पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका काम र आर्थिक सहयोग केवल सिटामोल र पानीपट्टीको उपचार मात्र भएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले भ्रमणले तत्कालको कूटनीतिक चिसोपन घटाए पनि द्विपक्षीय सम्बन्धका आधारभूत समस्याको दीर्घकालीन उपचार अझै बाँकी रहेको औंल्याए।
लामो समयदेखिका थाँती मुद्दा नटुङ्ग्याई आर्थिक सहयोगका विषयमा मात्र केन्द्रित हुनुको अर्थ के रहन्छ भन्ने प्रश्नमा भट्टराईले तत्कालको क्षति रोक्न भ्रमणले काम गरे पनि मुख्य रोग निको नभएको टिप्पणी गरे।
‘ज्वरो आएका बेला सिटामोल र पानीपट्टीले ज्वरो अलिकति घटाउँछ र थप क्षति हुन दिँदैन, अहिले भएको त्यही उपचार हो,’ उनले भने, ‘त्यो पनि ठिकै छ, तर शरीरभित्र रहेको मूल रोगको उपचार छुट्टै गर्नुपर्छ। अझै एमआरआईलगायत परीक्षण गरेर अपरेसन नै गर्नुपर्ने हुन्छ।’
लामो समयदेखि चिसिएको नेपाल-भारत सम्बन्धमा संवादहीनता तोड्न र कूटनीतिक विश्वासको वातावरण निर्माण गर्न भने भ्रमण सकारात्मक सुरुवात भएको भट्टराईले बताए। नेपालको झन्डै दुई तिहाइ आर्थिक तथा मानवीय कारोबार भारतसँग जोडिएकाले सम्बन्ध बिग्रिँदा भारतलाई भन्दा नेपाललाई नै बढी प्रतिकूल असर पर्ने उनको भनाइ छ।
नेपाल-भारत सम्बन्धमा समस्याको जरो सन् १९५० को शान्ति तथा मैत्री सन्धि रहेको उल्लेख गर्दै भट्टराईले उक्त सन्धिमा सन् १९२३ मा चन्द्रशमशेरको पालामा ब्रिटिस भारतसँग भएको सन्धिका प्रावधानहरू हुबहु राखिएको बताए।
सन् १९२३ को सन्धिले नेपालको सार्वभौमसत्तालाई पहिलो पटक औपचारिक रूपमा स्वीकार गर्नु सकारात्मक भए पनि त्यसका सुरक्षा छातासम्बन्धी प्रावधानहरू १९५० मा सारिएकाले समयानुकूल पुनरावलोकन अपरिहार्य रहेको उनको जिकिर छ।
भ्रमणका क्रममा जारी संयुक्त वक्तव्य र १० बुँदे साझा भिजन पत्रमा पुराना विषयमा पुनर्विचार गर्न सकिने भाषा पर्नुले वार्तामा बस्ने सकारात्मक सङ्केत मात्र दिएको उनले सुनाए। ‘समस्या खुलिहाल्यो वा उत्पातै भयो भन्ने होइन,’ उनले भने, ‘यी सबै विषय पुनः वार्ता र संवादबाटै टुङ्ग्याउनुपर्छ।’
शरीरमा रोग लाग्दा कहिले हात, कहिले खुट्टा र कहिले आँखाको मात्र उपचार गरेर निको नहुने उदाहरण दिँदै भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन, हवाई रुट, जलस्रोत र हिमनदी पग्लने वातावरणीय सङ्कटलाई समष्टिगत रूपमा हल गर्न आफू प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को अवधारणा अघि सारेको स्मरण गरे।
भारतीय विदेशमन्त्रीले हालै ईपीजी प्रतिवेदन पुरानो भइसकेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘ईपीजी एक पक्षको मात्र होइन, दुवै देश मिलेर बनाएको संयन्त्र हो। त्यसले दिएको सुझाव हुबहु मान्नैपर्छ भन्ने पनि छैन। तर, बाकसमा थुनेर रहस्यमय बनाउनुको साटो यो-यो कुरा आउट अफ डेट भयो, योमा सहमति भयो र योमा भएन भनेर स्पष्ट भन्नुपर्यो नि।’
ईपीजीको नाम मन नपरे अर्को नाम राखेर भए पनि सीमा, व्यापार, पारवहन र हवाई रुटका समस्या समाधान गर्नैपर्ने उनले बताए।
दिल्लीमा न्यानो स्वागत र उत्साहजनक सहमति हुने तर पछि कार्यान्वयन नहुने पुरानो प्रवृत्ति तोड्न उच्चस्तरमा बलियो गृहकार्य आवश्यक रहेको भट्टराईले बताए। ‘बाहिर हल्लाखल्ला र गालीगलौज गरेर केही प्राप्त हुँदैन, बरु राम्रो गृहकार्य गरेर वार्ताको कोठाभित्र टेबल ठोकाठोक गर्ने हो,’ उनले भने।
परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई राज्यको साझा नीति हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो कार्यकालमा भारतसँग बिप्पा सम्झौता गर्दाको अनुभव सुनाए।
लगानी भित्र्याउन, रोजगारी बढाउन र व्यापार घाटा घटाउन तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको संवादपछि बिप्पा सम्झौता गरेर फर्किँदा आफ्नै पार्टीका नेताहरूले विमानस्थलमा कालो झन्डा देखाएको स्मरण गर्दै उनले त्यस्ता गल्तीबाट पाठ सिक्नुपर्ने बताए। चित्त नबुझेका विषय संसद् र सर्वदलीय बैठकमा छलफल गरी राज्यको साझा नीति कार्यान्वयनमा सबैले सघाउनुपर्ने उनको धारणा छ।
भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श नगरेको विषयलाई भट्टराईले सामान्य रूपमा लिए। भ्रमणको अघिल्लो साँझ बोलाएर गरिने छलफल केवल कर्मकाण्डी मात्र हुने, किनकि कूटनीतिक र प्रशासनिक संयन्त्रले त्यसअघि नै सबै सहमति टुङ्ग्याइसकेको हुने अनुभव उनले सुनाए। सल्लाह लिने नै भए भ्रमणभन्दा कम्तीमा १५ दिन वा एक महिनाअघि लिनुपर्ने उनको सुझाव छ।
तर, देशको अभिभावकका रूपमा रहेका सेरेमोनियल राष्ट्रपतिलाई समेत भ्रमणबारे जानकारी नगराएकोप्रति भने उनले चिन्ता व्यक्त गरे। शिष्टाचार र सम्मानका रूपमा पनि राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट नगरेको विषयमा आफूलाई चिन्ता लागेको बताए।
एक छिमेकीतर्फ मात्र ढल्किन नहुने भन्दै भट्टराईले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राखेरै नेपालले ऐतिहासिक रूपमा स्वाधीनता जोगाएको स्मरण गराए।
नेपाल अब दुई ढुङ्गाबीचको तरुल नभई विश्वको पहिलो अर्थतन्त्र बन्ने बाटोमा रहेको चीन र तेस्रो बन्ने दिशामा रहेको भारतलाई जोड्ने गतिशील सेतु बन्नुपर्ने उनको धारणा छ।
तिब्बतको पूर्वाधार विकास नेपालको सिमानामै आइपुगिसकेको उल्लेख गर्दै उनले चिनियाँ पक्षसँगको संवादहीनता तोड्न प्रधानमन्त्री शाहलाई राम्रो तयारीका साथ छिट्टै चीन भ्रमणमा जान सुझाव दिए।
दुवै छिमेकीको आर्थिक मूल्य शृङ्खलासँग जोडिएर अमेरिका, युरोप र ब्रिक्स राष्ट्रहरूसँगसमेत सम्बन्ध विस्तार गर्न सके १०-१५ वर्षभित्र नेपालले चमत्कारिक आर्थिक विकास गर्न सक्ने विश्वास उनले व्यक्त गरे।
प्रकाशित: ९ मंसिर २०८३ २०:०१ बुधबार