Trending
Prev Story
Next Story

विचार | विद्यालय शिक्षा सुधारका औजार

Ekantipur •
November 23, 2026 • 05:18 PM
3
3 reads 0 reactions

स्थानीय तहले बनाउने योजना, बजेट, अनुगमन र रिपोर्टिङले कक्षाकोठामा शिक्षक र विद्यार्थीबीच हुने वास्तविक सिकाइलाई मलजल गर्न सके विद्यालय शिक्षा सुधार अवश्यम्भावी छ ।

विचार | विद्यालय शिक्षा सुधारका औजार

स्थानीय तहले बनाउने योजना, बजेट, अनुगमन र रिपोर्टिङले कक्षाकोठामा शिक्षक र विद्यार्थीबीच हुने वास्तविक सिकाइलाई मलजल गर्न सके विद्यालय शिक्षा सुधार अवश्यम्भावी छ ।

एउटा स्थानीय तहमा प्रधानाध्यापकहरूको मासिक बैठक थियो । उनीहरूले विद्यालयलाई घेराबार, भवन र फर्निचर अभावको कुरा गरे । दिवा खाजा, शिक्षक दरबन्दी, तलब माग फाराम आदि प्रशासनिक कुरामै बैठक सकियो । फेरि अर्को महिना बैठक बस्यो । एजेन्डा त्यस्तै–त्यस्तै थिए । शिक्षण विधि र प्रभावकारी सिकाइका कुरा बैठकको प्राथमिकतामै परेनन् ।

अर्को एक स्थानीय तहबाट कक्षा अनुगमन भयो । विज्ञहरू कक्षामा छिरे । शिक्षकका दुई–चार वटा त्रुटि पहिचान गरे । न त शिक्षकले गरेको असल अभ्यासको चर्चा भयो, न त शिक्षकले थप पेसागत सहयोग नै पाए । शिक्षकले कक्षाकोठा केन्द्रित पेसागत सहयोग कोबाट पाउने होला ?

बालबालिकाको सिकाइ नतिजाबारे हामी बारम्बार कुरा गर्छौं । नतिजा खस्किएमा आरोप–प्रत्यारोप पनि मज्जैले गर्छौं । तर उनीहरूले सिकाइको वातावरण पाएका छन् कि छैनन् भनेर कहिले विमर्श गर्ने ?

हामी भवन, शिक्षक र विद्यार्थी गन्छौं । बजेटको हिसाबकिताब गर्छौं । तर कक्षाकोठाभित्र विद्यार्थीले कति सिकिरहेका छन् भनेर विरलै छलफल गर्छौं । सुविधासम्पन्न भवन भएको विद्यालयमा पनि सिकाइ नतिजा अब्बल हुँदैन । भौतिक संरचना आवश्यकता पक्कै हो, तर पर्याप्त होइन । त्यसैले कक्षाकोठाबाट सुधार सुरु हुन जरुरी छ ।

कक्षाकोठाको वास्तविक अर्थ बालबालिकालाई सिक्न उत्प्रेरित गर्ने वातावरण हो । यसमा शिक्षकको सिकाइ सहजीकरण, सिकाइ सामग्रीहरूको व्यवस्थापन र प्रयोग, शिक्षक–विद्यार्थीको सुमधुर सम्बन्ध, संवेगात्मक सुरक्षा, सिकाइ संस्कृति आदि पर्छन् । गुणस्तरीय शिक्षणबारे भएको पछिल्लो अनुसन्धानले कक्षाकोठामा अन्तक्र्रिया, सुधारात्मक मूल्यांकन, विषयवस्तुको गुणस्तरीय प्रस्तुति, विद्यार्थी सहभागिता, व्यक्तिगत, सामाजिक र संवेगात्मक सिकाइ महत्त्वपूर्ण पक्ष रहेको सुझाएको छ ।

विश्व बैंक र आर्थिक सहयोग विकास संगठन (ओईसीडी) को अध्ययनले कक्षाकोठाभित्र शिक्षक विद्यार्थीबीच हुने अन्तक्र्रिया, सामूहिक छलफल, प्रश्नोत्तर, सामग्रीको प्रयोगले सिकाइ सुधार हुने सुझाव दिएको छ । त्यसैले ठूल्ठूला भवनसँगै यस्ता कक्षाकोठा निर्माण र सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।

शिक्षा नियमावली, २०५९ ले प्रधानाध्यापकलाई प्राज्ञिक र प्रशासनिक प्रमुखका रूपमा रहने उल्लेख गरेको छ । तर विद्यालयहरूमा प्रधानाध्यापकहरू व्यवस्थापकीय काममा बढी व्यस्त रहेको पाइन्छ । प्राज्ञिक नेतृत्वको अर्थ विद्यार्थीले के सिक्ने, कसरी सिकाउने, शिक्षकलाई प्रभावकारी शिक्षण गर्न पेसागत विकास, सिकाइ मापन र सुधार गर्ने योजना बनाउनु र कार्यान्वयन गर्नु हो ।

राष्ट्रिय शिक्षा नीति २०७६ ले प्रधानाध्यापकलाई शैक्षिक नेतृत्व र व्यवस्थापन जिम्मेवारी तोकेको छ । प्रधानाध्यापक सक्षमता प्रारूप २०८१ ले प्रअलाई पाठ्यक्रम मूल्यांकन, कक्षा अवलोकनदेखि शिक्षकलाई पृष्ठपोषण कोचिङ तथा मेन्टरिङको भूमिकामा जोडेको छ ।

विद्यालय शिक्षाको शैक्षिक नेतृत्व प्रअ हो भन्ने नीतिगत प्रावधान प्रशस्त छन् । तर प्रअको प्राज्ञिक भूमिकालाई सार्थक बनाउन आवश्यक अधिकार, पेसागत तयारी, छनोट प्रणाली र जवाफदेहीको संरचनामा व्यावहारिक समस्या देखिन्छ । जसले गर्दा विद्यालय शिक्षाका शैक्षिक/प्राज्ञिक नेतृत्वको अभ्यासमा खडेरी देखिन्छ । प्राज्ञिक नेतृत्वबिना विद्यालय शिक्षा सुधार कसरी सम्भव होला ?

एक स्थानीय तहको शिक्षा समिति बैठकमा सरकारी पाठ्यपुस्तक पढाउँदा विद्यार्थी कमजोर भएको र निजी प्रकाशनका पुस्तकहरू राख्नुपर्ने बहस भयो । अझ रमाइलो त ‘फलानो’ प्रकाशनको किताब ठीक र बेठिक भनेर विवाद नै चल्यो । यो हेर्दा पाठ्यपुस्तक नै सर्वेसर्वा भएको र पाठ्यपुस्तकले सिकाइ सुधार हुन्छ भन्ने बुझिन्छ । तर युनेस्कोले पाठ्यक्रमलाई सिकाइको मुटु मान्छ । पाठ्यपुस्तकको पाठ सकियो भने राम्रो पढाइ भयो भनेर बुझ्ने गरिन्छ । तर पाठ्यपुस्तकको पाठ पूरा हुनु र विद्यार्थी सिकाइ पूरा हुनु एउटै कुरा होइन । पाठ सक्ने कामले गर्दा पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता विद्यार्थीले हासिल गर्नै पाएनन् । हामीले पाठ्यक्रम नहेर्दा विद्यार्थीले सिक्नुपर्ने कुरा ओझेलमा पर्‍यो ।

विद्यालयको शैक्षिक नेतृत्वले शिक्षकहरूलाई पाठ्यक्रमको मर्म बुझ्ने, सिकाइ उपलब्धिमा आधारित शिक्षण योजना बनाउने र विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने वातावरण दिनुपर्छ । स्थानीय तहले पनि पाठ्यपुस्तक वितरण र उपलब्धताको अनुगमनमा मात्र सीमित नभई पाठ्यक्रम कार्यान्वयनमा शिक्षकलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।

विद्यालयमा हाम्रो अनुगमन अभ्यास कति सहयोगमुखी छ भन्ने पाटो निकै महत्त्वपूर्ण हुन्छ । कक्षाकोठामा अनुगमनकर्ता प्रवेश गर्दा शिक्षकले आफ्नो शिक्षण अभ्यास सुधार्ने अवसर पाउँछन् कि कमजोरी पत्ता लाग्ने डरले तनाव महसुस गर्छन् ? कक्षा अवलोकनपछि शिक्षकले के राम्रो गरे भन्ने पृष्ठपोषण र के सुधार गर्न सकिन्छ भन्ने व्यावहारिक सुझाव पाउँछन् कि केवल त्रुटिहरूको सूची ? अनुगमनको उद्देश्य शिक्षकलाई जवाफदेही बनाउनु मात्र होइन, उनीहरूको पेसागत क्षमता विकास गर्नु पनि हो । गल्ती पत्ता लगाउने अनुगमनभन्दा सुधारको बाटो देखाउने पेसागत सहयोग आवश्यक छ । तर यी सबै कागजमा सीमित देखिन्छ ।

शिक्षकको पेसागत दक्षतासँग विद्यार्थीको सिकाइ उपलब्धिको प्रत्यक्ष सम्बन्ध छ भन्ने पाटो नकार्न सकिँदैन । अहिलेको जल्दोबल्दो समस्या भनेको शिक्षकले तालिम नपाएको होइन, सिकेका सीपहरूलाई कक्षाकोठामा रूपान्तरण गर्न कक्षाकोठा केन्द्रित पेसागत सहयोगको अभाव हो । अनुसन्धानले के देखाउँछ भने तालिम मात्रै लिएको शिक्षकले २० प्रतिशत मात्रै सिकाइलाई कक्षाकोठामा कार्यान्वयन गर्छ भने कक्षाकोठा केन्द्रित निरन्तर कोचिङ र मेन्टरिङबाट ८० देखि ९० प्रतिशत कार्यान्वयन हुन्छ । तसर्थ शिक्षक पेसागत विकासका विभिन्न पाटा जस्तै सिकाइ सञ्जाल, सहपाठी कक्षा अवलोकन, पाठ अध्ययन, कार्यमूलक अनुसन्धान, कोचिङ, मेन्टरिङहरू अति प्रभावकारी अभ्यासहरू हुन् । यस्तो नसक्नुमा शिक्षक मात्रै दोषी भने होइन । स्थानीय तहलाई शिक्षाको जिम्मेवारी हस्तान्तरण भएको छ । तर तथ्यांकमा आधारित योजना, बजेट र स्रोत परिचालन, प्राविधिक विज्ञता र कार्यान्वयन क्षमताको संस्थागत विकास नहुँदा शिक्षक पेसागत सहयोगले मूर्त रूप लिन सकेन ।

कलेज पढाउने एक प्राध्यापकले विगत आठ वर्षदेखि उही डायरीबाट विद्यार्थीलाई पढाउने गरेको बताउनुहुन्थ्यो । आज पनि कक्षाकोठामा छिर्दा शिक्षण सिकाइ विधि उही छन्, जुन २५­३० वर्षअघि थिए ।

अक्सर शिक्षकले किताब हातमा लिने र किताबको कुरा विद्यार्थीलाई सुन्न लगाउने विधि छोड्नै सकिएन । विश्व बैंकको सन् २०२३ को प्रतिवेदन र थुप्रै शोधकार्यले तालिमप्राप्त शिक्षकले पनि तालिममा सिकेको सीप कक्षाकोठामा रूपान्तरण नगर्ने उल्लेख गरेको छ । विद्यार्थीलाई सक्रिय भई सिक्नुपर्छ भनिरहँदा शिक्षकको निष्क्रिय तालिमले काम गर्ला ? समस्या समाधान, परियोजनामा आधारित सिकाइ, सहयोगात्मक सिकाइ, अनुभवमा आधारित सिकाइ, दौंतरी सिकाइ जस्ता विद्यार्थी केन्द्रित विधिहरू कक्षाकोठामा लागू गर्न शिक्षकलाई ऊर्जा नै मिलेन । केही बहस गरौं– शिक्षक आफैं आजीवन सिकारु हो कि होइन ? आफैंले सिक्ने पेसागत संस्कृतिको विकास गर्न जरुरी छ कि छैन ? राम्रो विद्यालय त्यो हो, जहाँ शिक्षकले पनि निरन्तर सिकिरहेका हुन्छन् ।

पछिल्ला नतिजाहरू हेर्दा विद्यालय शिक्षाको अवस्था सन्तोषजनक छैन । विद्यार्थीलाई सिकाइको केन्द्रबिन्दुमा राखेर हेर्न नसक्दा नतिजा खस्किँदो छ । शैक्षिक बहस र मुद्दाहरूमा कक्षाकोठा र शिक्षण सिकाइमा सुधारभन्दा पनि अन्य विषयहरूले प्राथमिकता पाएको देखिन्छ ।

विद्यालय शिक्षा क्षेत्र योजना (२०२२–२०३२) ले योग्य, तालिम प्राप्त, उत्प्रेरित र प्रतिबद्ध शिक्षकबाट अपेक्षित उपलब्धि हासिल हुने बताउँछ । यो योजनाले शिक्षण सिकाइलाई प्रविधिसँग जोडिनुपर्ने र सिक्नका लागि सुरक्षित, रमाइलो र विद्यार्थीलाई सिकाइ उत्प्रेरित वातावरण कल्पना गर्छ । स्थानीय तहले निर्माण गर्ने योजना, बजेट, अनुगमन र रिपोर्टिङले कक्षाकोठामा शिक्षक र विद्यार्थीबीच हुने वास्तविक सिकाइलाई मलजल गर्न सके विद्यालय शिक्षा सुधार अवश्यम्भावी छ ।

ओमकुमार श्रेष्ठ शिक्षा क्षेत्रमा आबद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
विद्यालय सुधार योजना अद्यावधिक गर्न अनुगमन अपरिहार्य

विद्यालय सुधार योजना अद्यावधिक गर्न अनुगमन अपरिहार्य

सिमकोट – सामुदायिक विकास केन्द्रकी सामाजिक परिचालक गंगा बोहराले विद्यालय सुधार योजना अद्यावधिक गर्न अनुगमन अपरिहार्य भएको बताएकी छन्। सिमकोट गाउँपालिका– २ को रामदेव माध्यमिक विद्यालय अनुगमन गर्ने क...

#अनुगमन #विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2621