आफूलाई पदबाट बर्खास्त गरी प्रधानमन्त्री कार्यालयको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय बदर गर्न र आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।
काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) विवादमा वर्तमान आईजीपी मनोजकुमार केसीले सर्वोच्च अदालतको म्याद नबुझ्दा दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ सरेको छ । आफूलाई पदबाट बर्खास्त गरी प्रधानमन्त्री कार्यालयको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय बदर गर्न र आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले दायर गरेको रिटमा सोमबार पेसी तोकिएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सुरु हुनुअघि नै केसीका नाममा म्याद तामेल नभएको प्रश्न उठेपछि सुनुवाइ बुधबारका लागि सारिएको हो । सुनुवाइ सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ता करुणाकर मल्लिकले आईजीपी केसीले अदालतको म्याद प्राप्त नगरेको भन्दै पुनः म्याद जारी गर्न माग गरेका थिए । त्यसपछि इजलासले प्रहरी प्रधान कार्यालयकै प्रतिनिधिमार्फत म्याद बुझाउने व्यवस्था गर्न आदेश दिएको छ । साथै, अर्को पेसीको मिति पनि इजलास आफैंले तोकेर मुद्दालाई प्राथमिकता दिएको छ ।
इजलासको आदेशमा भनिएको छ, ‘विपक्षीहरूलाई म्याद तामेल गर्ने जिम्मेवारी पाउनुभएका यस अदालतका तामेलदारले विपक्षी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका नाममा ४ मंसिरमा जारी भएको म्याद बुझाउन कार्यालयमा जाँदा सम्बन्धित व्यक्ति बैठकमा जानुभएको र फर्केर आउनुहुने भन्दै कार्यालयले पर्खाएको देखियो । तर, कार्यालय समयसम्म पनि उहाँ उपस्थित नभएको र कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेको कारण म्याद तामेल गर्न नसकेको भन्ने व्यहोराको प्रतिवेदन पेस भएको देखियो ।’
म्याद नबुझेको विषयमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ता मल्लिकले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको बताएका थिए । अदालतबाट पुनः म्याद जारी भएमा नफर्किने गरी बुझ्ने प्रतिबद्धता जनाउँदै उनले पुनः म्याद जारी गर्न अनुरोध गरेका थिए ।
सोमबार गोलाप्रथाबाट कार्कीको रिटको पेसी तोकिएपछि निवेदकका कानुन व्यवसायी सुनुवाइका लागि पुगेका थिए । पेसी सूचीको ‘ख’ नम्बरमा रहेको उक्त मुद्दामा प्रहरी प्रधान कार्यालयका तर्फबाट भने एक जना अधिवक्ता मात्र उपस्थित थिए । बहस सुरु हुनुअघि नै अधिवक्ता मल्लिकले पुनः म्याद जारी गर्नुपर्ने माग गरेपछि रिट निवेदकका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले ४ मंसिरमा नै म्याद बुझाउने प्रयास भएको र सर्वोच्च अदालतका तामेलदारको प्रतिवेदनसमेत इजलासमा पेस भइसकेको जानकारी गराएका थिए ।
कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयमा म्याद बुझाउन गएका तामेलदारलाई करिब ४ बजेसम्म पर्खाइएको थियो । तर, सम्बन्धित अधिकारी उपलब्ध नभएपछि सचिवालय तथा प्रहरी प्रधान कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेका थिए । त्यसपछि आईजीपी केसीले प्रयोग गर्ने ह्वाट्सएपमा म्यादको सूचना पठाइएको उनले बताए ।
कुँवरको कुरा सुनेपछि इजलासले प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ता मल्लिकलाई सोधेको थियो । उनले त्यस दिन प्रधानमन्त्री कार्यालयमा बैठक भएकाले आईजीपी केसी कार्यालयमा उपस्थित हुन नसकेको स्वीकार गरेका थिए ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले सरकारबाटै अदालतको आदेश अवज्ञा भएको देखिएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । तामेलदारको प्रतिवेदनका आधारमा सुनुवाइ अघि बढाउन सकिने र ह्वाट्सएपमार्फत गरिएको म्याद तामेलीलाई समेत मान्यता दिन सकिने नजिर रहेको उनको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले पनि अदालतको म्याद नबुझ्ने कार्य गलत भएको बताए । तर, आईजीपी व्यस्त हुन सक्ने भएकाले प्रहरी प्रधान कार्यालयकै प्रतिनिधित्व गर्ने कानुन व्यवसायीमार्फत म्याद तामेल गर्ने आदेश दिनुपर्ने उनको सुझाव थियो । साथै, अर्को पेसीको मिति इजलासबाटै तोकेर मुद्दालाई पहिलो नम्बरमा राख्नुपर्ने उनले माग गरे ।
त्यसपछि इजलासले सरकारको धारणा बुझ्न महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई उपस्थित गराउन सरकारी वकिललाई आदेश दिएको थियो । लगत्तै महान्यायाधिवक्ता कँडेल इजलासमा उपस्थित भए । इजलासले प्रहरी महानिरीक्षकबाटै सर्वोच्च अदालतको म्याद नबुझ्ने काम भएको भन्ने प्रश्न उठेकाले व्यक्तिगत रूपमै भए पनि म्याद तामेल गराउन महान्यायाधिवक्तालाई आग्रह गरेको थियो ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले माग गरेको मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सक्कल फाइलसमेत अर्को पेसीमा पेस गर्न अदालतले भनेको । महान्यायाधिवक्ता कँडेलले अदालतको आदेश पालना हुने प्रतिबद्धता जनाएपछि सोमबारको सुनुवाइ स्थगित भएको हो ।
यसअघि २ मंसिरमा एकल इजलासले कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने र केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य सम्बन्धित कागजात पेस गर्न आदेश दिएको थियो । तर, सोमबारको पेसीमा उक्त फाइल पनि पेस भएन । विपक्षीहरूले अर्को पेसीमा पनि उक्त फाइल पेस नगरेर सुनुवाइ सार्न सक्ने आशंका रिट निवेदकका कानुन व्यवसायीले व्यक्त गरेका थिए । त्यसपछि इजलासले महान्यायाधिवक्तालाई नै सक्कल फाइल पेस गर्न आग्रह गरेको हो ।
१८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो । सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा अन्तरिम आदेशमार्फत आफूलाई पुरानै पदमा फर्काउन माग गरिएको छ । अब बुधबार गोलाप्रथाबाट नयाँ इजलास गठन हुनेछ । उक्त इजलासमा दुवै पक्षको बहसपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय हुनेछ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।