लगातार दुई फाइनलमा पराजित भएपछि तेस्रो सिजनमा उपाधि जितेकोमा कप्तान ऐरीले खेलाडी, समर्थक र सबै सहयोगीलाई धन्यवाद दिए।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको विजेता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरू सबैको सपना पूरा भएको बताएका छन्। लगातार दुई फाइनलमा असफल भएपछि यसपटक उपाधि जितेकोमा उनले सबैलाई धन्यवाद दिएका छन्।
खेलपछि उनले भने, ‘सुरुमै गाह्रो थियो, तर टिम राम्रो भएकोमा विश्वास थियो। दुई वर्षदेखि उपाधि जित्ने सपना पूरा भएको छ। यो उपाधि जित्ने सपना थियो। आज पूरा भएको छ। यसका लागि सबैलाई धन्यवाद दिनैपर्छ।’
‘प्रतियोगितामा मेरो प्रदर्शन पनि राम्रो रह्यो। सबै साथी खेलाडीले सहयोग गरे। समर्थकप्रति पनि धन्यवाद। समर्थकले जसरी हामीलाई विश्वास गरिरहे, त्यसका लागि हामी सबै आभारी छौँ,’ उनले थपे, ‘आउने दिनमा अझ राम्रो गर्नेछौँ, हामीलाई समर्थन गरिरहनु।’