महँगी, आर्थिक मन्दी र बदलिँदो किनमेल शैलीका कारण कपडा, जुत्ता, फर्निचर तथा सुनचाँदी व्यवसायीले अपेक्षित बिक्री गर्न सकेका छैनन्।
कैलाली — बिगतमा दसैं नजिकिँदा बजारमा चहलपहल बढ्ने गर्थ्यो । बजारमा नयाँ कपडा, जुत्ता, गरगहना र घरायसी सामान किन्ने ग्राहकको भीड हुन्थ्यो । तर, यसपालि धनगढी बजारमा दसैंको रौनक निकै कम देखिएको छ । पसलमा सामान पहिला जस्तै सजिएका छन् । व्यापारी ग्राहक कुरिरहेका छन् ।
तर, व्यापारीको अपेक्षा अनुसार ग्राहक छैनन् । साझपख आउने थोरै ग्राहक पनि सामान हेरेर फर्किने क्रम बढ्दा व्यापारीलाई लगानी डुब्ने चिन्ता छ । दसैंलाई लक्षित गरेर लाखौंको सामान थपेका व्यापारीले यसपालि सोचेअनुसार व्यापार हुन नसकेको बताउँछन् ।
धनगढी एलएन चोकमा चार वर्षदेखि कपडा व्यापार गरिरहेकी रिता कुमारी ठगुन्नाले दसैंका लागि झन्डै २० लाख रुपैयाँको सामान राखेकी छन् । तर, ग्राहकको चहलपहल र बिक्री सोचेअनुसार हुन नसकेको उनले बताइन् । ‘पहिला जस्तो दसैंको भाइव्स नै छैन । बजारमा सपिङ गर्नेको संख्या पनि घटेको छ । दिनभरीमा सय जना ग्रहाक आए ७०/८० त हेरेर मात्रै फकिन्छन्,’ रिता भन्छिन् ।
कपडा व्यापारीमात्रै होइन बजारका प्रायः व्यवसायी कारोबार न्यून भइरहेको बताउँछन् । धनगढीमा जुत्ता–चप्पलको व्यापार गर्दै आएका भविष्य बस्यालले पनि दसैंका लागि झन्डै १० लाख रुपैयाँको सामान थपे पनि व्यापारमा सुधार आउने संकेत नदेखिएको बताए । ‘कतिपय ग्राहकले सामान मन पराए पनि मूल्य सुनेर किन्न अप्ठ्यारो मान्छन् । आर्थिक मन्दीका कारण व्यापार गरेर जीविका चलाउन सक्ने अवस्था छैन,’ बस्याल भन्छन् । उनका अनुसार ग्राहकले सस्तो सामान खोजिरहेका हुन्छन् ।
अर्का व्यापारी चेतराज फुलारा त उपभोक्तासँग खर्च गर्ने पैसा नै नभएको बताउँछन् । धनगढीमा १४ वर्षदेखि फर्निचर व्यवसाय गर्दै आएका फुलाराले उपभोक्ताको प्राथमिकता फेरिएको अनुभव गरेका छन् । उनका अनुसार पहिले ३०–४० हजार पलङ किन्ने ग्राहक अहिले चार–पाँच हजार रुपैयाँको साधारण खाट रोज्न थालेका छन् ।
दसैंका लागि झण्डै ३० लाखको सामान राखेका उनले चालु आर्थिक वर्षको सुरुदेखि दसैंको मुखसम्म तीन वटा बिल मात्रै काटेको बताए । ‘बैंकमा पैसा थुप्रिएको छ । बजारमा पैसा नै छैन । कसरी चलायमान हुन्छ बजार ?,’ फुलारा भन्छन्, ‘महंगीले ग्राहकसँग चाहेको सामान किन्न सक्ने क्षमता छैन ।’
कोरोनाकालअघि वर्षमा करोडौंको व्यापार गर्ने उनले अचेल सटर भाडा तिर्न समेत मुस्किल परेको बताए । पहिले मासिक ६५ हजार रुपैयाँ घरभाडा तिर्ने गरेका फुलारा अहिले व्यवसाय खुम्च्याएर २० हजार रुपैयाँ भाडाको एउटा कोठामा सीमित गरेका छन् ।
यता सुनचाँदी व्यवसायी पनि उस्तै गुनासो गर्छन् । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आकासिएपछि सबैभन्दा धेरै मार आफूहरुको व्यवसायमा परेको यसमा संलग्नहरु बताउँछन् । धनगढीको एलेनचोकस्थित भैरव भगवती सुनचाँदी पसलका सञ्चालक सुरेश सुनार सिजनमै पनि व्यापारमा सुधार हुन नसकेको बताउँछन् । ‘पहिले दसैंमा गहना बनाउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले त कुरेर बस्नु परेको छ,’ उनले भने ।
व्यापारीहरुका अनुसार बढ्दो मूल्य, आर्थिक मन्दी र उपभोक्ताको बदलिँदो किनमेल शैलीले बजार प्रभावित भएको छ । अर्कोतिर उपभोक्ता पनि बढ्दो मूल्यका कारण खर्च गर्न हिचकिचाइरहेका देखिन्छन् । बजारका ठूला पसल भन्दा सेल र सस्ता सडक किनारमा राखिएका पसलमा ग्रहाक बढी देखिन्छन् ।
पछिल्लो समय ग्राहकको किनमेल शैली पनि बदलिएको व्यापारीहरु बताउँछन् । टिकटक, फेसबुक र इन्स्टामा देखिएका कपडा खोज्दै ग्राहक पसल पुग्ने पुग्छन् । मोबाइलमा फोटो, भिडियो र स्क्रिनसट देखाएर आफूले खोजेको सामान माग्ने ग्राहक बढेको कपडा व्यापारी रिता कुमारी बताउँछिन् ।
‘स्क्रिनसट देखाएर यस्तै डिजाइनको कपडा दिन भन्छन् । सोसल मिडियामा ट्रेण्डिङ सबै ड्रेस हामीसँग हुँदैन,’ उनले भनिन्, ‘ग्राहक अर्को सामान रोज्नुभन्दा फर्केर जान्छन् ।’ यसले पसलमा ग्राहक आए पनि बिक्री नहुने गरेको उनको भनाइ छ ।
व्यापारीहरुका अनुसार ग्राहक बजार भन्दा अनलाइनबाटै सपिङ गर्नेदर बढिरहेको छ । अझ घरमै बसेर अनलाइनमार्फत सामान बेच्ने व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्दा भाडा तिरेर पसल चलाउने व्यवसायीलाई कठिन भएको जुत्ताचप्पल व्यवसायी बस्याल बताउँछन् ।