प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण राजनीतिक मात्र नभएर व्यावसायिक, धार्मिक र सामाजिक चरित्रको हुनेछ भन्ने आशा राखिएको छ । उनको कामकाजी र व्यावसायिक शैलीले नेपाल–भारत सम्बन्धमा ‘केही’ नवीन प्रयोग गर्ला भन्ने आशा जनताको मनमा अंकुरित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार (आज) भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै छन् । केही समयअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि प्रधानमन्त्रीको यो नै पहिलो द्विपक्षीय विदेश भ्रमण हो । निकट छिमेकी मित्रराष्ट्र भारतसँग नेपालको सम्बन्ध जति सरल देखिन्छ, त्यति नै जटिल पनि छ । खासगरी, छिमेकी देशका रूपमा, खुला सिमानाले जोडिएको भारतसँगको नेपालको सम्बन्ध कहिले तीतो, कहिले पिरो र कहिले सुस्वादु रहने गरेको छ ।
नेपाल र भारतको सम्बन्धका धेरै तन्तुहरू अनौठा छन् । दुई देशका बीच बेलाबेलामा ठूला–साना कचिंगल भइरहेका हुन्छन् । कहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको खुला सिमानामा नाकाबन्दी र कहिले दुई देशका नेताहरूबीचको आत्मीय आलिंगन नै नेपाल–भारत सम्बन्धको चरित्र बनेको छ । दायाँ–बायाँ रहेका दुई ‘भीमकाय’ छिमेकी राष्ट्र भारत र चीनलाई खुसी बनाएर सम्बन्धलाई सुखद बनाइराख्नु नेपालका लागि एक प्रकारको चुनौती नै बनेको छ । जाति, धर्म र सरल भौगोलिक अवस्थिति र खुला सिमानाले गर्दा भारतसँगको हाम्रो सम्बन्ध सधैं एकनासको रहन नसक्नु अस्वाभाविक होइन । यसबाट बेलाबेलामा नेपाली राजनीति पनि प्रभावित हुने गरेको तथ्य उजागर हुँदै आएका छन् ।
केही समयअघि प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको संसद्मा ‘भारतले मात्रै नेपालको जग्गा मिचेको होइन, नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सहज र व्यावहारिक पनि थियो । तर, यसको प्रतिक्रिया निकै तिखो आयो । नेपालमा सरकारभित्र वा सरकारबाहिर रहेका नेताहरू वाक्यहरूको सन्दर्भ र आशय नबुझी ‘तत्काल’ प्रतिक्रिया दिने गर्छन् । त्यस्तो प्रतिक्रियाले एकथरी मानिस रमाउँछन् । प्रधानमन्त्री वालेन्द्रको यो अभिव्यक्तिको समर्थन र विरोध गर्ने व्यक्तिहरूको कमी हुने त कुरै थिएन । उनको अभिव्यक्ति ‘पोलिटिकल्ली करेक्ट’ थियो कि थिएन ? त्यो नेपाल–भारतका बीच रहेको ‘जटिल’ सम्बन्धका ज्ञाता र विश्लेषकहरूले नै जानून् । नेपाल र भारतबीचको सम्बन्ध किन जटिल छ ? भन्ने प्रश्नको उत्तर नेपाल तथा भारत दुवै देशका सीमाविद् र सीमा–रक्षकहरूले अहिलेसम्म आ–आफ्ना देशका जनतालाई खुलस्त बताउन सकेका छैनन् ।
मेचीदेखि महाकालीसम्मै नेपाल र भारतको सीमा अहिले पनि निर्बन्ध छ । साँध–सँधियारका रूपमा बसोबास गर्ने नेपाली नागरिकको ‘झुप्रो’ भारततिर र भारतीय नागरिकको ‘करेसाबारी’ नेपालतिर परेको छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । पूर्व र पश्चिमका केही महत्त्वपूर्ण आर्थिक नाकामा सीमा सुरक्षा ‘मजबुत’ भए पनि त्यस्तो मजबुती स्थायी छैनन् । सिमानाका कतिपय व्यापारिक नाकाहरू दुवै देशको सीमा सुरक्षा बलको तिखो नजरबाट बाहिर रहेका हुन्छन् ।
नेपाल–भारत सम्बन्धमा औंसी–पूर्णिमा लागिरहन्छ । कहिले बाझाबाझ हुन्छ, कहिले नाकाबन्दी हुन्छ । पछि गएर सबै कुरा मिलिसकेको देखिन्छ । झगडा कहाँ छ ? भारतका राष्ट्रपिता महात्मा गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता संग्राम तत्कालीन ब्रिटिस उपनिवेशवादी शासनको समाप्तिको प्रारम्भ थियो । त्यतिबेला, भारतीय स्वतन्त्रता संग्रामको प्रभाव व्यापक थियो । महात्मा गान्धी र उनका अनुयायीहरूले अहिंसात्मक आन्दोलनका माध्यमबाट अंग्रेजी साम्राज्यवादलाई परास्त गरेका थिए । नेपालमा भएको २००७ सालको जनक्रान्तिमा भारतीय स्वतन्त्रता संग्रामको प्रभाव रहेको बिर्सिन मिल्दैन । त्यो प्रभाव अहिले पनि अविच्छिन्न छ ।
बेलायतको औपनिवेशिक आधिपत्यबाट स्वतन्त्र भएपछिको अहिलेको समयमा भारत उन्नतिको शिखरतिर बढिरहेको छ । संसदीय राजनीतिक पद्धतिको बलमा काश्मीरदेखि कन्याकुमारीसम्मका सम्पूर्ण भारतीय जनता एकसूत्रमा बाँधिएका छन् । विश्वको एक उदीयमान शक्तिराष्ट्रका रूपमा भारतको नाम लिइन्छ । आफ्नो पचहत्तर वर्षको स्वतन्त्रताको अवधिमा भारतले प्राविधिक विकासमा निकै लामो फड्को मारेको छ । भारतले समुद्रदेखि अन्तरिक्षसम्मका अनेकौं योजना र परियोजनाहरू बिस्तार गरेको छ । निश्चय पनि, भारतले गरेको यस्ता उपलब्धि सानो होइन । विकासको परिप्रेक्ष्यमा कुरा गर्दा हामीले यो बिर्सिनु हुँदैन कि भारतले स्वतन्त्रतापछिका वर्षहरूमा दोहोरो दायित्व पूरा गरेको छ । एकातिर, डेढ अर्ब जनतालाई लोकतन्त्रको एकै लयमा बाँधेर राजनीतिक स्थिरताका साथ अघि बढेको छ भने अर्कोतिर विकासका ठूला–ठूला उपलब्धि हासिल गरेको छ ।
नेपाल–भारत सम्बन्धमा औंसी–पूर्णिमा लागिरहन्छ । कहिले बाझाबाझ हुन्छ, कहिले नाकाबन्दी हुन्छ । पछि गएर सबै कुरा मिलिसकेको देखिन्छ । झगडा कहाँ छ ? नेपालमा भारतका प्रति विविध दृष्टिकोण राख्ने राजनीतिक दलका नेताहरू, सार्वजनिक अभियन्ताहरू, आन्दोलनकारीहरूको कमी कहिल्यै रहेन । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापनापछिका समयमा यो प्रवृत्ति निकै बढ्यो । नेपालमा गणतन्त्रको स्थापनापछि झन् बढ्यो । नेपालका हिन्दुहरूलाई कुन्नि के कारणले हो यस्तो लागेको छ– भारत नेपालमा धर्म निरपेक्षताको पक्षमा छैन । तर, यो तर्कमा कुनै दम देखिँदैन । भारत आफैं धर्म निरपेक्ष देश हो । त्यही नीतिका अधीन रहेर भारतले आफ्नो राष्ट्रिय एकता बलियो बनाएको छ । यो तथ्यलाई बिर्सिनु हुँदैन ।
गणतन्त्र नेपालको संविधान लेखिँदै गर्दा प्रादेशिक साँध सिमानाको विषयमा भएको आन्दोलनमा थुप्रै मानिसको ज्यान गएको थियो । त्यसैबेला भारतले अघोषित ढंगले नेपालका विरुद्ध नाकाबन्दी गरेको थियो । यो नाकाबन्दी र आन्दोलनको परिणाम पक्कै पनि राम्रो आएन । भारतका प्रति नेपालीको मनमा नमिठो र गहिरो टीस उत्पन्न भयो, जुन अस्वाभाविक थिएन । यो अर्कै विषय हो कि त्यो टीस वा तुष लामो समयसम्म रहेन । तत्कालीन आन्दोलनमा सरिक भएको मधेशी समुदाय र तिनका समर्थकहरूले पनि नाकाबन्दीबाट ठोस उपलब्धि प्राप्त गर्न सकेनन् । मधेशका मागहरू संकुचित भए । अहिले पनि मधेशमा असन्तोष छ । मधेशको सम्पूर्ण समस्याको सम्बोधन गर्ने आँट कुनै पनि नेताले गर्न सकेका छैनन् ।
मधेशको समस्या नेपालको आन्तरिक समस्या हो । तर मधेशको समस्यामा भारतको चासो देखिनु अनौठो होइन । सामाजिक र सांस्कृतिक सम्बन्ध मानिसका लागि अनिवार्य हुन्छ । मधेशमा त सीमापारिबाट दुलही आउने र सीमावारिबाट दुलही पठाउने चलन अत्यधिक छ । सामाजिक र सांस्कृतिक सम्बन्ध कसिएको अवस्थामा सीमावारि र सीमापारिको खबरले निरन्तरता पाउनु उत्तिकै स्वाभाविक हो । यो सम्बन्धलाई कसरी स्वाभाविक, सुरक्षित र सुदृढ बनाउने हो ? यो विषयमा नेपाल र भारतका अधिकारीहरूबीच केन्द्रीय स्तरमा छलफल र विचार–विमर्श हुनुपर्छ । रोटी र बेटी स्तरको सम्बन्ध भनिसकेपछि त्यसमा किन्तु र परन्तु शब्दको खासै अर्थ रहँदैन ।
नेपाल-भारत सम्बन्धमा दुवै पक्षले एकअर्कालाई बेला–कुबेला मर्म पुर्याउने गरेका छन् । अहिलेको सन्दर्भमा यति त भन्नैपर्छ कि नेपाल–भारत सम्बन्धमा जतिसुकै ठूला उतारचढाव आएका भए पनि सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको स्तर अहिलेको जस्तो खस्किएको थिएन। पछिल्लो पटकको नेपाल भ्रमणका क्रममा राम–जानकीको पूजा–अर्चना र दर्शनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम पुगेका थिए । जानकी माताको दर्शनले अभिभूत भएका थिए, भारतीय प्रधानमन्त्री मोदी । उनको जनकपुर भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो, नेपाल र भारत दुवै पक्षका लागि । मोदीको जनकपुरधाम भ्रमणले नेपाल र भारतका बीच सांस्कृतिक सद्भाव मात्रै बढाएको होइन, विकासका बाटाहरू पनि खुले । अहिले श्रीरामको नगर अयोध्यालाई सीताको माइती जनकपुरधाम जोड्ने रेल सेवाको प्रारम्भ हुँदै छ । रेल सेवासँगै जोडिएका विभिन्न विन्दुहरूको विकासमा भारतले के योगदान दिनेछ ? यतातिर सबैको दृष्टि तानिएको छ । यस्ता सकारात्मक कार्यहरूले नेपालीका मनमा भारतका प्रति रहेका दहसत, भय, क्रोध र आक्रोश जस्ता घाउको उपचार आफ्नै तरिकाले गर्ने वातावरण तयार पार्न सक्छन् ।
नेपाल-भारत सम्बन्धमा दुवै पक्षले एकअर्कालाई बेला–कुबेला मर्म पुर्याउने गरेका छन् । अहिलेको सन्दर्भमा यति त भन्नैपर्छ कि नेपाल–भारत सम्बन्धमा जतिसुकै ठूला उतारचढाव आएका भए पनि सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको स्तर अहिलेको जस्तो खस्किएको थिएन । आपसी निर्भरताको हाम्रो जस्तो सम्बन्ध मतापले अघि बढ्नुपर्छ । उत्तेजनात्मक लहरले सम्बन्धको सुर–ताल बिगार्छ । खास गरेर, दुई देशबीचको खुला सीमाका कारण बेलाबखत नाटकीय घटना भए पनि सम्बन्धमा तिक्तता नआउनु वा नदेखिनु नै सम्बन्धको खुबी पनि हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण राजनीतिक मात्र नभएर व्यावसायिक, धार्मिक र सामाजिक चरित्रको हुनेछ भन्ने आशा राखिएको छ । प्रधानमन्त्रीको छवि कामकाजी ‘स्टाइल’ का रूपमा देखिएको छ । उनको कामकाजी र व्यावसायिक शैलीले नेपाल–भारत सम्बन्धमा ‘केही’ नवीन प्रयोग गर्ला भन्ने आशा जनताको मनमा अंकुरित भएको छ । अचेल अन्तर्राष्ट्रिय कूटनीतिमा धेरै बोल्ने चलन छैन । विकसित विश्वमा थोरै बोलेर धेरै उपलब्धि हासिल गर्ने लहर चलेको छ ।
प्रधानमन्त्री वालेन्द्रले नेपालको विकासको सहजताका लागि भारतमा प्रस्तुत गर्ने कार्यसूची के हुनेछन् ? त्यो स्पष्ट देखिएको छैन । नेपालका प्रधानमन्त्रीको अहिलेको भ्रमण प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने चलनको निरन्तरता भन्न सकिन्छ । जे भए पनि, प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण व्यावसायिक र राजनीतिक दुवै हिसाबले सफल भयो भने नेपालको भलो हुनेछ ।
किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।