भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। काभ्रेको नमोबुद्ध घर भई हाल भक्तपुरमा रहेका लामाले निर्वाचनलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानसँग जोड्ने बताएका छन्।
स्थानीय तहमा हुने गतिविधि, निर्णय र कामकारबाहीलाई पारदर्शी तथा जनउत्तरदायी बनाउन नागरिकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। निर्वाचनका क्रममा भ्रष्टाचार, अनियमितता र जनहितविपरीतका गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने उनले बताएका छन्।
उनको सार्वजनिक सन्देशमा ‘समाजको हित, राष्ट्रको समृद्धि हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई प्राथमिकता दिइएको छ। भक्तपुर र काभ्रेलाई आफ्नो कार्यक्षेत्रका रूपमा उल्लेख गरेका लामाले आगामी निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले आगामी निर्वाचनमा आफैं उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। भ्रष्टाचारी पार्टी र तिनका उम्मेदवारलाई हराई स्वच्छ छविका जुनसुकै पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने उनले बताएका छन्।
प्रकाशित: ४ मंसिर २०८३ १९:४० शुक्रबार