विवाहको निम्तो आउन थालेपछि धेरैलाई एउटा कुराले अलमलमा पार्छ, के लगाएर जाने ? लेहेंगा लगाउने कि साडी ? अनारकली राम्रो देखिएला कि शरारा ?
अरूभन्दा फरक देखिने चाहना पनि हुन्छ, तर पहिरन आकर्षक हुनुका साथै सहज र अवसरअनुसारको पनि हुनुपर्छ ।
यस्तोमा बलिउड अभिनेत्री शरवरी वाघका देसी लुक्सबाट पहिरनको आइडिया लिन सकिन्छ ।
शरवरी आफ्नो अभिनयका साथै फेसन सेन्सका कारण पनि चर्चामा रहन्छिन् । विशेषगरी परम्परागत पहिरनमा उनको छनोट निकै आकर्षक देखिन्छ ।
कहिले चम्किलो अनारकलीमा शाही अन्दाज त कहिले पेस्टल रङको लेहेंगामा सौम्य लुक । साडी र शरारामा पनि उनले परम्परागत पहिरनलाई आधुनिक शैलीमा प्रस्तुत गरेकी छन् ।
उनको पहिरनबाट विवाहका विभिन्न समारोहका लागि पाँच फरक शैली अपनाउन सकिन्छ ।
विवाहको कुनै विशेष समारोहमा भव्य देखिन चाहनेका लागि शरवरीको हरियो अनारकली सूट राम्रो विकल्प हुन सक्छ । सुनौलो चमक भएको कपडामा तयार गरिएको यो सूटमा नेकलाइनदेखि तल्लो भागसम्म गोल्डेन डिजाइन गरिएको छ । सूटको हेमलाइनलाई बाक्लो र आकर्षक बनाइएको छ भने सलमा पनि चौडा सुनौलो बोर्डर राखिएको छ । हरियो र सुनौलो रङको संयोजनले पहिरनलाई राजसी लुक दिएको छ ।
विशेषगरी मेहन्दी, संगीत वा विवाहअघिका अन्य समारोहमा यस्तो अनारकली लगाउन सकिन्छ । यससँग हल्का गहना र सिम्पल मेकअप गर्दा पहिरनको सुन्दरता अझ खुल्छ ।
विवाह समारोहमा अरूभन्दा केही फरक देखिन चाहनेका लागि शरवरीको मल्टिकलर लेहेंगा अर्को राम्रो विकल्प हो । विभिन्न रङको संयोजनमा तयार गरिएको यो लेहेंगामा कल्लीदार फ्लेयर्ड डिजाइन छ ।
कपडाका ट्यासल र तल्लो भागमा राखिएको बाक्लो बोर्डरले पहिरनलाई अझ आकर्षक बनाएको छ ।
लेहेंगाको रङ र डिजाइन आफैंमा निकै आकर्षक भएकाले यससँग धेरै भारी गहना लगाउन आवश्यक पर्दैन । शरवरीले हल्का रातो सलसँग यसलाई प्रस्तुत गरेकी छन् ।
लेहेंगाको भव्यता र सलको हल्कापनले पहिरनलाई सन्तुलित बनाएको छ । संगीत वा विवाहको मुख्य समारोहमा यस्तो पहिरन लगाउन सकिन्छ ।
३. पिंक र मिन्ट ग्रीनको सुन्दर संयोजन
गाढा रङभन्दा हल्का तथा पेस्टल रङ मन पराउनेका लागि शरवरीको गुलाबी र मिन्ट ग्रीन लेहेंगा आकर्षक हुन सक्छ । यी दुई रङको संयोजनले पहिरनलाई ताजा र सौम्य लुक दिएको छ ।
लेहेंगामा गरिएको गोल्डेन एम्ब्रोइडरीले यसको सुन्दरता थप बढाएको छ । विवाहको रमाइलो र रङ्गीन माहोलमा यस्तो पहिरनले फरक आकर्षण दिन्छ ।
विशेषगरी दिउँसो हुने विवाह समारोह वा संगीतका लागि पेस्टल रङको लेहेंगा राम्रो विकल्प हुन सक्छ । यससँग हल्का सुनौलो गहना र प्राकृतिक मेकअप गर्दा लुक अझ सुन्दर देखिन्छ ।
४. पिस्ता ग्रीन साडीमा एलिगेन्ट लुक
हरेक समारोहमा लेहेंगा वा भारी पहिरन नै लगाउनुपर्छ भन्ने छैन । साडीमा पनि उत्तिकै आकर्षक र स्टाइलिस देखिन सकिन्छ भन्ने उदाहरण शरवरीको यो लुकले दिन्छ ।
उनले पिस्ता ग्रीन रङको अर्गेन्जा सिल्क साडी लगाएकी छन् । साडीको बोर्डरमा गरिएको सुन्दर जरिको कामले यसलाई विशेष बनाएको छ ।
अर्गेन्जा कपडाको हल्कापन र पिस्ता ग्रीन रङको सौम्यताले साडीलाई आकर्षक बनाएको छ । शरवरीले यससँग सिल्भर ब्याग प्रयोग गरेकी छन् ।
विवाहपछिको रिसेप्सन वा अन्य औपचारिक समारोहमा साडी लगाउन चाहनेका लागि यो शैली राम्रो विकल्प हुन सक्छ । साडीलाई आकर्षक ढंगले ड्रेप गरेर हल्का गहनासँग प्रस्तुत गर्दा सुन्दर लुक पाउन सकिन्छ ।
लेहेंगा र साडीभन्दा केही फरक पहिरन खोजिरहनुभएको छ भने शरवरीको शरारा सूटबाट पनि आइडिया लिन सकिन्छ । उनले फुल नेकलाइन भएको ब्याकलेस शरारा सूट लगाएकी छन् ।
कम्मरको भागमा डोरीको डिजाइन राखिएको छ भने शराराको तल्लो भागलाई कल्लीदार बनाइएको छ । कुर्ताको बोडर, नेकलाइन, शराराको हेमलाइन र सलको बोर्डरमा गरिएको मसिनो जरिको कामले पहिरनलाई निकै आकर्षक बनाएको छ ।
यसको डिजाइन परम्परागत भए पनि प्रस्तुत गर्ने शैली आधुनिक छ । विवाहको संगीत, मेहन्दी वा पारिवारिक जमघटका लागि यस्तो शरारा सूट राम्रो विकल्प हुन सक्छ ।
शरवरीका यी पाँच लुक्सले विवाहको हरेक समारोहका लागि फरक पहिरन छनोट गर्ने आइडिया दिन्छन् । आफ्नो रुचि, शरीरलाई सहज हुने डिजाइन र समारोहको प्रकृतिअनुसार यी शैली अपनाउन सकिन्छ ।