Trending
Prev Story
Next Story

फलफूलमा भविष्य देखेकी प्रकृति

Ekantipur •
August 16, 2026 • 09:07 AM
1
1 reads 0 reactions

प्रकृतिलाई लाग्छ— ‘नेपालका फलफूलको विशेषता नै मीठो हो, विदेशी बजारमा फलफूल आकर्षक र चम्किला देखिए पनि नेपाली फलफूल असाध्यै स्वादिला हुन्छन्, तर यिनको ब्रान्डिङ हुन सकेको छैन’

फलफूलमा भविष्य देखेकी प्रकृति

प्रकृतिलाई लाग्छ— ‘नेपालका फलफूलको विशेषता नै मीठो हो, विदेशी बजारमा फलफूल आकर्षक र चम्किला देखिए पनि नेपाली फलफूल असाध्यै स्वादिला हुन्छन्, तर यिनको ब्रान्डिङ हुन सकेको छैन’

काठमाडौँ — कहिलेकाहीं कुनै दृश्यले मानिसको सोच मात्रै बदल्दैन, जीवनकै बाटो मोडिदिन्छ । सोच्दै नसोचेको काम गर्ने आँट आउँछ । त्यही आँटले नयाँ यात्रामा डोर्‍याउँछ र परिचितसँगसँगै चर्चित बनाइदिन्छ । खेतीपाती अर्गानिककी संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमको जीवनमा पनि यस्तै घटनाले उद्यमीको बाटो पहिल्याएको हो । उनको दैनिकी यति बेला नै कृषिमा बितिरहेको छ ।

विराटनगरमा जन्मिएकी प्रकृति दुई वर्षको उमेरमै काठमाडौं आएकी हुन् । सेन्ट मेरिज स्कुलमा पढेकी प्रकृतिले न कृषि खेती देखेकी थिइनन् न बुझेकी नै । कृषि न उनको रुचिको विषय थियो, न कुनै उद्यमी यात्रा गर्ने सोच नै थियो । मामाघर विराटनगर पुगेका बेला उनी धनकुटा घुम्न गएकी थिइन् । धनकुटा घुम्दै गर्दा एभोकाडो खेर गइरहेको दृश्यले ध्यान तानेको थियो ।

बिक्री नभएर बाटोमा/बारीमा यत्तिकै खेर फालिएका थिए । सन् २०१८ को समय धनकुटा पुगेको दृश्य प्रकृतिको मनमै छ । भन्छिन्, ‘एभोकाडो कुहिएको र फालेको देखेर मन साह्रै दुखेको थियो । यसमा केही गर्न पाए हुन्थ्यो, खेर जानबाट कसरी रोक्ने होला भन्ने त्यति बेलै लागेको थियो ।’

धनकुटा एभोकाडोको राजधानी मानिन्छ । त्यतिबेला पालिकाले समेत एभोकाडोका बिरुवा वितरण गरेर उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरिरहेका थिए । बिरुवामा आकर्षित भए पनि फलले बजार नपाउँदा त्यसलाई प्रशोधन गर्ने कुनै पनि व्यवस्था नभएको उनले देखिन् । त्यस दृश्यले उनलाई घोचिरह्यो र कुरा गर्न मेयरकहाँ पुगिन् ।

‘म घुम्न पुगेकी थिएँ । जिन्सको ज्याकेट र स्कर्ट लगाएर मेयरसँग कुरा गर्न गएको सम्झना अझै छ,’ प्रकृतिले भनिन्, ‘केही गर्न पाए हुन्थ्यो भनेर कुरा राखें, उहाँहरूले पनि सकारात्मक रूपमा लिनुभयो ।’

बजारसम्म पुग्नुअघि नै फलफूल ठूलो मात्रामा उत्पादन खेर जाने अवस्थालाई कम गर्नुपर्छ भन्ने सोच लिएर प्रकृतिले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा डेभलपमेन्ट म्यानेजमेन्ट पढाइ गरिन् । र कृषि उत्पादन, प्रशोधन र (पोस्ट–हार्भेस्ट लस) का विषयमा अध्ययन र अनुसन्धान पनि थालिन् । यसअघि नेपालका केही हाइड्रोपावर कम्पनीमा पनि काम गरेकी थिइन् । त्यस बेला उनले नेपालको भूगोलबारे बुझ्न पाएकी थिइन् ।

प्रकृतिलाई बेलायतमै करिअर बनाउने सोच नआएको होइन । तर बुबाआमाको इच्छा उनलाई नेपाल फर्काउने थियो । परिवारको इच्छाअनुसार एभोकाडोबाट तेल निकाल्ने योजना बोकेर उनी सन् २०२१ मा नेपाल फर्किइन् ।

त्यसअघि नै सन् २०१९ मा साथीहरूसँग मिलेर प्रकृतिले नेपालमा ‘खेतीपाती अर्गानिक्स’ उद्यम दर्ता गरिसकेकी थिइन् । तर तेल उत्पादन गर्ने योजना राम्ररी अघि बढ्न सकेन । कोभिड महामारीले अवरोध गरिदियो । महामारीपछि भने प्रकृतिले सिजनका फलफूलमा काम गर्ने र बजार विस्तार गर्ने योजना बनाइन् । फलफूल सुकाएर लामो समयसम्म राख्न सकिने र बजारमा लैजान सकिनेतर्फ उनको ध्यान गयो ।

बेलायतबाट फर्किनासाथ प्रकृति फेरि धनकुटा पुगिन् । धनकुटा नै किन ? उनका लागि यसको उत्तर सहज छ, ‘एभोकाडो खेर गएको त्यो दृश्य मेरो आँखा र मन दुवैमा थियो । त्यसैले धनकुटामै उद्यम चलाउने उद्देश्यले धनकुटा गएकी थिएँ,’ उनले भनिन् ।

धनकुटामा उद्योग स्थापना गर्न खोज्नु सहज थिएन । सबैभन्दा पहिले चाहिएको थियो जग्गा । जग्गा खोज्दै उनी धेरै ठाउँ पुगिन् । तर उनको उमेर, महिला हुनु र विदेशबाट फर्किएको पृष्ठभूमि नै सबैका लागि शंकाको विषय बन्यो ।

‘सुरुमा मलाई कसैले पनि पत्याएन,’ प्रकृतिले भनिन्, ‘विदेशबाट आएको पैसा लुकाउन वा सम्पत्ति शुद्धीकरण गर्न जग्गा किन्न आएको हो कि भनेर धेरैले शंका गरे । घरेलु उद्योगमा पुग्दा कर्मचारीले नै पैसा लुकाउन आएको हो कि भनेर सोधे ।’

बैंकबाट ऋण लिन पनि सहज थिएन । जग्गा किन्न र उद्योग स्थापना गर्न ठूलो रकम आवश्यक थियो । परिवार, आफन्त र त्यसबेला अमेरिकामा रहेका भाइदेखि साथीभाइहरूको सहयोगमा रकम जुटाउँदै प्रकृतिले धनकुटामा ६० रोपनी जग्गामा उद्योग सञ्चालन गरिन् ।

उद्योग स्थापना भएपछि पनि समस्या सकिएन । बरु नयाँ–नयाँ समस्या थपिँदै गए । किसानबाट फलफूल ल्याउन ढुवानीको समस्या थियो । प्रशोधन गर्ने प्रविधि र संरचना बिस्तारै विकास गर्दै जानुपर्ने थियो । उत्पादन तयार भएपछि बजार खोज्नु अर्को चुनौती थियो । सुरुका दिनमा मोटरसाइकलमा फलफूल बोकेर उद्योगसम्म पुर्‍याउनुपरेको उनले बताइन् ।

एभोकाडोबाट सुरु भएको प्रयोग बिस्तारै अन्य फलफूल र कृषि उत्पादनतर्फ फैलियो । अहिले कम्पनीले आँप, भुइँकटहर, किबी, सुन्तला, केरा, स्ट्रबेरी अलैंची, अदुवालगायत ५० थरी फलफूलका उत्पादनबाट विभिन्न सामान उत्पादन गरिरहेको छ । डिहाइड्रेटेड फलफूलमा सुन्तला, किबी, स्ट्रबेरी र खरबुजालाई आधुनिक प्रविधिबाट सुकाएर प्रकृतिको कम्पनी ‘खेतीपाती अर्गानिक्स’ ले प्राकृतिक स्न्याकका रूपमा विकास गरिएको छ ।

हाई–अल्टिच्युड स्पाइस ब्रान्डमा लसुनको धूलो, अकबरे खुर्सानी र सिजनल रियर्सको ब्रान्डमा मौसमअनुसार उपलब्ध हुने दुर्लभ तथा विशेष कृषि उत्पादनलाई प्रशोधन गरी बजार पठाइने गरेको प्रकृतिको भनाइ छ ।

उद्यमशीलता अघि बढाइरहँदा प्रकृतिले धेरै हन्डर बेहोर्नुपर्‍यो । कहिलेकाहीँ विदेश फर्किन पनि मन लागिरह्यो । नेपालमा युवाका लागि करिअर छैन कि भन्ने अनुभव पनि नभएको होइन । अझै पनि युवाले थालेका स्टार्टअपमैत्री नभएको हो कि भन्ने प्रकृतिलाई लाग्छ । ‘उद्योग खोल्छु भन्यो सरकारले पत्याउँदैन । बैंकले पनि छोटो अवधिका लागि ऋण दिन्छ, दीर्घकालीन रूपमा योजना र सोचाइको अभाव यहाँ देखिन्छ,’ उनले भनिन् ।

तर प्रकृतिका लागि उद्यममा जम्न परिवार खम्बा भएर उभिएको छ । व्यवसायीसँगै बिहे गरिन् । भाइले लगानीदेखि सञ्चालनमा सहयोग गरिरहेका छन् । अहिले प्रकृतिले ९ महिनाकी छोरी हुर्काइरहेकी छन् । दुई महिनाकी सुत्केरी समयमै उनी उद्योगको काममा फर्किसकेकी छन् । काठमाडौंबाटै धनकुटामा रहेको उद्योग चलाइरहेकी छन् । समय समयमा धनकुटा पुगिरहन्छिन् ।

उद्योगमा उत्पादनको मात्रा बढेसँगै प्रशोधन र बजारको दायरा पनि विस्तार हुँदै गएको छ । उद्योगमा सिजनल कामदार ४५ जना छन् । उद्योगको बजार स्वदेशमा मात्रै छैन, भारत, अमेरिका र अस्ट्रेलियासम्म फैलिएको छ ।

‘सुकाएर खाइने फलफूलबारे नेपाली बजारमा ज्ञान धेरै छैन । तर विदेशबाट भने धेरै माग आउने गरेको छ,’ प्रकृतिले भनिन्, ‘हाम्रोबाट होलसेलमा लिएर धेरैले छुट्टै प्याकेट बनाएर पनि बच्ने गरेका छन् ।’

उद्योगले व्यवसायलाई उत्पादन र बजारीकरणमा मात्रै सीमित नराखी किसान र ग्रामीण समुदायसँग जोडेको प्रकृति सुनाउँछिन् । कम्पनीका अनुसार उद्योगले १० भन्दा बढी मौलिक तथा रैथाने कृषि उत्पादनमा काम गर्दै आएको छ । साथै दुई हजारभन्दा बढी साना किसान प्रत्यक्ष रूपमा आबद्ध भएका छन् । ‘ग्रामीण क्षेत्रमा १ सयभन्दा बढीलाई रोजगारी दिएका छौं,’ प्रकृतिले भनिन्, ‘उद्योगमा ७० प्रतिशत महिला कम्पनीसँग आबद्ध किसानको फार्म आम्दानीमा ३५ प्रतिशत वृद्धि भएको छ ।’

नेपालको कृषि उत्पादनको विशेषता नै मीठो स्वाद रहेको प्रकृतिले जनाइन् । विदेशी बजारमा देखिने फलफूल आकर्षक र चम्किला देखिए पनि नेपाली फलफूलको स्वाद उत्कृष्ट रहेको उनको भनाइ छ । ‘नेपालको फलफूलमा स्वाद छ । विदेशमा राम्रो टल्किने देखिन्छ । तर स्वाद हुँदैन ।’ नेपालमा उत्पादन हुने सुन्तला, एभोकाडो, अदुवा, कफी, अलैंची र अन्य कृषि उपजलाई विश्व बजारमा ब्रान्डिङ गर्न सक्ने ठूलो सम्भावना रहेको उनले जनाइन् ।

नेपाल कृषि प्रधान देश भनिए तापनि उत्पादनलाई प्रशोधन गरेर विश्व बजारमा पुर्‍याउने र नेपाली ब्रान्ड स्थापित गर्न नसकिएको प्रकृतिले सुनाइन् । ‘नेपालमा कफी उत्पादन हुन्छ भने विश्व बजारले नेपाली कफी खोज्ने वातावरण किन नबनाउने ? उत्पादन मात्रै गरेर हुँदैन, ब्रान्ड बनाउनुपर्छ,’ उनले भनिन् ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्...

#प्रकृति
Compare →
Onlinekhabar
1w ago
फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

१५ कात्तिक, काठमाडौं । कोटेश्वर बस्ने जुनु अधिकारी काम विशेषले नयाँ बानेश्वर आएकी थिइन् । बानेश्वरको एक फलफूल पसलमा राखिएको अनारमा उनको नजर पर्‍यो । अनार ताजा देखिएकाले उनलाई एक किलो किनौं न त भन्ने लाग्यो …

#फलफूल
Compare →
Nagarik News
2w ago
प्रकृति, संस्कृति र इतिहासले सम्पन्न मकवानपुरका पर्यटकीय गन्तव्य ओझेलमा

प्रकृति, संस्कृति र इतिहासले सम्पन्न मकवानपुरका पर्यटकीय गन्तव्य ओझेलमा

प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर। प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रूपमा जोड्न निरन्तर प्रयास भइरहे पनि यहाँका गन्तव्यमा अपेक्षित पर्यटक भित्र्याउन भने सकिएको छैन।

#प्रकृति
Compare →
Setopati
4w ago
प्रकृतिले आफै सजाएको स्वर्ग

प्रकृतिले आफै सजाएको स्वर्ग

चारैतिर फैलिएका विशाल पाटन, हरियालीले ढाकिएका डाँडाकाँडा, ठाउँ–ठाउँमा फुलेका रंगीचंगी फूल, चिसो हावाको स्पर्श र आकाशसँग नजिक देखिने हिमाली भू–दृश्यले बडिमालिकालाई अनुपम बनाएका छन्।

#प्रकृति
Compare →

Related Stories

National (Nepal)
Build #2612