८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमणबाट नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूले आशा गरेका छन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा व्यापारिक प्रतिनिधिमण्डलको सदस्यका रूपमा सम्मिलित होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष भरतजंग पाण्डेले जारी गरेको संयुक्त वक्तव्यमा भैरहवा एयर रुट, अयोध्या–जनकपुर रेल सेवा लगायत पर्यटकीय महत्त्वका विभिन्न सर्किट सञ्जालबाट भारतीय पर्यटकको नेपाल आगमन संख्या दोब्बरले वृद्धि गर्न सकिने जनाइएको छ ।
दुवै मुलुकका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी तथा १० बुँदे अवधारणापत्रमा दुई देशका जनताबीचको आपसी सम्बन्ध मजबुत र व्यापक बनाउन पर्यटन क्षेत्रको महत्त्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धि उल्लेख हुनुु र दुवै देशका उद्योगी व्यवसायी सम्मिलित व्यापारिक प्रतिनिधिमण्डल सहभागी नयाँ दिल्लीमा सम्पन्न नेपाल–इन्डिया बिजनेस राउन्ड टेबुलमा समेत द्विपक्षीय पर्यटन प्रवर्द्धनको विषय महत्त्वसाथ प्रस्तुत हुनु उल्लेखनीय रहेको जनाइएको छ ।
यस अवसरमा प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्त्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाइएको छ ।
भ्रमण अवसरमा दुई देशीबीच भएको समझदारीको १० बुँदामध्ये अयोध्या–जनकपुर रेल सञ्चालनले जनकपुर लगायत नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पार्ने देखिन्छ ।
यस अवसरको पूर्ण लाभ लिन केन्द्रीय तथा प्रदेश सरकार तथा सरोकारवाला निजी क्षेत्रले योजनाबद्ध रूपमा जनकपुर आउने भारतीय पर्यटकलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनी लगायत गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गरी अझ बढी फलदायी बनाउनुपर्ने बताइएको छ ।
त्यस्तै दुई देशबीच भैरहवा नाकामार्फत दुईतर्फी हवाई यातायात सञ्चालन गर्ने सहमति भएको सन्दर्भमा छिटोभन्दा छिटो यो सेवा सञ्चालन गर्न दुवै मुलुक अग्रसर रहन पनि अपिल गरिएको छ ।
भ्रमणमा भएका समझदारीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउँदै हान, टान र नाट्टाका अध्यक्षले समकक्षी भारतीय पक्षहरूमा नेपालसँगको व्यापार विस्तारमा नेपाली प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको भारत भ्रमणबाट सकरात्मक प्रभाव परेको र यसबाट सम्बद्ध नेपाली र भारतीय पक्षले समेत नयाँ योजना तथा नाका लगायतमा विद्यमान व्यवस्थामा आवश्यक सुधार गरी भारतीय पर्यटक दोब्बर बढाउने गरी कार्य गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीको राजकीय भ्रमणमा पर्यटन क्षेत्रबाट हान, टान र नाट्टाजस्ता अग्रणी छाता संगठन समेतको सहभागिता गराइएकोमा सह्राना गरिएको छ ।