कर तिर्ने दायित्व पूरा गरिरहेका व्यवसायीलाई प्रोत्साहन गर्नेदेखि कर प्रणालीबारे नागरिकलाई सचेत बनाउनेसम्मका विषयमा उनीहरूले स्थानीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
डडेल्धुरा — डडेल्धुरामा कर तिर्ने संस्कार विकाससँगै व्यवसायीका समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। कर तिर्ने दायित्व पूरा गरिरहेका व्यवसायीलाई प्रोत्साहन गर्नेदेखि कर प्रणालीबारे नागरिकलाई सचेत बनाउनेसम्मका विषयमा उनीहरूले स्थानीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
आन्तरिक राजस्व कार्यालय डडेल्धुराले सोमबार आयोजना गरेको कर सप्ताह समापन कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा जनप्रतिनिधिले कर प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने र करदाताका समस्यालाई पनि सम्बोधन गर्नुपर्ने बताएका हुन्।
डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले सदरमुकाम बागबाजार लगायत जिल्लाका प्रमुख बजार क्षेत्रमा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण नरहेको बताए। व्यापारिक प्रयोजनका लागि खोलिएका पसल अगाडि नै सवारीसाधन पार्किङ गर्ने प्रवृत्तिले व्यवसायी प्रभावित भइरहेको उनको भनाइ थियो। व्यवसायीले नियमित कर तिरेर राज्यलाई योगदान गरिरहेकाले उनीहरूको व्यवसाय प्रवर्द्धनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले आवश्यक वातावरण बनाउनुपर्ने उनले बताए।
अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले नागरिकमा कर तिर्ने संस्कारको विकास हुन नसकेको बताए। राज्य सञ्चालनका लागि आन्तरिक स्रोत परिचालनभन्दा वैदेशिक अनुदानमा निर्भर रहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले स्थानीय तहमा समेत अपेक्षित राजस्व संकलन हुन नसकेको बताए। अमरगढी नगरपालिकामा वार्षिक दुई करोड रुपैयाँसमेत राजस्व संकलन हुन नसकेको उनको भनाइ थियो। कर प्रणाली प्रभावकारी बनाउन नागरिकले आफ्नो सम्पत्तिको विवरण पारदर्शी र स्वच्छ राख्नुपर्नेमा उनले जोड दिए। करसम्बन्धी केही कानुनी प्रावधानमा देखिएका समस्यालाई पनि सुधार गर्नुपर्ने उनले बताए।
प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले करसम्बन्धी नयाँ नियम, कानुन र ऐनबारे सबैले जानकारी राख्नुपर्ने बताए। कर तिर्नु राज्य निर्माणमा योगदान गर्नुका साथै रोजगारी सिर्जनासँग पनि जोडिएको उनको भनाइ थियो। बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने रोजगारदातालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले नयाँ व्यवसाय तथा उद्यम सिर्जना हुने वातावरण बनाउनुपर्ने बताए।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत गगनबहादुर शाहीले मंसिर १ गतेदेखि सञ्चालन गरिएको कर सप्ताह सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। कर सप्ताहका क्रममा विभिन्न अन्तरक्रिया, क्षेत्रगत कार्यक्रम तथा कर ऐनसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिए। कर सप्ताहबाहेक अन्य समयमा पनि कार्यालयले करदाता शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। डडेल्धुरास्थित कार्यालयले सुदूरपश्चिमका सात जिल्लाको राजस्व प्रशासनसम्बन्धी काम हेर्दै आएको छ।
कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कृषितर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने अमरगढी नगरपालिका–५ स्थित केदारनाथ कृषि सेवा केन्द्र, फर्मतर्फ महाकाली नगरपालिका–४ दार्चुलास्थित ठगुन्ना जनरल स्टोर र प्रालितर्फ अमरगढी नगरपालिका–५ मा सञ्चालित जीबीएल हार्डवेयर प्रालिलाई प्रशंसापत्र प्रदान गरिएको कार्यालयले जनाएको छ।
जीबीएल हार्डवेयर प्रालिका सञ्चालक लालमणि पन्तले आफूले तिरेको करबाटै राष्ट्र निर्माणमा योगदान पुग्ने बताए। नागरिक र व्यवसायीले इमानदारीपूर्वक कर तिर्न सके मात्रै राष्ट्र निर्माणको प्रक्रिया प्रभावकारी हुने उनको भनाइ थियो। मंसिर १ गतेदेखि सुरु भएको कर सप्ताह सोमबार विभिन्न कार्यक्रमसहित समापन गरिएको हो।