९ मंसिर, काठमाडौं । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिव्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरुको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए ।
परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ । सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए ।
‘यो हिमालयन क्रायोस्फियर अत्यधिक र्यापिड्ली चेञ्ज भइरहेको छ । यसले हामीलाई च्यालेञ्जहरू थपेको छ । हरेक वर्ष हाम्रो हिमालयको ग्लेसियर लेक्स भनौँ या स्नो एभलान्चेज भनौं हिउँपहिरोहरूको घटनाहरूमा वृद्धि भइरहेको छ, त्यसैले हामीले रेस्पोन्स पनि अब ढिला गतिमा गरेर हुँदैन । यो रेस्पोन्स पनि अति चाँडो गतिमा गर्नुपर्ने हुन्छ । किनभने २००० मा एउटा हिमतालको जोखिम न्यूनीकरण गर्ने, १६ वर्ष पछाडि अर्को गर्ने, अनि ३० वर्ष पछाडि अर्को गरेर चाहीँ हुँदैन,’ उनले भने ।
उनका अनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ । प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले बताए ।
पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए ।
‘हामीले ओभरल हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ । अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत फास्टर रेटमा यो रिट्रिट भइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । नेपालको हामीले ठुलागी लेकलाई मात्रै हेर्ने हो भने पनि ३० मिटर्स पर इयरको दरले ग्लेसियर रिट्रिट भइरहेको छ,’ उनले भने ।
उनका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ । मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिव ३० मिटर पछाडि हटिरहेको उनको भनाइ छ ।
सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रश्तुत गर्दै उहाँले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए ।
पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन् । नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए ।
सन् २०१६ को भोटेकोशी हिमताल विस्फोटको उदाहरण दिँदै उनले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिब ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरे ।
उहाँका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पुर्याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन् । तीमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोशी बेसिनमा छन् । ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उनको भनाइ छ ।