यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ ।
काठमाडौँ — आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने भएको हो ।
आयोजना प्रभावितको लागि ६ लाख कित्ता सेयर प्रभावित क्षेत्रका बासिन्दाको लागि जारी गर्ने भएको हो । यो ६ लाखमध्ये ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको दुधपोखरी गाँउपालिकाको १ र २ वडामा र गोरखा जिल्लाको अजरिकोट २ र ३ वडाका बासिन्दालाई छुट्याएको छ । बाँकी ३ लाख कित्ता लमजुङ जिल्लाको दुधपोखरी र दोर्दी गाँउपालिका, गोरखा जिल्लाको अजरिकोटका अन्य वडाका बासिन्दाको लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाले मंसिर २८ सम्म सेयरमा आवेदन दिन पाउने छन् । यदी सो अवधिमा सेयर बिक्री नभएमा भने पुस १४ गतेसम्म यसको बिक्री खुला रहनेछ । स्थानीयले १० कित्ता देखि २० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।
त्यस्तै, ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूले मंसिर १७ गतेसम्म आवेदन दिनुपर्ने छ । यो समूहको लागि छुट्याइएको सेयर बिक्री नभएमा मंसिर २८ गतेसम्म बिक्री खुला हुनेछ ।
वैदेशिक रोजगारीमा रहेकाले भने १० देखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
यसले अंकित मूल्य एक सय रूपैयाँ छ । कम्तिमा १० कित्ता सेयर किन्न एक हजार रूपैयाँ चाहिन्छ । सर्वसाधारणको लागि भने पछि सेयर जारी हुने भएको छ । सबै सेयर जारी पछि चुक्ता पुँजी ६० करोड पुग्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
यसले सेयर बिक्रीबाट उठेको रकम ऋण तिर्न र चोपे खोला क्यासकेडको निर्माणको भुक्तानीमा खर्चिने भएको छ ।
यसले एनएमबी बैंकबाट लिएको दुई करोड ६० लाख रुपैयाँ बराबरको ऋण तिर्ने भएको छ । निर्माणमा ९ करोड ४० लाख खर्चिने भएको छ ।
आशुतोष इनर्जी लिमिटेडले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यसको प्रति मेगावाट लागत १६ करोड ८१ लाख रुपैयाँ छ। यसले २०७९ असोज १६ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ ।
यसले करिब ४३ करोड रूपैयाँ लागतमा दुई मेगावाटको चेपे खोला कास्केड आयोजना पनि निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत नै २१ करोड ७० लाख बराबर हुने देखिएको छ । लागत केही बढ्न सक्ने चुनौति देखिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ । चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको निर्माण प्रक्रिया २०८२ को मंसिर २४ देखि अगाडि बढेको बताइएको छ ।
चेपे खोला साना जलविद्युत् आयोजनाबाट २०८२-८३ मा यो आयोजनाबाट यसले उत्पादन गरेको २८ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । यसले सो अवधिमा १३ करोड रूपैयाँ नाफा कमाएको थियो ।
यसको भदौमा सम्पन्न साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो । यसले आफ्नो पहिलो आयोजना सञ्चालन आएयता निरन्तर लाभांश दिएको उल्लेख गरेको छ । यसअघि यसले १५.७८९ प्रतिशत नगद लाभांश दिएको थियो ।
यसको २०८२-८३ मा प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ ९२ पैसा छ । यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि एक सय ३० देखि ३ सय ९० रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ । नेप्सेले नेटवर्थको आधारमा पहिलो कारोबारको लागि तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३६ पैसा छ ।
कम्पनीको चोपे खोला साना जलविद्युत्को साधारण लगानी फिर्ता हुने अवधि ४.६६ वर्ष र चोपे खोला क्यासकेडको यस्तो अवधि ७.९० वर्ष छ ।
साधारण लगानी फिर्ता हुने अवधि भनेको कुनै आयोजनामा गरिएको सुरुवाती लगानी बराबरको रकम आम्दानीबाट फिर्ता हुन कति समय लाग्छ भनेर गरिने मापन हो । यसले लगानी गरेको रकम कति वर्षमा उठ्छ भन्ने देखाउँछ । यसमा समयअनुसार पैसाको मूल्यमा हुने परिवर्तन भने लिएको हुँदैन् ।
त्यस्तै, चोपे खोला सानाबाट डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.८६ वर्ष र चोपे खोला क्यासकेडको यस्तो अवधि १२.४७ वर्ष छ । डिस्काउण्ट लगानी फिर्ता हुने अवधि भविष्यमा प्राप्त हुने आम्दानीलाई वर्तमान मूल्यमा रूपान्तरण गरेर हिसाब गरिन्छ । अर्थात्, समय बित्दै जाँदा पैसाको मूल्य घट्ने पक्षलाई समेत ध्यानमा राखिन्छ ।
यसको संस्थापकहरूमा मोहन बिक्रमा कार्की, आशुतोष इन्भेष्टमेन्ट लगायत छ । कार्कीको ६.२० प्रतिशत र आशुतोष इन्भेष्टमेन्ट ४.४९ प्रतिशत सेयर स्वामित्व छ ।