विश्व संगीतकी शीर्ष कलाकारको नाम भारतीय अवार्ड सूचीमा जोडिएपछि सामाजिक सञ्जालमा भने रमाइला प्रतिक्रिया र चर्चा चुलिएको छ ।
काठमाडौँ — विश्व प्रसिद्ध गायिका तथा गीतकार टेलर स्विफ्टलाई भारतको ‘दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल’ (डीपीआईएफएफ) मा ‘इन्टरनेसनल आर्टिस्ट अफ द इयर’ द्वारा सम्मान गरिएको छ । आयोजकले सार्वजनिक गरेको विजेताको सूचीमा गीत लेखन, सांगीतिक सिर्जना, दृश्य कथावाचन (भिजुअल स्टोरीटेलिङ) र विश्वव्यापी सांस्कृतिक प्रभावको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ ।
आयोजकका अनुसार स्विफ्टको सफलता केवल चार्टबस्टर गीत वा भव्य कन्सर्टमा मात्र सीमित नभई प्रत्येक एल्बम र सांगीतिक युगसँगै उनले विकास गरेको कथात्मक शैली, भाषागत संवेदनशीलता र दृश्य प्रस्तुतिले विश्वभरका दर्शक–श्रोतालाई जोडेको छ । यही बहुआयामिक सिर्जनात्मक यात्रालाई मध्यनजर गर्दै फेस्टिभलले उनलाई अन्तर्राष्ट्रिय संगीत तथा लोकप्रिय संस्कृतिको प्रतिनिधि पात्रका रूपमा सम्मान गरेको उल्लेख छ ।
मुम्बईमा आयोजना हुने समारोहमा स्विफ्ट स्वयं उपस्थित हुने वा नहुने भन्नेबारे आयोजकले तत्काल औपचारिक पुष्टि गरेको छैन । तर, विश्व संगीतकी शीर्ष कलाकारको नाम भारतीय अवार्ड सूचीमा जोडिएपछि सामाजिक सञ्जालमा भने रमाइला प्रतिक्रिया र चर्चा चुलिएको छ ।
अवार्डको स्वरूप र अन्य चर्चित विजेता
धेरै दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस सम्मानलाई भारत सरकारले प्रदान गर्ने सर्वोच्च सिनेमा सम्मान ‘दादासाहेब फाल्के अवार्ड’ सँग झुक्किएर टिप्पणी गरिरहेका छन् । वास्तवमा डीपीआईएफएफ एक स्वतन्त्र तथा निजी रूपमा आयोजित फिल्म फेस्टिभल अवार्ड हो, जुन भारत सरकारको आधिकारिक राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गतको दादासाहेब फाल्के सम्मानभन्दा फरक हो । कतिपय नेपाली कलाकारले समेत यसअघि भारतीय सरकारले दिने दादासाहेब फाल्के अवार्ड भन्ने ठान्दै डीपीआईएफएफ सम्मान लिएको उदाहरण छ ।
यस वर्षको डीपीआईएफएफ सूचीमा टेलर स्विफ्ट बाहेक पनि अन्य थुप्रै अन्तर्राष्ट्रिय कलाकार तथा सर्जकको नाम समेटिएको छ । जसमा ग्लोबल सिनेमा विशेष सम्मान भनेर चर्चित निर्देशक जेम्स क्यामरुन, अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ अभिनेता र अभिनेत्रीका रूपमा माइकल बी जोर्डन (सिनर्स) र जेसी बक्ली (हृयामनेट) लाई प्रदान गरिने उल्लेख छ ।
के हो दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेष्टिभल ?
गत नोभेम्बर २० मा ‘दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल (डीपीआईएफएफ) अवार्ड्स २०२६’ भन्दै ४१ विधामा पुरस्कृत तथा सम्मानित हुने स्रस्टा तथा कलाकारको नाम घोषणा गरिएको हो । जसमा भारतीय चलचित्र ‘धुरन्धर’ लाई सर्वाधिक विधामा पुरस्कृत गरिएको उल्लेख छ । भारतीय चलचित्रका पितामह मानिने दादासाहेब फाल्केको सम्मानमा स्थापना गरिएको ‘डीपीआईएफएफ’ सन् २०१२ मा महोत्सवका रूपमा सुरु भएको थियो र सन् २०१६ देखि अवार्ड समारोहका रूपमा सञ्चालन हुँदै आएको छ ।
यो मुम्बईमा आयोजना हुने एक स्वतन्त्र तथा निजी अवार्ड कार्यक्रम हो, जसले भारतीय तथा अन्तर्राष्ट्रिय चलचित्र, ओटीटी/वेब सिरिज, टेलिभिजन, संगीत र सर्टफिल्मलाई समेट्ने गर्छ ।
भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले सन् १९६९ देखि प्रदान गर्दै आएको आधिकारिक ‘दादासाहेब फाल्के पुरस्कार’ आजीवन योगदानका लागि दिइने सर्वोच्च राष्ट्रिय सम्मान हो भने डीपीआईएफएफ वार्षिक रूपमा विभिन्न विधामा प्रदान गरिने निजी महोत्सव अवार्ड हो ।
– यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारमा आधारित भई तयार पारिएको हो ।