असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्।
गोरखा — चुमनुब्री र धार्चे गाउँपालिकामा मंगलबार बिहानैदेखि बेमौसमी हावाहुरी चलेको छ । हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ । जोडले हावा चलेपछि स्थानीयहरू घरबाहिर निस्कन पनि सकेका छैनन् ।
मंगलबार बिहान करिब २ बजेदेखि हावा चलेको धार्चे–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयकी शिक्षिका सपना गुरुङले बताइन् । ‘मंसिर महिनामा यसरी हावा चलेको पहिले कहिल्यै थाहा पाएका थिएनौँ,’ उनले भनिन्, ‘अहिले बिहान घाम लागेपछि हावाहुरी आउन रोकिएला भनेको, अहिले पनि जोडले हावा चलिरहेको छ, हामी घरबाहिर निस्कन सकेका छैनौँ ।’ केही कच्ची घरको छाना पनि हावाले उडाएको गुरुङले जानकारी दिइन् ।
हिमालतर्फको उत्तरी भेगबाट हावा चलेको चुमनुब्री–३ जगतका विशाल घलेले बताए । ‘असोज २५ मा बाढी आयो, बाढीपछि छाप्रोमा बसेका छौँ,’ उनले भने, ‘अस्ति बाढी, आज हुरीले तर्सायो, घरभित्रै छौँ, बाहिर जोडले हावा चलिरहेको छ ।’ २०७१ सालतिर यसरी हावाहुरी चलेको उनले बताए । ‘१०/१२ वर्षअघि बेस्सरी हावाहुरी चलेको थियो, तर त्यो बेलाभन्दा पनि अहिले ठूलो चल्यो,’ उनले भने ।
जोडले हावा चलेपछि धार्चे र चुमनुब्री क्षेत्रका अधिकांश बस्तीका स्थानीय त्रसित बनेका छन् । हावा जोडले चलेको स्थानीय बताउँछन् ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।