Trending
Prev Story
Next Story

वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

३ मंसिर, सुर्खेत । सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहँदा वीरेन्द्रनगरको निगरानी प्रणाली कमजोर देखिएको छ । सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि …

वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै

३ मंसिर, सुर्खेत । सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहँदा वीरेन्द्रनगरको निगरानी प्रणाली कमजोर देखिएको छ ।

सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि व्यवहारमा चुनौतीपूर्ण रहेको यसले संकेत गर्छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि गौरवको विषय हो । तर खेलमैदान, आवास, यातायात र खेल सामग्रीको व्यवस्थापन मात्र पर्याप्त हुँदैन । खेलाडी, प्रशिक्षक, दर्शक, अतिथि र सर्वसाधारणको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण छ । मुख्य चोक, बजार र संवेदनशील क्षेत्र निगरानी गर्ने प्रविधि नै निष्क्रिय हुनु गम्भीर कमजोरी हो ।

सुरक्षा प्रबन्ध उपसमितिले एक हजार १२६ सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार नेपाली सेना पनि परिचालन गरिनेछ ।

प्रतियोगितास्थलमा मात्रै ३२१ जना खटाइने र कमान्ड पोस्टमा २४ सै घण्टा सुरक्षाकर्मी रहने व्यवस्था छ । तर यति ठूलो जनशक्ति परिचालन हुँदा सहरको सीसीटीभी प्रणाली लगभग निष्क्रिय छ ।

सीसीटीभीले एकैपटक धेरै क्षेत्रको गतिविधि हेर्न, शंकास्पद गतिविधि पहिचान गर्न र घटनापछि अनुसन्धानका लागि प्रमाण जुटाउन सघाउँछ । यो प्रहरीको विकल्प होइन, तर आधुनिक सुरक्षा व्यवस्थापनको महत्वपूर्ण सहयोगी माध्यम हो ।

देशका विभिन्न भागबाट मानिस आउने भएकाले भीडभाड, चोरी, झैझगडा र हराएका सामानजस्ता घटना निगरानी गर्न प्रविधिको आवश्यकता झनै बढ्छ ।

२०८२ साउनमा वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयबीच नगरका ३५५ स्थानमा सीसीटीभी जडान गर्ने त्रिपक्षीय समझदारी भएको थियो ।

पहिलो चरणमा १०५ क्यामेरा जडान गर्ने र बाँकी २५० चालु आर्थिक वर्षभित्र जडान गर्ने लक्ष्य थियो । सञ्चालन र व्यवस्थापन टेलिकमले, निगरानी प्रहरीले र मर्मतसम्भार नगरपालिकाले गर्ने व्यवस्था थियो ।

यसले योजनाको अभावभन्दा निरन्तर सञ्चालन, मर्मतसम्भार र जिम्मेवारीको कार्यान्वयन नै मुख्य चुनौती रहेको देखाउँछ । यस विषयमा नगर प्रमुख मोहनमाया ढकालसँग सम्पर्क गर्दा काठमाडौं भएकाले पछि कुरा गर्ने बताइन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार करिब ७० क्यामेरा तीनदेखि चार लाख रुपैयाँ खर्चेर मर्मत गर्न सकिन्छ । तर यही रकम जुटाउन पालिकासँग अनुरोध गर्दा सुनुवाइ भएन ।

अहिले प्रहरीले उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघसँग सहयोग माग्दा उनीहरूले प्रतिबद्धता जनाएको उनले बताए । यो सकारात्मक भए पनि सार्वजनिक सुरक्षाको जिम्मेवारी निजी सहयोगमा निर्भर हुनु उचित होइन ।

नागरिक अगुवा मोहन मल्लका अनुसार क्यामेरा जडान गरेर उद्घाटन गर्ने, तर बिग्रेपछि कसले मर्मत गर्ने भन्ने स्पष्ट व्यवस्था नहुने प्रवृत्तिले सार्वजनिक लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

पुराना क्यामेराको अवस्था, नयाँ योजनाको प्रगति, मर्मतसम्भारको जिम्मेवारी र आवश्यक बजेटबारे सम्बन्धित पालिका, प्रहरी र नेपाल टेलिकमले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ ।

खेलकुदपछि पनि चाहिन्छ दीर्घकालीन प्रणाली

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो, जहाँ मन्त्रालय, सरकारी कार्यालय, शैक्षिक संस्था, अस्पताल र व्यापारिक केन्द्र छन् । दैनिक हजारौँ मानिसको आवागमन हुने यहाँ प्रभावकारी निगरानी प्रणाली आवश्यक छ । खेलकुद सकिएपछि क्यामेरा फेरि बिग्रिएर थन्किनु हुँदैन ।

त्यसका लागि नियमित बजेट, प्राविधिक जनशक्ति, मर्मतसम्भार तालिका र जिम्मेवार निकाय तोकिनुपर्छ । दृश्यको सुरक्षित भण्डारण, पहुँच नियन्त्रण र नागरिकको गोपनीयताको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ ।

हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी हुँदा १०२ मध्ये एउटा मात्र क्यामेरा चालु हुनु आफैँमा विरोधाभास हो । प्रतियोगिता सुरु हुनुअघि मर्मत सम्भव क्यामेरा चालु गर्नु तत्कालको आवश्यकता हो, साथै नयाँ सीसीटीभी योजनाको अवस्था पनि सार्वजनिक गर्नुपर्छ ।

राष्ट्रिय खेलकुद आयोजना गर्नु गौरवको कुरा हो, तर सुरक्षा तयारीका कमजोरी खेलकुदका नाममा लुकाउन मिल्दैन । प्रतियोगिताको सफलता खेल सम्पन्न हुनुमा मात्र होइन, खेलाडी, दर्शक र नागरिकले सुरक्षित महशुस गर्नुमा पनि निर्भर छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
3d ago
सुर्खेतका १०२ सीसीटीभीमध्ये एउटा मात्रै चालु, मर्मतका लागि सहयोग खोज्दै प्रहरी

सुर्खेतका १०२ सीसीटीभीमध्ये एउटा मात्रै चालु, मर्मतका लागि सहयोग खोज्दै प्रहरी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा बिग्रिएका क्यामेरा मर्मत गर्न प्रहरीले पालिका तथा निजी क्षेत्रसँग सहयोग मागेको छ।

#सुर्खेत #१०२ #सीसीटीभी
Compare →

Related Stories

Business & Economy
Build #2612