत सम्मान देखाउन सक्छ कि सक्दैन ?
यहाँ अर्को विरोधाभास पनि छ । आन्तरिक राजनीतिमा लोकप्रियता र तत्काल प्रतिक्रिया उत्पादन गर्ने दबाब हुन्छ । सामाजिक सञ्जालको युगले त्यसलाई झन् तीव्र बनाएको छ । यसलाई ‘डोपामिन’ सरकारको दबाब भन्न सकिन्छ– तत्काल प्रशंसा, आलोचना र राजनीतिक प्रभावको खोजी । तर उनले भारत यात्राको तयारी क्रममा राष्ट्रपति संस्था र विपक्षी दलहरूलाई बेवास्ता गरेर आन्तरिक राजनीतिक खपतका लागि भरपूर सामग्री दिन भ्याए ।
चुनाव जितेपछि सरकारमा जानासाथ ठूलो चामत्कारिक आँधीबेहरी ल्याउने अपेक्षा गरिएको थियो । तर शासनको जिम्मेवारी सम्हाल्दै जाँदा वालेन्द्रले पनि सत्ताको सत्य र शासनको सीमा आत्मसात् गर्न थालेको देखिन्छ । सत्ता प्राप्त गर्नु र राज्य सञ्चालन गर्नु फरक कुरा हुन् । चुनावी नाराले जनमत प्राप्त गर्न सकिन्छ, तर विदेश नीति सञ्चालन गर्न तथ्य, अनुभव र रणनीतिक धैर्य आवश्यक पर्छ । भारतसँगको सम्बन्धमा देखिएको संयम यही सिकाइको प्रारम्भिक संकेत हुन सक्छ ।
डिपार्चर भनेको विगतलाई बिर्सनु होइन । विगतका असफलताबाट सिकेर भविष्यका लागि नयाँ बाटो खोज्नु हो । भारतसँग नेपालको सम्बन्धमा न त अतिराष्ट्रवादको प्रदर्शन आवश्यक छ, न त आत्मसमर्पणको मनोविज्ञान । आवश्यक छ त केवल आत्मविश्वाससहितको संवाद, राष्ट्रिय हितमा स्पष्टता र लोकतान्त्रिक संस्थाप्रतिको सम्मान । वालेन्द्रको असली परीक्षा काठमाडौंमा गरिने निर्णय प्रक्रियामा हुनेछ र सीमाञ्चलको नागरिक जीवनमा हुनेछ । उनले सुरु गरेको नयाँ राजनीतिक भाषाले संस्थागत निरन्तरता पाउँछ कि पाउँदैन, त्यही प्रश्नले ‘बालेनमेसी’ को भविष्य निर्धारण गर्छ । नेपाल–भारत सम्बन्धमा डिपार्चर भनेको भारतसँग अविश्वास र राजनीतिक उत्तेजनाको चक्रबाट निस्किएर समान र साझा भविष्यको बाटो खोज्नु हो ।
चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।