‘लेटरबक्स’ मा पनि यसले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको पहिलो डकुमेन्ट्री फिल्म बनेको छ ।
काठमाडौँ — अमेरिकी डकुमेन्ट्री फिल्म ‘यु क्यान सी एभ्रिथिङ’ ले विश्वव्यापी बक्स अफिसमा १० करोड डलर (१ सय मिलियन) को ऐतिहासिक आँकडा पार गर्दै नयाँ कीर्तिमान बनाएको छ । डकुमेन्ट्री विधाका फिल्मका लागि यो अहिलेसम्मकै सर्वाधिक हो ।
मल्टी–बिलियन डलरको ठगी काण्डमा फसेकी मेडिकल प्रविधि कम्पनी ‘थेरानोस’ की संस्थापक एलिजाबेथ होम्सको कारागार जानुअघिको जीवनमा केन्द्रित यस फिल्मलाई ए२४ ले निर्माण गरेको हो ।
गत अक्टोबर १६ मा उत्तर अमेरिकामा रिलिज भएको ३ घण्टा लामो यस डकुमेन्ट्रीले घरेलु बक्स अफिसबाट मात्र ९ करोड ३४ लाख डलर (९३.४ मिलियन) संकलन गरिसकेको छ । हालै बेलायत, अस्ट्रेलिया र स्क्यान्डेनेभियालीलगायत मुलुकहरूमा प्रदर्शन भईरहेको यस फिल्मका अधिकांश शोहरू हाउसफुल भइरहेका छन् ।
यसअघि पहिलो सप्ताहन्तमै १ करोड ५६ लाख डलर कमाउँदै यो ‘फरेनहाइट ९/११’ पछि इतिहासकै दोस्रो ठूलो ओपनिङ गर्ने ‘नन–म्युजिक’ डकुमेन्ट्री बनेको थियो ।
‘लेटरबक्स’मा पनि कीर्तिमानी, १० लाखले हेरे
बक्स अफिससँगै सामाजिक सञ्जाल प्लेटफर्म ‘लेटरबक्स’ मा पनि यस डकुमेन्ट्री फिल्मले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको यो इतिहासकै पहिलो डकुमेन्ट्री फिल्म बनेको छ । सन् २०२६ मा रिलिज भएका फिल्महरूमध्ये यो कोशेढुंगा पार गर्ने यो १९औं फिल्म हो ।
४.६१ को औषत रेटिङका साथ यो लेटरबक्सको इतिहासमै ‘स्टप मेकिङ सेन्स’ पछि दोस्रो धेरै रुचाइएको डकुमेन्ट्री फिल्म बनेको छ ।
नातान फिल्डर र लान्स ओपेनहाइमद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले ‘थेरानोस’ की संस्थापक एलिजाबेथ होम्स कारागार चलान हुनुभन्दा ३४ दिन अघिको उनको पारिवारिक र व्यक्तिगत जीवनको तनाबलाई नजिकबाट नियालेको छ ।
होम्स र उनका पार्टनर बिली इभान्सको उतारचढावपूर्ण दैनिकी र उनीहरूका बालबालिकालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
‘कतिपय अवस्थामा छायांकनको वातावरण निकै तनाबपूर्ण हुन्थ्यो,’ छायाकार डेभिड बोलनले एक स्क्रिनिङका क्रममा भनेका थिए, ‘मैले परिस्थितिबाट आफूलाई टाढै राख्न र क्यामरामार्फत केवल सत्यलाई कैद गर्न धेरै प्रयास गरें ।’
‘रोटन टोमाटोज’ मा ९७ प्रतिशत क्रिटिक्स रेटिङ पाएको यस डकुमेन्ट्रीलाई ‘द हलिउड रिपोर्टर’ ले ‘स्मार्ट, ठट्टाले भरिएको र अनपेक्षित’ भन्दै अस्कर अवार्डको प्रवल दाबेदारको रूपमा चित्रण गरेको छ ।
–यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।