हिउँदमा हरियो घाँसको अभाव टार्ने यो पौष्टिक घाँसले गाईभैंसीको दूध उत्पादन र शारीरिक वृद्धिमा समेत सहयोग पुर्याउने अपेक्षा छ ।
लमजुङ — हिउँदमा हरियो घाँसको अभाव हुने समस्या टार्न लमजुङको बेंसीसहर नगरपालिकाका किसान जै घाँस खेतीतर्फ आकर्षित भएका छन् ।
गाईभैंसीका लागि पौष्टिक मानिने जै घाँसले हिउँदमा पशु आहारको अभाव पूर्ति गर्नुका साथै दूध उत्पादनमा समेत सहयोग पुर्याउने भएपछि यसको खेतीप्रति किसानको चासो बढेको हो ।
किसानलाई जै घाँस खेतीमा प्रोत्साहन गर्न बेंसीसहर नगरपालिकाले यस वर्ष ७ सय ४० जनाभन्दा बढी कृषकलाई अनुदानमा बीउ वितरण गरेको छ । बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने बीउ नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रतिकिलो ४१ रुपैयाँमा उपलब्ध गराएको हो। सस्तो मूल्यमा बीउ पाउने भएपछि नगरपालिकामा बीउ लिन आउने किसानको भीड लागेको थियो ।
बेंसीसहर नगरपालिका–६, सारिङका रामबहादुर अधिकारीले हिउँदमा बस्तुभाउलाई हरियो घाँसको अभाव हुने र यसका लागि जै घाँसको खेती गरिने बताए। बजारमा महँगो मूल्य पर्ने बीउ नगरपालिकाले सहुलियतमा उपलब्ध गराएपछि खेती गर्न सहज भएको उनले बताए ।
‘बजारमा प्रतिकिलो डेढ सय रुपैयाँ पर्ने बीउ यहाँ ४१ रुपैयाँमै पाइयो । पशुका लागि आफ्नै बारीमा घाँस उत्पादन गर्न पाइने भएपछि १५ किलो बीउ लिएको छु,’ उनले भने । उनका अनुसार चैत–वैशाखमा हरियो घाँसको अभाव हुन्छ। त्यतिबेला आफ्नै बारीमा उत्पादन भएको घाँस खुवाउन पाइने भएकाले जै घाँस खेती गर्न लागेको उनले बताए ।
बेंसीसहर नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत वितरण गरिएको बीउ गोरखाबाट प्रतिकिलो ८२ रुपैयाँका दरले खरिद गरिएको हो । खरिद मूल्यमा ५० प्रतिशत अनुदान दिएर कृषकलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यस वर्ष ४ हजार ८ सय किलो जै घाँसको बीउ वितरणका लागि ल्याएको थियो। यसमध्ये बेंसीसहर नगरपालिका–११, चिती क्षेत्रका कृषकलाई ४ सय किलो वितरण गरिएको छ । बाँकी बीउ नगरपालिकाभित्रका अन्य वडाका कृषकलाई उपलब्ध गराइएको शाखाले जनाएको छ । एक जना कृषकलाई अधिकतम ३५ किलोसम्म बीउ वितरण गरिएको छ ।
बेंसीसहर नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पशु चिकित्सक डा. अन्जली पुलामी मगरका अनुसार जै घाँस हिउँदमा उत्पादन लिन सकिने पौष्टिक र एकवर्षे घाँस हो । असोजदेखि मंसिरसम्म लगाउन सकिने यस घाँसबाट पुस, माघ र फागुनमा उत्पादन लिन सकिन्छ । तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिने जै घाँस विशेषगरी हिउँदमा हरियो घाँसको अभाव हुने किसानका लागि उपयोगी हुने उनले बताइन् ।
‘हिउँदको समयमा हरियो घाँस पर्याप्त नहुने भएकाले पशु आहार व्यवस्थापनका लागि जै घाँस प्रभावकारी विकल्प हो । किसानले यसको महत्त्व बुझेर नै बीउ वितरण भएको छोटो समयमै लिनुभएको छ,’ उनले भनिन् । उनका अनुसार गत सोमबारदेखि बीउ वितरण गरिएको हो। गाईभैंसीले रुचाएर खाने यो घाँसले दूध उत्पादन र पशुको शारीरिक वृद्धिमा समेत सहयोग पुर्याउने उनले बताइन्। पशुका लागि पौष्टिक आहारको व्यवस्था गर्न जै घाँस खेती उपयोगी हुने उनी बताउँछिन् ।
एक रोपनी जग्गामा डेढ किलोदेखि ५ किलोसम्म जै घाँसको बीउ छर्न सकिन्छ । बजारमा महँगो मूल्य तिरेर बीउ खरिद गर्नुपर्ने बाध्यता कम गर्दै पशुपालनमा आबद्ध किसानलाई घाँस खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
उनका अनुसार जै घाँस खेती विस्तारसँगै हिउँदमा पशु आहारको व्यवस्थापन सहज हुने र व्यावसायिक पशुपालनमा लागेका किसानका लागि लाभ पुग्ने अपेक्षा गरिएको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।