सम्पत्ति स्वामित्वको बोझबाट मुक्त हुन चाहने अभिनेता खेर अनलाइनमा अहिले छ्यापछ्याप्ती भईरहेका उनको ५ सय करोड भारुसम्मको नेट वर्थबारेका समाचारको खन्डन गर्छन् ।
काठमाडौँ — बलिउडका वरिष्ठ अभिनेता अनुपम खेरले अनलाइनमा प्रकाशित हुने आफ्नो सम्पत्ति सम्बन्धी आँकडालाई खारेज गर्दै समाचारमा दाबी गरिएअनुसार आफूले ४ सयदेखि ५ सय करोड भारुको सम्पत्ति नराखेको स्पष्ट पारेका छन् । लामो र सफल फिल्मी करियर भए पनि आफू अझै पनि भाडाको अपार्टमेन्टमा बसिरहेको उनले बताएका छन् ।
‘द अनफिल्टर्ड आवर’ मा हालैको कुराकानी का क्रममा अनुपम खेरले अनलाइनमा आउने यस्ता दाबीहरूले मानिसहरूको बुझाइमा पारेको प्रभावबारे चर्चा गरेका छन् । ती आँकडालाई उनले गलत बताएका छन् र साथीभाइबीच ठट्टाको विषयसमेत बन्ने गरेको सुनाए । साथै, धेरै सम्पत्ति जोड्नु कहिल्यै आफ्नो प्राथमिकतामा नपरेको उनले प्रस्ट पारेका छन् ।
अनलाइनको ‘नेट वर्थ’ दाबीप्रति अनुपमको आपत्ति
आफ्नो कुल सम्पत्तिबारे अपुष्ट अनुमान छाप्ने वेबसाइटहरूप्रति अनुपम खेरले असन्तुष्टि जनाएका छन् । इन्टरनेटमा यस्ता आँकडा देखेपछि मानिसहरूले आफूलाई अत्यन्त धनी ठान्ने गरेको तर वास्तविक आर्थिक अवस्था त्यसको नजिक पनि नरहेको उनले बताएका छन् ।
‘मप्रति मानिसहरूको बुझाइ म निकै धनी छु भन्ने छ । यदि तपाईंले मेरो नेट वर्थ गुगल गर्नुभयो भने तपाईं छक्क पर्नुहुनेछ । कहिलेकाहीं त म उनीहरूमाथि मुद्दा हालूँ जस्तो पनि लाग्छ,’ उनले भने, ‘मसँग ४ सयदेखि ५ सय करोड भारुको १० प्रतिशत पनि छैन । मेरा साथीहरू इन्टरनेटमा पढ्छन् र त्यही रकमबाट केही पठाइदेऊ भनेर मसँग ठट्टा गर्छन् ।’
अनुपम खेरका अनुसार करिब १० वर्षअघि उनले भाडाको अपार्टमेन्टमा बस्ने निर्णय लिएका थिए । सम्पत्तिको झन्झट र जिम्मेवारीबाट मुक्त हुँदा आफूलाई बढी स्वतन्त्रता मिलेको उनको विश्वास छ । खेरले भनेका छन्, ‘आज भन्दा १० वर्षअघि जब मैले भाडाको अपार्टमेन्टमा बस्ने निर्णय गरें, त्यस दिन मैले आफैंलाई मुक्ति दिएँ । त्यसपछि मलाई यो गरौं वा त्यो गरौं भन्ने कुनै सम्पत्तिगत तनाव छैन । मैले शिमलामा मेरी आमाका लागि मात्र एउटा घर किनें । म र मेरो भाइ दुवै भाडाको अपार्टमेन्टमा बस्छौं र यसमा हामी खुसी छौं ।’
उनको यो निर्णय मुम्बईस्थित आफ्नो सम्पत्ति अभिनेत्री आलिया भट्टलाई बेचेपछि आएको थियो । त्यही सेरोफेरोमा उनकी पत्नी किरण खेर सांसद बनेर चण्डीगढ सरेकी थिइन् । यी परिस्थितिबीच अर्को सम्पत्ति किन्नुपर्ने कुनै कारण आफूले नदेखेको अनुपमले बताएका छन् ।
भाडाको अपार्टमेन्टमा बस्दैमा आफूले रुचाउने आराम र सुविधामा कमी नआएको अनुपम खेरले बताएका छन् । उनी अझै पनि राम्रा र महंगा रेस्टुरेन्टमा खान जाने, आरामदायी यात्रा गर्ने र स्तरीय होटेलमा बस्ने गरेको बताउँछन् । उनको रोजाइ जीवनस्तर घटाउने नभई सम्पत्ति स्वामित्वको बोझ पन्छाउने मात्र भएको उनले स्पष्ट पारेका छन् ।
‘म अझै पनि मीठो खान उत्कृष्ट रेस्टुरेन्टहरूमा जान रुचाउँछु, आरामदायी यात्रा गर्छु र उत्कृष्ट होटेलहरूमा बस्छु,’ खेरले थपे, ‘म कुनै झुपडीमा बस्छु भन्ने होइन । मलाई मेरो आराम मन पर्छ । तर, यसको कुनै अन्त्य हुँदैन ।’
आमाको हकमा भने आफूले भाडामा बस्ने आफ्नो प्राथमिकताभन्दा बाहिर गएर घर किनेको अनुपम खेरले बताए । शिमलामा घर बनाउने इच्छा व्यक्त गर्नुअघि उनकी आमाले करिब ६० वर्ष भाडाकै घरमा बिताएकी थिइन् । सुरुमा आमाले एक कोठे घर चाहे पनि उनले निकै ठूलो घर किनिदिएका थिए ।
खेरले भनेका छन्, ‘मैले आमाका लागि घर किनें, किनभने उहाँ शिमलामा एउटा घर चाहनुहुन्थ्यो । एक दिन उहाँले मलाई शिमलामा घर चाहिएको बताउनुभयो । उहाँले आफ्नो जीवनका ६० वर्ष भाडाको घरमा बिताउनुभएको थियो र अब त्यहाँ उहाँको आफ्नै घर होस् भन्ने चाहनुहुन्थ्यो । हामी शिमला गयौं र उहाँका लागि घर खोज्यौं । उहाँ एक कोठे घर चाहनुहुन्थ्यो, तर मैले उहाँलाई हलसहितको आठ कोठे घर किनिदिएँ । यी प्रतीकात्मक कुरा हुन् । नत्र तपाईं कसरी उदाहरण प्रस्तुत गर्नुहुन्छ ?’
‘सारांश’ को १० हजार पारिश्रमिक र सम्पत्ति विवाद
अनुपम खेरले आफ्नो चलचित्र ‘सारांश’ का लागि १० हजार भारु पारिश्रमिक पाएको दिन सम्झिएका छन् । त्यसबेलाको कमाइ र अहिलेको आर्थिक अवस्थाबीचको भिन्नता स्वीकार गरेपनि सम्पत्ति बढ्दैमा धेरै भौतिक वस्तु थुपार्नुपर्छ भन्ने नलाग्ने बताएका छन् ।
‘सायद तपाईंसँग १ वा २ जना सहयोगी कर्मचारी काम गर्लान् । तर त्योभन्दा अगाडि, म चाँदीको रोटी खान सक्दिनँ र मेरो खानामा सुनको साग थप्न सक्दिनँ,’ उनले थपे, ‘तर यो सबै व्यक्तिगत छनोटको कुरा हो । न म आफूलाई सन्त दाबी गरिरहेको छु ।’
परिवारमा, विशेषगरी वृद्ध आमाबुबा र सन्तानबीच देखिने सम्पत्ति तथा अंशबन्डाका झगडाले पनि अनावश्यक भौतिक जिम्मेवारीबाट टाढा रहने आफ्नो सोचलाई बलियो बनाएको उनले बताएका छन् ।
‘जब कोही व्यक्ति बित्छ, तब सम्पत्तिलाई लिएर प्रायः विवाद हुन्छ, तर बाँड्नका लागि पैसा छ भने द्वन्द्व कम हुन्छ । म छक्क पर्छु, कसैको छोराले वृद्ध बाआमालाई घरबाट निकालिदिएको छ, कसैलाई इच्छापत्र (विल) मा हस्ताक्षर गर्न दबाब दिइँदैछ,’ अनुपम खेर भन्छन्, ‘मेरो घरमा त्यस्तो वातावरण छैन, तर म विश्वास गर्छु कि म जति हलुका रहन्छु, त्यति नै माथि उड्न सक्छु ।’ – विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा आधारित