अल्गोस्पिकको प्रयोगले सोसल मिडियामा रिच र इन्गेजमेन्ट बढाउँछ ? यो बाध्यतात्मक उपज हो वा अरु केही ? हामीले प्रश्नोत्तर शैलीमा बुझाउने प्रयास गरेका छौं ।
काठमाडौँ — केही समययता नेपाली संचारमाध्यमका केही शब्द पढ्दा अलि फरक र अस्वभाविक लाग्छ । केही शब्दमा कतै * त कतै अन्य संकेतहरू राखिएको देखिन्छ । संचारमाध्यमहरूले किन यस्तो अभ्यास गरिरहेका छन् ? के यस्तो अभ्यासले रिच र इन्गेजमेन्ट बढाउँछ ? यो बाध्यतात्मक उपज हो वा अरु केही ? यस्तो अभ्यासबारे चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका तेजप्रसाद वाग्लेले कान्तिपुरमा लेख लेखेका छन् । यसलाई हामीले तलका ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :
१. अल्गोस्पिक भनेको के हो र नेपाली मिडियामा यो कस्तो देखिन्छ ?
सामाजिक सञ्जालको अल्गोरिदम (कम्प्युटरको नियम) र मोडेरेसन प्रणालीबाट जोगिन भाषामा जानाजानी गरिने परिवर्तनलाई अल्गोस्पिक भनिन्छ । यसमा हिज्जे फेर्ने, चिह्न थप्ने वा शब्दलाई पढ्न नसकिने बनाउने गरिन्छ । नेपाली मिडियामा 'मृत्यु' लाई 'मृ*त्यु', 'हत्या' लाई 'ह*त्या', 'बलात्कार' लाई 'ब*लात्कार', 'आत्महत्या' लाई 'आ*त्महत्या' र 'रगत' लाई 'र*गत' लेख्ने प्रवृत्ति बढ्दो छ । एडम अलेक्सिकले आफ्नो पुस्तक 'अल्गोस्पिक' मा यससम्बन्धी लेखेका छन् ।
२. 'मृ*त्यु' लेख्दा अल्गोरिदम साँच्चै झुक्किन्छ ?
पहिले सामाजिक सञ्जालका प्रणालीले केही शब्दको सूची बनाएर त्यस्ता शब्द भएका पोस्ट छुट्याउँथे । त्यस बेला शब्दको बीचमा '!' वा '*' राख्दा वास्तवमै फाइदा हुन्थ्यो (सन् २००५–२०१२) । त्यसपछि प्रणालीले शब्दसँगै वाक्यको सन्दर्भ पनि हेर्न थाल्यो । समाचारको सन्दर्भमा 'मृत्यु' शब्द भए पोस्ट फ्ल्याग हुँदैनथ्यो (सन् २०१२–२०१८)।
अहिलेका आधुनिक प्रणालीले (सन् २०१८ देखि) पूरा वाक्यको अर्थ बुझ्छन् । शब्दलाई स-साना टुक्रामा भाँचेर हेर्ने भएकाले 'मृ' र 'त्यु' बाटै अर्थ बुझ्छन् । त्यसैले तारा (*) राखे पनि प्रणाली झुक्किँदैन । बरु, पोस्टलाई 'स्प्याम' वा 'बट' को व्यवहारका रूपमा फ्ल्याग गर्ने सम्भावना बढ्छ ।
३. के अल्गोस्पिक लेख्दा पोस्ट धेरैले देख्छन् र धेरै प्रतिक्रिया आउँछ ?
आउँदैन । पहिले दुई शब्द छुट्याऔं: 'रिच' भनेको कति जनाले पोस्ट देखे भन्ने हो । 'इन्गेजमेन्ट' भनेको लाइक, कमेन्ट र सेयर हो । प्रतिक्रिया बढ्ने मुख्य कारण पोस्टको समय, सामग्रीको गुणस्तर, देखिने सामग्रीको आकर्षण र पाठकको रुचि हुन् । अध्ययनका निष्कर्ष मिश्रित छन्, तर अधिकांशले अल्गोस्पिकको फाइदामा प्रश्न उठाएका छन् :
टिकटक (मर्फी र सहकर्मी, २०२३): अल्गोस्पिक प्रयोग गर्ने क्रिएटरको रिच उल्लेखनीय बढेन । बरु सामग्रीलाई 'कम गुणस्तर' को भनेर फ्ल्याग गर्ने सम्भावना बढ्यो ।
इन्स्टाग्राम (चेन र वाङ, २०२४): यौन शिक्षासम्बन्धी पोस्टमा अल्गोस्पिक प्रयोग गर्ने र नगर्नेबीच लाइक, सेयर र रिचमा फरक थिएन ।
सन् २०२५ को अध्ययन: संवेदनशील शब्द नछोपेका पोस्टको लाइक र सेयर घटेन ।
फेसबुक (जोन्सन लगायत, २०२२): स्थापित समाचार संस्थाका पोस्टमा 'मृत्यु', 'हत्या' जस्ता शब्द हुँदा पनि रिच घटेन ।
दक्षिण एसिया (कुमार र शर्मा, २०२४): भारत, नेपाल र बंगलादेशका मिडियामा अल्गोस्पिकको प्रयोग अरूको नक्कल गरेर भएको हो, वैज्ञानिक प्रमाणले होइन ।
४. नेपाली मिडियाले यस्तो किन लेख्छन् ? 'प्राविधिक बाध्यता' होइन, 'सम्पादकीय असुरक्षा' र 'अल्गोरिदमिक भ्रम' को परिणाम हो । प्लेटफर्मले रोकेको छैन: फेसबुक र टिकटकले 'मृत्यु' जस्ता सामान्य शब्दमा प्रतिबन्ध लगाएका छैनन् ।
भ्रमको कारण: सराह टी. रबट्र्सले आफ्नो पुस्तक बिहाइन्ड द स्क्रिन (२०१९) मा देखाएअनुसार प्लेटफर्महरूले आफ्नो मोडेरेसन नीति स्पष्ट सार्वजनिक गर्दैनन् । बुसर (२०१८) को 'अल्गोरिदमिक इम्याजिनरी' अवधारणाअनुसार अल्गोरिदम कसरी चल्छ भन्ने प्रयोगकर्ताको कल्पनाले उनीहरूको व्यवहार निर्देशित गर्छ । पोस्ट भाइरल हुँदा 'तारा'को कारण ठान्नु लेखकले 'अल्गोरिदमिक अन्धविश्वास' भनेका छन् ।
नेपाली भाषाको सीमा: अधिकांश मोडेल अंग्रेजीमा प्रशिक्षित छन्, त्यसैले नेपालीजस्ता 'कम–स्रोत' भाषामा गल्ती हुने सम्भावना बढी छ । तर त्यसको अर्थ तारा राख्दा मोडेल झुक्किन्छ भन्ने होइन ।
आत्म–सेन्सरसिप: ब्यानेट (२०२०) का अनुसार वाह्य दबाबबिना आफ्नै अभिव्यक्तिमा प्रतिबन्ध लगाउनु आत्म–सेन्सरसिप हो ।
५. सामाजिक सञ्जाल र आफ्नै वेबसाइटमा मिडियाले के गर्नुपर्छ ?
सामाजिक सञ्जालका पोस्टमा केही हदसम्म बुझ्न सकिन्छ, किनकि प्लेटफर्मको मोडेरेसन अपारदर्शी छ र प्रयोगकर्ताहरू 'सुरक्षित' खेल्न खोज्छन् । तर आफ्नै वेबसाइटमा प्लेटफर्मको मोडेरेसन लागू नै हुँदैन, त्यसैले 'मृ*त्यु' लेख्नु अर्थहीन छ । यो भाषिक रूपमा गलत हो र पाठकलाई भ्रम पार्छ । लेखले विशेषगरी युवा पुस्ताले यस्तो लेखाइलाई 'मानक' मान्न थाल्ने जोखिम औंल्याएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नै वेबसाइटमा 'डेथ', 'किल्ड', 'मर्डर' जस्ता शब्द स्पष्ट प्रयोग गर्छन् । भारतका प्रमुख मिडियाले पनि आफ्नै वेबसाइटमा अल्गोस्पिक प्रयोग गर्दैनन् । सामाजिक सञ्जालका लागि छुट्टै रणनीति बनाउन सकिन्छ, तर वेबसाइटमा मानक भाषा नै प्रयोग गर्नुपर्छ ।
- यो प्रश्नोत्तर अल्गोस्पिक : भ्रम कि वास्तविकता ? शीर्षकको लेखलाई आधार मानेर तयार पारिएको हो ।
तेजप्रसाद वाग्ले चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् ।